महामारीको सामना र अर्थव्यवस्था पुनर्वहालीमा सरकारसँगै : विश्व बैंक
काठमाडौं । विश्व बैंकका नेपालका लागि देशीय प्रवन्धक फारिस हदाद जार्भोसले नेपालमा महामारीको सामना गर्न र अर्थव्यवस्थालाई पुनर्बहाली गर्नका लागि सरकारसँग मिलेर काम गर्ने बताएका छन् । बुधबार आर्थिक पत्रकारहरुसँगको भिडियो कन्फेरेन्समा उनले आगामी वर्ष प्राथमिकताका आधारमा सरकारले स्वास्थ्य, रोजगारी, उत्पादनका क्षेत्रमा निकै काम गर्नुपर्नेमा जोड समेत दिए ।
कोरोना भाइरसले दक्षिण एशियाली राष्ट्र र नेपालको अर्थतन्त्रमा पार्ने प्रभावबारे बोलेका भिडियो कन्फेरेन्समा फारिसले राखेको विचार:
विश्वव्यापी अर्थतन्त्रमा आउँदा केही वर्षसम्म कोरोना भाइरस महामारीको प्रभाव दुर्भाग्यपूर्ण हुनेछ । विश्व, दक्षिण एसिया र नेपालमा चालू र आउँदा केही वर्षसम्म कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उल्लेख्य अनुपातले कमी आउने छ । महामारीभन्दा पहिला दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने अपेक्षा गरिएको थियो, तर कोभिड–१९ का कारणले क्षेत्रको वृद्धिदर सन् २०२० मा १.८ देखि २.८ प्रतिशतको बीचमा रहनेछ । यो विगत ४० वर्षकै सर्वाधिक खराब वृद्धिदर हो । आर्थिक वर्ष २०२१ मा पनि दक्षिण एसियाको वृद्धिदर ३.७ देखि ४.२ प्रतिशतको मध्यम स्तरमा रहने अपेक्षा छ ।
नेपाल दुई ठूला छिमेकीहरूको बीचमा अवस्थित भएको र ती छिमेकीहरूको समेत वृद्धिदरमा कमी आउने कारणले नेपाल र यहाँको वृद्धिदरमा समेत त्यसको नकारात्मक प्रभाव पार्नेछ । आर्थिक मन्दीका बारेमा चाखलाग्दो कुरा के छ भने हामी यो कोरोना भाइरसको महामारीबाट गुज्रिरहेका छौं, यो अन्यभन्दा फरक छ ।
यो मन्दीमात्रै होइन, फरक प्रकारकै मन्दी हो । सामान्यतयाः मन्दीले लगानी र वस्तुको मागमा असर पार्छ । सामान्यतयाः मन्दीहरू मागद्वारा हाँकिएका हुन्छन्, तर विद्यमान मन्दी भने कोरोना भाइरसका कारणले गर्दा आपूर्तिद्वारा हाँकिएको छ । अहिलेको अवस्थामा हामी माग कम हुनुका सट्टा आपूर्ति कम भएको अवस्था सामना गरिरहेका छौं ।
यो मन्दीलाई अलग ढंगले बुझ्नाले अर्थतन्त्र र वद्धिलाई फरक ढंगले पुर्नर्जीवित गर्नका लागि अर्थव्यवस्थामा नयाँ र विशिष्ट साधनहरू प्रयोग गर्न सहयोग पुग्नेछ । यो संक्रासलाई अलग रूपमा बुझ्नाले देशहरूलाई आपूर्तिमा आएको कमीलाई रोकथाम गर्नका लागि आवश्यक प्रोत्साहन प्याकेज ल्याउन पनि मद्दत पुग्नेछ ।
विश्व बैंकका प्रक्षेपणअनुसार चालू आर्थिक वर्षमा नेपालको जीडीपीको वृद्धिदर १.५ देखि २.८ प्रतिशतको बीचमा रहने छ । यो नेपालका लागि विश्वका अन्य भागहरूजस्तै ठूलो प्रहार हो । विप्रेषणमा हुने प्रहारले सीधै नेपालको विदेशी विनियमयमा प्रभाव पानेछ । नेपालको रोजगारी तथा आप्रवासन, व्यापार तथा पर्यटन क्षेत्र प्रत्यक्ष प्रभावित हुनेछन् । आपूर्ति प्रणाली पारेको झटका कारण कारण नेपालमा मुद्रास्फीतिदर ६ प्रतिशतभन्दा माथि रहने हामीले अपेक्षा गरेका छौं भने भने वित्तीय घाटा र चालु घाटा दुवै विस्तारित हुने अपेक्षा गरिएको छ ।
विश्व बैंक नेपालमा महामारीको सामना गर्न र अर्थव्यवस्थालाई पुनर्बहाली गर्नका लागि सरकारसँग मिलेर काम गरिरहको छ । विश्व बैंक आगामी वर्ष प्राथमिकताका आधारमा निकै काम गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्दछ । पहिलो प्राथमिकता तत्काल स्वास्थ्यका लागि चाल्नु पर्ने कदम हुनुपर्छ र सरकार यसअघि नै यस्तो काम गरिरहेको छ । दोस्रो तत्काल सामाजिक सहयोग र रोजगारी हो । ठूलो संख्यामा विदेशिएका नेपालीहरू स्वदेश फर्कदैछन्, जसका लागि ठूलो आकारमा रोजगारीको आवश्यकता छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमहरू र अन्य यस्तै खालका कार्यक्रमहरूमा ध्यान केन्द्रीत गरिनु पर्छ । यो आपूर्तिजन्य झट्का भएकाले, तेस्रो हामीले वस्तुको उत्पादन सुचारु रहने सुनिश्चित तुल्याउँदै साना तथा मझौला उद्योगहरूलाई केन्द्रीत र बढावा दिँदै वास्तविक क्षेत्रमा ध्यान केन्द्रीत गर्नुपर्ने आवश्यकता छ । यसैगरी आपूर्ति श्रृङ्खला सही ढंगले कायम राख्नु पर्छ । चौथो प्राथमिकता समष्टिगत आर्थिक स्थायित्व कायम हुनुपर्छ । खर्च अवस्था बढ्नेवाला छ, त्यसैले खर्चको प्राथमिकीकरण निर्धारण हुनुपर्छ ।
Facebook Comment