लकडाउनको २८ औं दिन : सामान्य जनजीवन ठप्प
काठमाडौं। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउन गरिएको आज २८ औं दिन पूरा भएको छ।
कोभिड–१९ को रोकथामका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गरेपछि दैनिक जीवन प्रभावित भएको छ।
सामाजिक दूरी कायम गर्न अवलम्बन गरिएको बन्दाबन्दीको अवस्थामा अत्यावस्यक काम र सेवाहरु भने सुचारु छन्। सोमबार पनि काठमाडौंमा नागरिकहरुले लकडाउनको पालना गरेको पाइएको छ।
काठमाडौं उपत्यकामा बिहानको समयमा अत्यावश्यक सामग्री खरिद गर्नका लागि सर्वसाधारणहरु घर नजिकको पसल सम्म पुगेको भने देखिन्छ। सुरक्षाकर्मीहरु लकडाउन पालना गराउन सडकमा खटिएका छन्।
चोकचोकमा बसेर नेपाल प्रहरीले सवारी साधन र पैदल यात्रीको चेकजाँच गरिरहेका छन्। अत्यावश्यक सेवाका सवारी साधन गुडिरहेका छन्। सरकारले वैशाख १५ गते सम्म लकडाउनको समय बढाएको छ।
नेपालमा अहिले सम्म कोरोना भाइरस संक्रमणमा परेका व्यक्तिहरुको संख्या ३१ पुगेको छ भने ४ जनालाई निको भइसकेको छ।
Facebook Comment