कोरोनासँग जुध्न स्थानीय तहको ‘कमाण्ड पोष्ट’
बलेवा। बागलुङका सबै स्थानीय तहले कोरोना भाइरसको सङ्क्रमण र जोखिम न्यूनीकरणका लागि आन्तरिक तथा समन्वयात्मक अभियान चलाउने भएका छन्। जिल्लाको १० वटै स्थानीय तह र जिल्ला कमाण्ड पोष्टले मङ्गलबार बैठक बसेर अभियान चलाउने विषयमा सहमति जुटाएका हुन्।
सबै पालिकामा कम्तीमा एक–एक मापदण्ड पुगेका क्वारेन्टाइन बनाउने, औषधिको व्यवस्थापन गर्ने लगायतका विषयमा समन्वयात्मक अभियान चलाउने निर्णय पनि बैठकले गरेको छ।
प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुको अध्यक्षतामा भएको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकमा १० वटै स्थानीय पालिकाका प्रमुख तथा प्रतिनिधि सहभागी थिए।
बैठकले सबै पालिकामा प्रवक्ता राखेर एकद्वार सूचना प्रवाह गर्ने निर्णय गरेको छ। सबै पालिकालाई सहज हुने गरी जिल्लास्तरीय नमूना सङ्कलन तथा व्यवस्थापन समूह गठन भएको छ।
धवलागिरि अञ्चल अस्पतालका डा प्रदीप श्रेष्ठको नेतृत्वमा स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौ र अस्पतालकै ल्याब टेक्नोलोजिष्ट सुरज बराल रहेको समूह बनाइएको हो।
जिल्लामा रहेका १३ वटै एम्बुलेन्सलाई कोरोनामैत्री बनाउने र आवश्यक पर्दा जुनसुकै प्रयोग गर्न सकिने बनाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले बताए।
विभिन्न स्थानमा बन्द गरिएका सडक खुलाउन पहल गर्ने निर्णय पनि भएको छ। कोरोना त्रासका कारण जिल्लाका विभिन्न स्थानमा सर्वसाधारणले सडक अवरुद्ध गरेका छन्।
आकस्मिक सेवाका सवारी हिँड्नुपर्ने भएकाले सडक बन्द गर्न नहुने छलफल भएको थियो। बरु ती स्थानमा स्वास्थ्य तथा सुरक्षा जाँच गरिने बताइएको छ।
विभिन्न समस्याले पैदल हिँडेका मजदुरलाई खानेबस्ने व्यवस्था र गन्तव्यमा लैजाने काम स्थानीय पालिकाले गर्ने तथा उनीहरुको स्वास्थ्य परीक्षणको व्यवस्थापन गरिने बैठकमा सहभागी जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए।
बिरामीको उपचार नियमित गर्ने, खोप सेवा सञ्चालन गर्ने र कोरोना शङ्का भएकाको कन्ट्याक्ट सेटिङ तथा रेकर्ड खोज्ने निर्णय भएको शर्माले जानकारी दिए।
धवलागिरि अञ्चल अस्पतालमा आइसीयू निर्माण भएकाले त्यसका लागि रक्तसञ्चार केन्द्रमा जतिबेला पनि रगत तयारी अवस्थामा राख्ने विषयमा छलफल भएको र सोअनुसारको तयारी गर्न भनिएको छ।
केही दिनदेखि झरी, असिना, चट्याङले परेको क्षतिको किसानलाई राहत दिन स्थानीय, प्रदेश र सङ्घीय सरकारसम्म आह्वान गर्ने निर्णयसमेत भएको पन्तले जानकारी दिए।
पालिकाहरुले हालसम्म वितरण गरेको राहतको समीक्षा गरेका छन्। उनीहरुले अहिलेसम्म ११ हजार ६४४ परिवारलाई राहत वितरण गरिएको तथ्याङ्क प्रस्तुत भयो। तीमध्ये चामल, मकै र कोदोसमेत गरी एक लाख ९९ हजार ५८२ केजी अन्न वितरण गरिएको जनाइएको छ।
दाल १० हजार १०८ केजी, तेल १० हजार ९२६ लिटर, नुन १३ हजार ९०० पोका र १३ हजार ५०३ वटा साबुनसमेत वितरण भएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए। रासस
मल, बीउ र पेट्रोल घरघरमै
लकडाउनका कारण गाउँबाट बजारमा आउन नपाएका किसानलाई मिर्मिरे कृषि सहकारी संस्थाले राहत दिने कार्यक्रम सार्वजनिक गरेको छ। सहकारीले बीउ, मल र पेट्रोल किसानको गाउँटोलसम्म लगिदिने निर्णय गरेको सहकारीका कोषाध्यक्ष थानेश्वर सुवेदीले बताए।
“कृषिको पकेट क्षेत्रसम्म ढुवानी गरिदिने, किसानलाई होलसेल मूल्यमा दिने, सकेसम्म त्यसबाट पनि छुुट दिने निर्णय गरेका छौँ”, सुवेदीले भने, “किसानले समयमा मल, बीउ नपाएर कृषि बाली लगाउन नपाउने समस्या समाधान गर्न खोजेका हौँ।”
गाउँगाउँमा हाते ट्र्याक्टरबाट खनजोत गर्दै आएका छन् तर डिजेल र पेट्रोल नपाएर समयमा खनजोत गर्न नपाएको गुनासो आउन थालेपछि सहकारीले उनीहरुलाई पेट्रोलियम पदार्थ पनि उपलब्ध गराउने भएको अध्यक्ष गङ्गाबहादुर थापाले बताए।
यसैबीच कोरोना सङ्क्रमणको जोखिम बढेपछि बागलुङमा बाहिरी जिल्लाबाट तरकारी आउन छाडेको छ । “धेरै दिन भयो बाहिरको तरकारी आएकै छैन”, बानपा–२ स्थित तरकारी पसलका एक व्यवसायी हीरादेवी पौडेलले भने, “गाउँगाउँको उत्पादनको भरमा गुजारा चलिरहेको छ।” स्थानीय काउली, बन्दागोभी, लौका, कबेली र सिमी बजारमा आएका छन्। तराईबाट ढुवानी रोकिएकाले गोलभेडा, प्याजजस्ता तरकारी बजारमा देख्न छाडिएको छ। फलफूलतर्फ स्थानीय केराबाहेक अन्य बजारमा छैनन्।
भकुण्डे, तित्याङ, मुलपानी र कुँडुलेका किसानको टोलटोलमै कृषिजन्य सामग्री लगिदिने योजना सहकारीले बनाएको हो। केरा पनि केही स्थानमा मात्र पाइन्छ । स्याउ, अनार, अङ्गुरजस्ता फलफूल देख्न नपाएको धेरै दिन भइसकेको पौडेलले बताए। “अत्यावश्यक सामग्री ढुवानीअन्तर्गत खाद्यान्न आए पनि तरकारी, फलफूल आएको छैन”, बागलुङ उद्योग वाणिज्य सङ्घका महासचिव नरेश कँडेलले भने, “अधिकांश उत्पादन विदेशबाट आउने भएकाले भित्रिएको छैन ।” स्याउ प्रायः चीन र भारतबाट आउने गरेको थियो । सङ्क्रमणको जोखिम, ढिलागरी आइपुग्ने भएकाले तरकारी र फलफूल नआएको उनले बताए।
Facebook Comment