विवादित अध्यादेश खारेजसँगै शिर्ष ३ नेताको वालुवाटारमा छलफल
काठमाडौं । सरकारले विवादमा परेका दुवै अध्यादेश खारेज गरेकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपक्षीय छलफल गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नो निवास बालुवाटार बोलाएर प्रधानमन्त्रीले समसामयीक विषयमा छलफल गरेका हुन् ।
ओली र देउवाबीच झण्डै १ घण्टा छलफल भए पछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पनि सहभागि भएको प्रधानमन्त्रीका प्रेश सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा जानकारी गराएका छन् ।
राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्थासहित अध्यादेश ल्याइएपछि सत्तापक्ष र प्रतिपक्ष दुवैबाट सरकारको विरोध भएको थियो ।
यी दुई अध्यादेश जारी भए पछि आफ्नै पार्टीका अर्का अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवासँग प्रधानमन्त्रीको सम्बन्ध चिसिँदै गएको थियो ।
आक्रामक रुपमा प्रस्तुत भएका प्रमुख प्रतिपक्षी कांग्रेसका नेताहरुले त सरकारले वैधानिक हैसियत गुमाएको भन्दै प्रधानमन्त्री फेर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए ।
कोरोनाका कारण बन्धक बनेको देशमा सरकारको कार्यशैलीको प्रमुख प्रतिपक्षी दल र सत्तारुढ दलकै नेताहरुले विरोध गरेका थिए । आजको भेटघाटले शिर्ष ३ नेताहरुको चिसिँदै गएको सम्बन्धमा पनि सुधार आउने अपेक्षा गरिएको छ । साथै, कोरोनाका लागि कसरी जान सकिन्छ र १५ गतेसम्म जारी रहेको लकडाउनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारे पनि शिर्ष नेताहरुबीच छलफल हुने अपेक्षा गरिएको छ ।
Facebook Comment