मानव अङ्गद्वारा डायलोसिस सेवा सञ्चालन
भक्तपुर । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लागुगरेको लकडाउनको बेलामा पनि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले भने मिर्गौला बिरामीको लागि डायलासिस सेवा सञ्चालन गरेको छ । लकडाउनमा शुरुको दिनमा चारघण्टा डायलासिस गर्नुपर्ने बिरामीको समय घटाएर दुई वा तीन घण्टा गर्दै आएको अस्पतालले अहिलेभने पूरा समय नियमित डायलोसिस सेवा दिइरहेको छ ।
दैनिक तीन सिफ्टमा ३० वटा डायलासिस मेशिनबाट केन्द्रले लकडाउनको समयमा पनि दैनिक ७५ जना मिर्गौलाका बिरामीलाई डायलासिस सेवा दिइरहेको केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । अहिले सबै व्यवस्थापन गरेर बिरामीको आवश्यकताका आधारमा डायलासिसमा गरिरहेको जानकारी दिँदै उनले १०८ बिरामी डायलासिसको प्रतीक्षा सूचीमा रहेका जानकारी दिए ।
अस्पतालमा आकस्मिक डायलोसिस गर्ने बिरामी दैनिक पाँचदेखि सातजना आउने गरेका छन् । मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेका बिरामी तथा दाताको नियमित फलोअप परीक्षण पनि भइरहेको अस्पतालले जनाएको छ । लकडाउन पछि मिर्गौलाको शल्यक्रिया, प्रत्यारोपण, बहिरङ्गलगायतका सेवा भने रोकिएको केन्द्रले जनाएको छ ।
Facebook Comment