लकडाउनको सदुपयोग : काठमाडौँका सडकमा ढकमक्क फूल

डिसी नेपाल
१० वैशाख २०७७ १०:४३

काठमाडाैं। त्रिपुरेश्वरबाट सुन्धारातर्फ लाग्ने सडक किनारामा ढकमक्क फूल फुलेका छन्। वसन्त ऋतुको आगमनसँगै यहाँका बिरुवा हुर्कँदैछन्।

नयाँ सडक अघिल्तिरको आइल्याण्डमा हेरुँ हेरुँ लाग्ने फूल फुलेका छन्। बन्दाबन्दीका कारण सवारी साधन आवतजावत नहुँदा काठमाडौँको शहरी सौन्दर्य निर्माणका काममा सहजता देखिएको हो।

कोरोना रोकथामका लागि जारी बन्दाबन्दीको अवधिमै सुन्धारा र शङ्खधरपार्क नजिक रहेका ट्राफिक आइल्याण्ड निर्माण हुँदैछन्। ती आइल्याण्डको साविक संरचनामा सुधार गरेर परम्परागत इँटा र नयाँ ढाँचाको पूर्वाधार तयार पारिसकिएको छ।

ती संरचनामा माटो भर्ने काम पनि भइसकेको छ तर बन्दाबन्दीले फूल र बिरुवा ढुवानी हुनसकेको छैन। अवस्था खुकुलो हुनेबित्तिकै बोट बिरुवा रोपिने भएको छ।

काठमाडौँ महानगरपालिकाको वातावरण विभागले फोहर सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापन, सडक तथा सार्वजनिक स्थान बढार्ने, झार उखेल्ने, सतह ढलको सफाइ गर्नेलगायत कामलाई नियमित गरिरहेको छ।

विभागका अनुसार सुन्धारा ट्राफिक आइल्याण्डमा ७५० बोट सिजनल फूल रोपिने तयारी छ। जहाँ एलिजिया, साइकस पाम, सेप्लेरिया भेरिगेटर, नीलगाई, इलिगन, फोनिक्स पाम, ड्रेसोना, क्लोटन, जनादो पाम, प्याराडाइज र रेक्सोना पाम रोपिनेछन्।

सुन्धाराका चार वटा आइल्याण्डलाई साबिक संरचनाको उचाइ बढाएर साढे दुई फिटका बनाइएका छन्। चौपाया चढ्न नसक्ने र मान्छेले फूल चुँडेर हिँड्न नसक्ने गरी उचाइ बढाइएको छ।

ती आइल्याण्डमा १४ प्रकारका फूल तथा बोटविरुवा रोपेर हरियाली र सुन्दरता बढाइने छ। शङ्खघर नजिकको आइल्याण्डमा पनि यसैअनुसारका विरुवा रोपिने भनाइ छ।

बन्दाबन्दीपछि यहाँका स्थाीय तह दैनिक प्रशासनिक काम राहत वितरणका लागि तथ्याङ्क सङ्कलन, राहत वितरण, भाइरस रोकथामका लागि प्रचारप्रसार र खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको बजार व्यवस्थापनमा पनि केन्द्रित छन्।

फोहर उत्पादनमा कमी

लकडाउनका कारण होटल र रेष्टुरेन्ट बन्द भएपछि काठमाडौँ उपत्यकामा फोहर उत्पादनमा कमी आएको छ। लकडाउन शुरु हुनुभन्दा पहिले दैनिक एक हजार टन फोहर व्यवस्थापन हुँदै आएको थियो। अहिले सबै होटल र रेष्टुरेन्ट बन्द रहेकाले दैनिक करिब ५०० टन मात्र फोहर व्यवस्थापन हुँदै आएको हो।

हरेक दिन ३०० गाडीले नुवाकोटको सिसडोलमा फोहर व्यवस्थापन गर्दै आएको कामपाले अहिले दैनिक १२१ गाडीमा मात्रै फोहर लैजाने गरेको छ।

कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार पहिले जतिबेला फोहर व्यवस्थापन गर्दा पनि हुन्थ्यो अहिले हरेक दिन बिहान ४ बजेदेखि ८ बजेसम्म सिसडोलमा फोहर व्यवस्थापन गरिसक्नुपर्ने छ। त्यसपछिको समयमा उक्त साइड बन्द गरिन्छ।

अहिले संवेदनशीन समय भएकाले व्यवस्थापन गएिको फोहरमा पनि कामपाले हरेक दिन तीन ट्याङ्करमार्फत किटनासक औषधि पनि छर्किँदै आएको छ। दुई वर्षका लागि भन्दै विगत १३ वर्षदेखि उक्त स्थानमा फोहर व्यवस्थापन गरिरहँदा काममालाई फोहर व्यवस्थापन कार्य थप चुनौतीको विषय बनेको छ।

हाल फोहर व्यवस्थापन गरिरहेको स्थानभन्दा दुई किलोमिटर पर दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण गरिरहेको भए पनि लकडाउनका कारण काम अघि बढ्न नसक्दा आगामी दिनमा पनि व्यवस्थापन कार्य कठिन हुने देखिन्छ।

अहिले उक्त स्थानमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएको छ। कामपाले सबै स्थानको फोहर व्यवस्थापनको काम भइरहेको जनाउँदै कुनै कारण फोहर लिने गाडी नआए ११८० कामपाको हटलाइन नम्बरमा फोन गरी जानकारी दिन पनि आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *