नेकपालाई कमजोर पार्न प्रतिक्रियावादी शक्ति सक्रिय : प्रचण्ड

डिसी नेपाल
१० वैशाख २०७७ ८:४८

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताभएपछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको बताएका छन्।

प्रचण्डले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार रहेको पनि उल्लेख गरेका छन्।।

पार्टी स्थापना दिवसको अवसरमा बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले दुई पार्टीबीच एकता भएर गठन भएको नेकपालाई कमजोर पार्न देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले षड्यन्त्र गरको बताएका हुन्।

उनले पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउनु पर्नेमा जोड पनि दिएका छन्। यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि नेता–कार्यकर्तालाई अपील गरेका छन्।

प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिउको छ, ‘७१ वर्ष लामो राजनीतिक संघर्षका दौरानमा कम्युनिष्ट आन्दोलनले नेपाली राजनीतिलाई गुणात्मक दिशानिर्देश मात्र गरेको छैन, अपितु विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ र मौलिक सन्देश पनि दिएको छ। कठोर संघर्षकै बलमा संघीय गणतन्त्रात्मक शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादउन्मूख संविधान, सामाजिक न्याय लगायतका महत्वपूर्ण उपलब्धीहरु हासिल भएका छन्।’

उनले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीका लागि गरिएको ऐतिहासिक पार्टी एकताले हामीलाई लक्ष्यप्रति समर्पित हुन थप प्रेरणा र उर्जा दिएको उल्लेख गर्दै यस ऐतिहासिक अवसरमा पार्टी एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न म नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई अपील गरेका छन्।

अध्यक्ष प्रचण्डले विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) मानव जातिकै लागि नयाँ चुनौतीका रुपमा उभिएको उल्लेख गर्दै सरकारको प्रयाससँग सहकार्य गरी विज्ञहरुले सुझाएका सुरक्षाका उपायहरुलाई दृढतापूर्वक अवलम्बन गर्दै कोभिड–१९ विरुद्ध एकतावद्व संघर्षमा होमिन नेकपाका सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदायमा हार्दिक अपील गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *