अमेरिकामा कोरोनाको अर्को लहर झनै भयावह हुने, कोरोनासँगै अर्को महामारी समेत फैलिने

डिसी नेपाल
१० वैशाख २०७७ ९:४६

वाशिङटन। अमेरिकामा कोरोनाभाइरसको अर्को लहर झनै भयावह हुने विशेषज्ञहरुले चेतावनी दिएका छन् । अर्को जाडोको मौसम सुरु हुँदा यहाँ कोरोनाभाइरसको दोस्रो लहर फैलिने सम्भावना उच्च रहेको बताउँदै विशेषज्ञले त्यतिबेला मौसमी फ्लुको प्रकोप समेत उच्च विन्दूमा हुने र दुवै प्रकोपले एकैपटक आक्रमण गर्दा अमेरिकाको स्थिति अत्यन्तै डरलाग्दो हुन सक्ने चेतावनी दिएका हुन् ।

समाचार एजेन्सी एएनआइका अनुसार अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का निर्देशक रोबर्ट रेडफिल्डले मंगलबार यस्तो चेतावनी दिएका हुन् । ‘हाम्रो देशमा अर्को जाडोको सिजनमा कोरोनाभाइरसको प्रकोप हामीले भर्खरै भोगेको भन्दा निकै भयावह हुने सम्भावना उच्च छ’ सीडीसी निर्देशक रेडफिल्डले मंगलबार वाशिङटन पोस्टसँगको एक अन्तरवार्तामा भने । उनले अमेरिकाले फ्लु महामारी र कोरोनाभाइरस महामारी एकैपटक झेल्नुपर्ने बताए ।

अमेरिकामा घरमै बस्न दिइएको आदेशविरुद्ध भइरहेको प्रदर्शनका बारेमा कुरा गर्दै उनले अमेरिकीको यो व्यवहार महामारी नियन्त्रणमा सहयोगी नहुने बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयंले यसप्रकारका प्रदर्शनको हौसला बढाउँदै ‘लिबरेट मिन्नेसोटा’, ‘लिबरेट मिशिगन’ जस्ता शब्द प्रयोग गरेर ट्वीट गरेका थिए । राष्ट्रपति ट्रम्पले भने दैनिक रुपमा गर्ने प्रेस ब्रिफिङमा मंगलबार २० राज्यहरुले आर्थिक गतिविधि खोल्ने तयारी गरिरहेको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *