सिइओ र संचालकबीचको विवाद सतहमा
काठमाडौं । बैंक तथा बित्तीय संस्थाका प्रमूख कार्यकारी अधिकृत (सिइओ)हरुको संस्था बैंकर्स संघ र संचालक तथा अध्यक्षहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघबीचको विवाद सतहमा आएको छ ।
गत मंगलबार परिसंघको बैठकले व्याजदर घटाउने,छुट दिने लगायतका विभिन्न विषयमा निर्णय गरेको थियो । तर विहिबार बसेको सिइओहरुको बैठकले संचालकहरुको निर्णय नमान्ने निर्णय गरेका हुन् यो सँगै संघ र परिसंघविचको विवाद सतहमा नै देखिएको हो ।
बैंकर्स संघसँग परामर्श नै नगरी ब्याज छुट दिने निर्णय गरेको भन्दै परिसंघसँग प्रमुख कार्यकारी अधिकृतहरुले असहमति राखिरहेका थिए। बिहीबार भने औपचारिक रुपमै संघले परिसंघको निर्णयमाथि प्रश्न उठाएको हो।
बैंकर्स संघले व्याजदर घटाउने वा बढाउन भन्ने विषय व्यवस्थापन भित्रको एसेट लाइबिटिज म्यानेजमेन्ट कमिटीको भएको बताउँदै ब्याजका बिषयमा नेपाल राष्ट्र बैंकले बनाएको समिति मार्फत अध्ययन भइरहेको बेलामा परिसंघले बोल्नु उपयुक्त नभएको स्पष्ट पारे ।
त्यस्तैगरी बैंकर्स संघले सम्पत्ति शुद्धिकरणको विषयमा परिसंघले जसरी बोलेको छ त्यो बोल्न उपयुक्त नभएको धारणा राखेको छ । केही समयअघि नेपाल बैंकर्स संघले ऋणीहरुलाई जेठ १ गतेदेखि व्याज घटाउने निर्णय गरिसकेको थियो ।
त्यस्तै नीजी क्षेत्रलाई कस्तो प्रकारको राहत दिने र बैंकहरुले कतिसम्म धान्न सक्छन् भन्ने विषयमा नेपाल राष्ट्र बैंकले समिति बनाएर अध्ययन गरिरहेकोले यस विषयमा परिसंघ बोल्नुको कुनै तुक नरहेको संघको धारणा रहेको छ ।
गत मंगलबार संचालकहरुको संगठन बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले ब्याज दरमा छुटका साथै व्याजदर घटाउने निर्णय पनि गरेको थियो। साथै लगानीको स्रोत नखोज्न पनि सरकारसँग माग गरेको थियो।
Facebook Comment