अमेरिकी राष्ट्पति ट्रम्पले बताएका ‘कोरोना सङ्क्रमण नाश गर्ने सिद्धान्त’को आलोचना
बीबीसी । कोभिड–१९को उपचारका निम्ति सङ्क्रमणनाशक वस्तु (डिसइन्फेक्ट्यान्ट)लाई बिरामीको शरीरमा सुईमार्फत् लगाउने सुझाव दिएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चर्को आलोचना भएको छ।
साथै उनले परावैजनी किरणले बिरामीको शरीरलाई सङ्क्रमणमुक्त बनाउन सकिने समेत बताएका थिए। एकजना अधिकारीले सूर्यको किरण तथा सङ्क्रमणनाशक पदार्थले सङ्क्रमण नाश हुने बताएपछि उनले त्यस्तो दाबी गरेका हुन्।
उनले भने, ‘परावैजनी वा अन्य कुनै शक्तिशाली प्रकाशबाट मानौँ हाम्रो शरीरमा प्रहार गरियो भने मलाई लाग्छ त्यसले सङक्रमणलाई एक मिनेटमा नै परास्त गरिदिन्छ।’ ‘हामीले देखेका छौँ कसरी सङ्क्रमणनाशक पदार्थले एक मिनेटमै ठीक गर्छ। के हामी पनि सफाइ गरेको जस्तै किसिमले सङ्क्रमणनाशक पदार्थको सुई हाल्न सक्दैनौँ त?’
आफ्नो टाउको देखाउँदै उनले भने, ‘म डाक्टर त होइन। तर मेरो राम्रो दिमाग त छ नी।’ तर डाक्टरहरूले राष्ट्रपति ट्रम्पको उपाय घातक हुनसक्ने चेतावनी दिएका छन्। एकजना डाक्टरले भने, ‘यो त गैरजिम्मेवार अनि खतरनाक भयो।’
छोटकरीमा भन्दा–सङ्क्रमणनाशक पदार्थ खाने वा सुई हाल्ने नगर्नुहोला। श्वासप्रश्वास सम्बन्धी चिकित्सक भिन गुप्ताले एनबीसी न्यूजलाई भने, ‘यस्ता बस्तुको सुई हाल्ने वा सफाइसँग जोडिएका उत्पादन खाने अवधारणा गैरजिम्मेवार र घातक हो। आफ्नो ज्यान गुमाउन चाहने मानिसहरूले यो बढी प्रयोग गर्ने विधि हो।’
चार्ल्स्टन वेस्ट भर्जिनियाका डाक्टर कासिफ महमुदले भने, ‘एक जना चिकित्सकका रूपमा म तपाईँलाई सङ्क्रमणनाशक वस्तुहरूको फोक्सोसँग सम्पर्क गराउन वा परावैजनी किरण शरीरमा पठाएर कोभिड(१९ को उपचार खोज्न सुझाव दिन सक्दिनँ।’ उनले थपे, ‘ट्रम्पले दिएका स्वास्थ्य सल्लाह नमान्नु होला।’
Facebook Comment