लकडाउनमा जिउँदो मान्छेलाई लाश बनाए, एम्बुलेन्समा राखेर मान्छे मरेको भन्दै गाउँ हिँडे

डिसी नेपाल
११ वैशाख २०७७ ९:०१

काठमाडौं। कोरोनाभाइरसका कारण विश्व्का धेरै देशहरु लकडाउनमा छन् । लकडाउनका बेला बाहिर यात्रा गर्नको लागि मानिसहरु विभिन्न बहाना बनाइरहेका छन् । केही समयअघि ललितपुरमा बस्ने केही व्यक्तिहरुले आमा मरेको बहानामा बस रिजर्भ गरेर जान लागेको प्रहरीले खुलासा गरेको थियो । तर, पाकिस्तानमा भने मानिसहरु योभन्दा धेरै अगाडि बढे । उनीहरुले एकजना जिउँदो व्यक्तिलाई लाश बनाएर एम्बुलेन्समा राखे र आफ्नो गन्तव्यतर्फ हिँडे ।

पाकिस्तानको कराचीमा केही व्यक्तिहरुले लकडाउनमा यात्रा गर्नको लागि एक जना जीवित व्यक्तिलाई लाश बनेर सुत्न राजी गराए । पाकिस्तानी मिडिया रिपोर्टका अनुसार कराचीमा केही व्यक्तिहरुले एम्बुलेन्स बुक गरे । एम्बुलेन्सलाई कराचीबाट खैबर पख्तुनख्यासम्म जानको लागि पैसा पनि तय भयो । १० जना मिलेर योजनाअनुसार एक व्यक्तिलाई लाश बनाएर एम्बुलेन्समा सुताइयो । त्यसपछि एम्बुलेन्स चेकपोस्ट पार गर्दै अगाडि बढिरह्यो ।

१० जनाले कराचीदेखि आफ्नो गन्तव्य खैबर पख्तुनख्वासम्म जानको लागि एम्बलेन्स चालकसँग साँठगाँठ गरेका थिए । यी व्यक्तिहरुसँग कुनै व्यक्तिको मृत्यु प्रमाणपत्र थियो । त्यही प्रमाणपत्रमा नाम उल्लेख गरिएका व्यक्ति मरेको भनेर जाने उनीहरुको योजना बन्यो । उनीहरुको बाटोमा एउटा सुपर हाइवे पनि पर्छ । हाइवेमा तैनाथ पुलिसकर्मीहरुले एम्बुलेन्स रोके र जाँच गर्न थाले ।

पुलिसलाई एम्बुलेन्समा बसेका व्यक्तिहरुमाथि शंका भयो किनकि एम्बुलेन्समा १० जना थिए र यति धेरै मानिसहरु एम्बुलेन्समा हुनु असामान्य थियो । सोधपुछमा उनीहरुले आफन्तको मृत्यु भएको र शव लिएर पुर्ख्यौली गाउँ जान लागेको बताए । उनहिरुले आफूसँग भएको पुरानो मृत्यु प्रमाणपत्र देखाए । पुलिसलाई उनीहरुको हाउभाउमाथि शंका भयो । पुलिसले ‘लाश’ ढाकेको कफन हटाए । कफन हटाउनासाथ लाश बनेर सुतेका व्यक्ति उठेर बसे अनि सोधे ‘हामी पुग्यौं ?’ पुलिसले उनीहरुलाई पक्राउ गरेको छ । एम्बुलेन्स चालकलाई समेत हिरासतमा राखेर एम्बुलेन्स जफत गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *