प्रेस स्वतन्त्रता सेनानी मण्डल अस्पताल भर्ना

डिसी नेपाल
७ वैशाख २०७७ ११:३४

महोत्तरी । मुलुककै जेठा पत्रकारमध्येका महोत्तरी, मटिहानी नगरपालिका–५ का ८८ वर्षीय बिन्देश्वरीप्रसाद मण्डल अस्पताल भर्ना भएका छन् ।

रक्तअल्पताले सिकिस्त भएपछि उनलाई जनकपुरधामको बजरङ्गचोकस्थित जानकी हेल्थ केयर अस्पतालमा भर्ना गरिएको हो।

नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका प्रथम सभापति रहनुभएका मण्डल प्रेस स्वतन्त्रता सेनानी सम्मान पाउने जिल्लाका पहिलो पत्रकार हुन। मण्डललाई विसं २०६६ मा यो सम्मान प्रदान गरिएको हो।

जिल्लाबाट प्रकाशित हुँदै आएको तथ्य साप्ताहिकका सम्पादक मण्डल केही दिनयता अस्वस्थ्य हुनुभएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको हो ।

चिकित्सकले उनमा रक्तअल्पता मुख्य समस्या रहेको औँल्याएका कान्छा छोरा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।

राजनीतिक गतिविधिमा गहिरो अभिरुचि राख्ने मण्डल मटिहानी गाउँपञ्चायत छँदा प्रधानपञ्च रहिसकेका छन् ।

मण्डलका तीन छोरामध्ये जेठा रामकुमार मण्डल महासङ्घ महोत्तरी शाखाका सभापति र गाउँपञ्चायतको प्रधानपञ्च भइसकेका छन् ।

त्यसैगरी अहिले मटिहानी नगरपालिकाका प्रमुख रहनुभएका कान्छा छोरा हरिप्रसाद मण्डल महासङ्घ महोत्तरी शाखाको तीन कार्यकाल अध्यक्ष भएका थिए ।

प्रेस स्वतन्त्रता सेनानी मण्डल अस्पताल भर्ना भएपछि यस भेगका पत्रकार उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगिरहेका छन् ।

महासङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्रसिंह चौहान र महोत्तरी शाखा अध्यक्ष कमलेश मण्डलले मण्डलको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *