विज्ञान तथा प्रविधिको विकासबारे छलफल

डिसी नेपाल
१२ वैशाख २०७७ २१:५५

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी दिनमा प्रदेश सरकार तथा केन्द्र सरकारको समन्वयमा प्रत्येक प्रदेशमा एक एक विषयमा सेन्टर फर एक्सेलेन्स खोली विज्ञान तथा प्रविधिको विकासलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

सो मन्त्रालयको आयोजनामा आज सातवटै प्रदेशका विज्ञान तथा प्रविधि विषय हेर्ने मन्त्रीबीचमा महामारीको विषयलाई केन्द्रमा राखी आगामी दिनमा विज्ञान तथा प्रविधिको क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा अनलाइन बैठकमा उक्त कुरा बताएका हुन्।

बैठकमा मन्त्री पोखरेलले विज्ञान तथा प्रविधि पूर्वाधारको पनि पूर्वाधार भएकाले सबै तहका सरकारले आपसमा संयोजन गरेर नदोहोरिने गरी विज्ञान प्रविधिमा लगानि बढाउन पहल गर्नुपर्नेमा जोड दिएका हुन् । आफ्नो प्रदेशमा गरेका कामका बारेमा जानकारी गराउन पाउँदा खुशी भएको र अन्य प्रदेशमा भएका कामको जानकारी पाउँदा धेरै कुरा थाहा पाउनुका साथै एक अर्काबाट सिक्नसमेत सहयोग गरेकाले यस्ता बैठक नियमितरुपमा आयोजना गर्नुपर्ने सबै सहभागी मन्त्रीले जोड दिएका थिए ।

उक्त बैठकमा यसअघि मन्त्रालयले यस प्रकोपको सामना गर्न सुझाव दिन गठित समितिका संयोजक पूर्वमन्त्री गणेश साह र उक्त समितिअन्तर्गतका विभिन्न छ वटा उपसमितिका संयोजकमध्ये विज्ञान तथा प्रविधि क्षेत्रका चार उपसमितिका संयोजक नाष्टका उपकुलपति डा सुनिलबाबु श्रेष्ठ, प्रा डा रमेश मास्के, नास्टका प्राज्ञ दिनेश भुजु र विज्ञान तथा प्रविधि सचिव डा सञ्जय शर्माले आफूअन्तर्गत रहेको समितिले गरेका कामको जानकारी गराएका थिए । प्रदेश मन्त्रीहरुले सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रमा गरेका विभिन्न कामका विषयमा जानकारी गराएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *