लकडाउनः व्यस्त सडकमा ‘ओभर ले’

डिसी नेपाल
८ वैशाख २०७७ १८:५०

काठमाडौं । अरु समयमा उच्च सवारी चापका कारण काम गर्न कठिन हुने काठमाडौँका मुख्य सडकमा ‘लकडाउन’ को मौका छोपी निर्माण शुरु भएको छ ।

त्रिपुरेश्वर, पुतलीसडक, गौशालालगायत स्थानका सडकमा आवधिक मर्मत र ह्युमपाइप राख्ने काम शुरु भएको हो । काठमाडौँका विभिन्न स्थानमा गरी झण्डै १२ किलोमिटर सडकमा आवधिक मर्मत (ओभर ले) गर्न लागिएको हो । विभिन्न सडकमा ह्युमपाइप राख्नका लागि खन्न थालिएको छ । ती स्थानमा ह्युमपाइप राखिएपछि कालोपत्र गरिने डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ ।

निर्माण सामग्री उपलब्ध हुन सके आगामी १५/२० दिनमा उपत्यकामा बाँकी काम गर्न सकिने डिभिजन प्रमुख कुबेर नेपालीले बताए । उनका अनुसार गौशाला–विमानस्थल सडकमा ‘ओभर ले’ शुरु भइसकेको छ । त्रिपुरेश्वलगायतका सडकमा ह्युमपाइपका लागि खन्न शुरु गरिएको छ । गौशाला–चावहिल सडकमा भने खानेपानीको पाइप राख्ने र सडक निर्माण दुवै काम एउटै ठेक्काबाट अघि बढेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र डिभिजनले एउटै ठेक्कामा दुवै काम गरिरहेको हो । उनले भने, “पुराना पाइपहरुमा चुहावट देखिएकाले सकिन अझै केही समय लाग्न सक्छ ।”

काठमाडौँका व्यस्त सडकमा अरु समयमा काम गर्न गाह्रो हुने र अहिले पनि कामदार निर्माणस्थलमै रहेको भन्दै सडक विभागले गत साता विपद् व्यवस्थापन समितिलाई निर्माणका लागि अनुमति मागेको थियो । समितिले अनुमति दिएपछि नै जिल्ला प्रशासन कार्यालयले निर्माणका लागि आवश्यक सहयोग गरिरहेको छ । निर्माण सामग्री ल्याउनका लागि सवारी पास उपलब्ध भएकोे डिभिजन कार्यालयले जनाएको छ ।

डिभिजनले लकडाउन पहिले नै यी सडक निर्माणका लागि ठेक्का सम्झौता गरिसकेको थियो । ती निर्माण व्यवसायी अहिले सम्पर्कमा आइरहेको उनले बताए । उनले भने, “निर्माण व्यवसायीले पनि आवश्यक सामग्री उपलब्ध हुँदा काम गर्ने बताइरहनुभएको छ ।”

यी सडक निर्माणका लागि निर्माण कम्पनीसँग जनशक्ति पर्याप्त भएको प्रमुख नेपालीले बताउनुभयो । मजदूर अन्यत्रबाट ल्याउन नपर्ने भए पनि केही प्राविधिक जनशक्ति भने थप आवश्यक पर्न सक्छ । आवश्यक निर्माण सामग्री भने पाइने÷नपाइने टुङ्गो छैन । अहिले बाँकी रहेको निर्माण सामग्रीबाट चारपाँच दिन मात्रै काम गर्न सकिने उनले बताए ।

काठमाडौँका निर्माणाधीन सडकका लागि आवश्यक निर्माण सामग्री लिन ट्रकहरु खोला र क्रसतर्फ गएको डिभिजन प्रमुख नेपालीले बताए । काभ्रेको रोशी खोला र ललितपुरको टीकाभैरव खोलाबाट निर्माण सामग्री ल्याइनेछ । त्यहाँका स्थानीय तहले निर्माण सामग्री ल्याउनका लागि अनुमति दिँदा मात्रै निर्माण सामग्री ल्याउन सकिने उनले बताए। उनले भने, “हामीले त्यसका लागि पनि सक्ने समन्वय गरिरहेका छौँ ।”

चालु आवमा अहिलेसम्म झण्डै २८ किमी सडकमा ‘ओभर ले’ भइसकेको छ । ‘ओभर ले’ भएको सडकमा चिह्नसमेत लगाइएको थियो । सडक चिह्न लगाउँदा कम जनशक्तिले सामाजिक दूरी कायम गरेर काम गर्न सकिन्छ भन्ने देखिएकैले डिभिजन कार्यालयले ‘ओभर ले’ पनि गर्न लागेको हो । लकडाउनका कारण सबै विकास निर्माण ठप्प हुँदा काठमाडौँका मुख्य र सहायक सडकमा चिह्न लगाइएको थियो । ती सबै स्थानमा सामाजिक दूरी कायम गरेर काम भएको डिभिजन कार्यालयले जनाएको छ । धेरै जनशक्ति र उपकरण नचाहिने हुँदा यो समयमा समेत काम गरिएको हो ।

कतिपय सडकमा एकातर्फको लेनमा ‘ओभर ले’ भए पनि अर्कातर्फ हुन सकेको थिएन । काम शुरु नगर्दै लकडाउन घोषणा भएकाले निर्माण व्यवसायीले काम अघि नबढाएका हुन् । डिभिजनले सडकका दुवै लेनमा ‘ओभर ले’ भएका सडकमा मात्रै सडक चिह्न लगाएको प्रमुख नेपालीले बताए । लकडाउनका समयमा भएको सडक चिह्न लगाउने कामका कारण उपत्यकाका सडक चिटिक्क देखिएका छन् ।

एकातर्फ सवारी साधनको चाप कम र अर्कातिर भर्खर कालोपत्र भएका सडकमा पोतिएका सडक चिह्नले उपत्यकाको मुहार नै फेरिएको छ । लकडाउनमा काम गर्दा कतै अवरोध आउँछ कि भन्ने अन्योल भए पनि अहिले यो कामले धेरैको प्रशंसा पाइरहेको छ । सडक चिह्नका कारण यात्रु र चालकसँगै ट्राफिक प्रहरीलाई समेत सडक व्यवस्थापन गर्न सजिलो हन्छ ।

काठमाडौँ उपत्यकासँगै उपत्यका बाहिरका विभिन्न सडक र पुलमा समेत सडक निर्माण भइरहेको छ । उपत्यका बाहिर महेन्द्र राजमार्ग, त्रिभुवन राजमार्ग, कोशी राजमार्गलगायत अरु विभिन्न सडकमा निर्माणको काम लकडाउनमा समेत रोकिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *