भारतीय नागरिकको शवलाई भारत प्रवेश निषेध, काठमाडौं नै फर्काइयो
काठमाडौं । भारतको सिमा सुरक्षा बल एसएसबीले काठमाडौंबाट लगिएको एक भारतीय नागरिकको शवलाई भारत छिरिसकेपछि रोकेर फेरि काठमाडौं नै फिर्ता पठाइदिएको छ । भारतीय सीमा सुरक्षा बलले नेपाल भारत सीमा बन्द गरिएको भन्दै जे सुकै परे पनि भारत छिर्न नदिने अड्डी कसेको थियो ।
नेपाल प्रहरीको टोलीले माथिल्लो निकायमा गरेको रिपोर्टअनुसार, रञ्जन यादव नाम गरेका मृतकको शव लिएर उनका आफन्तहरु रातिको १० बजे धनुषा जिल्लाको नगराई नाका पुगेका थिए । घटना बैशाख ८ गते सोमबारको हो ।
काठमाडौंको पाटन अस्तपालमा अचानक मृत्यु भएका ३२ बर्षिय युवा यादवको शव लिएर उनका आफन्तहरु एउटा एम्बुलेन्स रिजर्भ गरी यादवकै घर भएको भारतको दरवंगा हिडेका थिए । प्रहरीका अनुसार, यादव भारतको दरवंगा जिल्लाको खुटारा ११ निवासी हुन् ।
ज १ च १६९५ नम्बरको एम्बुलेन्समा यादवको शव लिएर अन्तिम संस्कार गर्न आफ्नो घर हिंडेका यादवका आफन्तहरुलाई शुरुमा नेपाल भारत सिमामा खटिएको सश्स्त्र प्रहरीले रोकेको थियो ।
तर, अफन्तहरुले पारिवारिक जटिलतासमेत दर्शाउँदै सशस्त्रलाई शव भारत लैजान अनुरोध गरेपछि सशस्त्र प्रहरीले भारतको सीमा सुरक्षा बलका स्थानीय अधिकारीहरुसंग कुरा समेत गरेका थिए ।
प्रहरी रिपोर्टका अनुसार, नेपालीपक्षको कुरा सुनेपछि भारतीय सीमा सुरक्षा बलका अधिकारीहरुले मृतकका आफन्तसंग पनि कुरा गरेका थिए ।
मानवीय संबेदनाको कुरा भएको भन्दै भारतीय सुरक्षा अधिकारीहरुले शुरुमा शवलाई भारत जान अनुमति दिए । नेपाली नम्बर प्लेटको एम्बुलेन्स भारत प्रवेश गरी केही किलोमिटर गुडिसकेको पनि थियो ।
तर, मृतकको घर पुग्न नपाउंदै शवलाई फेरि बीच बाटोमा रोकियो र नेपालको सीमाबाट आउने केहीलाई पनि प्रवेश नदिनू भन्ने कडा आदेश माथिबाट आएको भन्दै शव बोकेको एम्बुलेन्सलाई नेपालतिरै फर्काइएको थियो ।
फर्केको एम्बुलेन्सलाई नेपालको सशस्त्र प्रहरीले फेरि रोक्ने कोसिस त गरेको थियो तर आफन्तहरुको बेहाल देखेपछि उनीहरुलाई नेपाल प्रवेश गर्न दिइएको थियो ।
प्रहरीका अनुसार, भारतीय सीमा सुरक्षा बलले जहां मृत्यु भएको हो त्यहीं जलाउन भन्दै अमानवीय व्यवहार गरेर फेरि सीमा कटाएपछि लास लिएर सो एम्बुलेन्स काठमाडौं नै फकिएको थियो ।
Facebook Comment