देशभरमा कोरोनाभाइरसले भन्दा धेरै मानिस लकडाउन तोडेको आरोपमा पुलिसको गोलीले मरे
काठमाडौं। कोरोनाभाइरसको महामारी फैलिएसँगै विश्वका कैयौं देशहरु यतिबेला लकडाउन गरिएका छन् । कैयौं देशहरुमा लकडाउन तोडिएका खबरहरु पनि आएका छन् । अमेरिकाका केही शहरमा त नागरिकले सडकमै उत्रिएर लकडाउनको विरोध गरेका समाचार पनि आएका छन् । तर, नाइजेरियामा भने कोरोनाभाइरसका कारणले भन्दा धेरै मानिसको ज्यान लकडाउनका कारण सुरक्षाकर्मीको गोलीबाट गएको छ । यहाँ अहिलेसम्म कोरोनाभाइरसका कारण १७ जनाको ज्यान गएको छ भने लकडाउनका क्रममा सुरक्षाकर्मीको हातबाट १८ जनाको ज्यान गएको छ ।
डेलिमेलको रिपोर्ट अनुसार लकडाउन पालना गराउने नाममा यहाँका सुरक्षा बलले १८ जनाको हत्या गरेका हुन् । यहाँको मानवअधिकार आयोगले १८ जनाको हत्या भइसकेको रिपोर्ट प्रकाशित गर्दासम्म कोरोनाभाइरसका कारण केवल १२ जनाको ज्यान गएको थियो । शनिबारसम्म आइपुग्दा त्यसमा ५ जना थपिएर कूल १७ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् र अझैसम्म पनि कोरोनाबाट ज्यान गुमाउनेको संख्या सुरक्षाकर्मीको हातबाट मारिनेको संख्याजति पुगेको छैन ।
यहाँका नागरिकले राष्ट्रिय मानवअधिकार आयोगलाई घटनासँग सम्बन्धित भिडियो पठाएपछि मात्रै सुरक्षाकर्मीको हातबाट १८ जनाको ज्यान गएको खुलासा भएको हो । आयोगका अनुसार ३० मार्चमा यहाँ लकडाउनको घोषणा गरिएको थियो । त्यसपछि अहिलेसम्म १८ जनाको सुरक्षाकर्मीको हातबाट ज्यान गइसकेको छ । यहाँको सुरक्षाबलको छवि पहिलेदेखि नै क्रुर मानिन्छ । काउन्सिल अफ फरेन रिलेसन्सका अनुसार यहाँको सुरक्षा निकायले पछिल्लो १ वर्षमा १४७६ जनाको हत्या गरिसकेको छ ।
मानवअधिकार आयोगका अनुसार लकडाउनको क्रममा ८ अलग अलग घटनामा १८ जनाको ज्यान गएको हो । आयोगका अनुसार नाइजेरियाका ३६ राज्यमध्ये २४ राज्यबाट आयोगमा सयभन्दा धेरै उजुरी आएका छन् । सुरक्षा बलले आयोगको रिपोर्टप्रति कुनै प्रतिक्रिया दिएको छैन । नाइजेरियाका कोरोनाभाइरसबाट अहिलेसम्म कूल ४९३ जना संक्रमित भएकोमा १७ जनाको ज्यान गएको छ । १५९ जना निको भएर घर फर्किसकेका छन् ।
Facebook Comment