अविकसित राष्ट्रको गरिवी निवारण प्रयास कमजोर, दिगो विकास लक्ष्य हासिल गर्न कोरोनाको चुनाैती

डिसी नेपाल
१२ वैशाख २०७७ १४:५६

काठमाडौं । विश्व यतिवेला कोरोना महामारीसँज जुधिरहेको छ।  कोरोना संक्रमण र यसलाई फैलिन नदिन गरिएका बावजुद पनि यसलाई नियन्त्रणमा लिन सकिएको छैन।

महामारी नियन्त्रणका लागि अधिकांश देशहरुलाई लकडाउन गरिएको छ भने अन्तरदेशीय आवतजावत निषेध छ।  कोरोनाको महामारी बढ्दै जाँदा यसले विश्व अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने देखिएको छ। विश्व बैंकलगायतका संस्थाहरुले अर्थतन्त्र ४० वर्षयताकै कमजोर हुने आंकलन सार्वजनिक गरिसकेका छन्।

कोरोना महामारीले विश्वका के धनि के गरीब सबै देशलाई प्रभावित पारेको छ। तर, विकसित देशको तुलनामा अविकसित र विकासोन्मुख देशको अर्थतन्त्रलाई अझ बढी प्रभावित बनाउने र यसको असर दूरगामी हुने चिन्ता व्यक्त गरिएको छ।  अविकसित राष्ट्रहरुले गरिवी निवारणमा हासिल गरेको सफलतालाई कमजोर बनाउँदै लगेको र दिगो विकास लक्ष्य हासिल गर्न थप चुनौती थपेको सरोकारवालाहरुले उल्लेख गरेका छन्।

कम आयस्रोत हुने मुलुकलाई ऋण स्थगन र ऋण मोचनका माध्यमबाट वित्तीय क्षमता बढाउनुपर्ने उनीहरुको जोड थियो। वल्र्ड इकोनोमी फोरमले दक्षिण एशियाली राष्ट्रहरुका सरकार प्रमुख तथा अर्थशास्त्री एवम् विश्व स्वास्थ्य संगठनका पदाधिकारीसँग गरेको छलफलमा नेपालका अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालसहित विकाशोन्मुख राष्ट्रले गरिवी निवारणमा पाएको सफलतामा कोरोनाले असर गर्ने बताए।

कोभिड –१९ ले बहुसंख्यक जनतालाई बेरोजगारी र गरिबीतर्फ धकेलेको प्रसंग उठाउँदै उनले भने,  ‘हामीले विगत तीन दशक देखि गरिबी निवारणमा गरेको प्रयास र सफलतालाई यसले कमजोर बनाउदै लगेको छ र दिगो विकास लक्ष्य हासिल गर्न थप चुनौती थपेको छ।’

अर्थमन्त्री खतिवडाले कोभिड –१९ जस्ता अज्ञात शत्रुको सामना गर्न नसके सम्म सुरक्षा क्षेत्रमा भइरहेको बढ्दो खर्चले अर्थ नराख्ने भन्दै सार्वजनिक स्रोत मानव कल्याणमा पुनर्प्राथिमिकीकरण र केन्द्रीत गर्नुपर्ने बताए।  उनले कोरोनाका हालसम्म पुर्याएको तथा थप पुर्याउन सक्ने आर्थिक क्षतिको पुर्नस्थापना गर्न सरकार, अन्तर्राष्ट्रिय संघ संस्था र निजी क्षेत्रको सामूहिक प्रयास आवश्यक हुने धारणा राखे।

उनले यो विश्वव्यापी संकटको समाधान गर्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव हुने उल्लेख गर्दै हालको संकटलाई सामना गर्न तीन सुझाव दिए। उनको सुझाव यस्ता छन्

१) सीमानाकामा हुने मानिसहरुको आवातजावत नियन्त्रण तथा आप्रवासी कामदारहरुको लागि आधारभूत सुविधा उपलब्ध गराउने र अन्तर्राष्ट्रिय सहयोग र समन्वय गर्ने

२) स्वच्छ व्यापारको माध्यमबाट आधारभूत खाद्यान्न, औषधि र स्वास्थ्य उपकरण उपलब्ध गराउन सुनिश्चितता प्रदान गर्ने,

३) ऋण स्थगन र ऋण मोचनका माध्यमबाट कम आयस्रोत भएका मुलुकहरुको वित्तीय क्षमता बढाउने ।

छलफलमा बंगलादेशका प्रधानमन्त्री शेख हसिना, विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्ड, विश्व स्वास्थ्य संगठनका दक्षिण–पूर्व एशिया निर्देशक पुनम क्षेत्रापल सिंह लगायतले संकटलाई पार लगाउन सबैको सामूहिक र एकीकृत प्रयास रहनुपर्ने कुरामा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *