पूर्वमन्त्री भण्डारीद्वारा स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण

डिसी नेपाल
१४ वैशाख २०७७ ९:३९

दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले तनहुँका सबै स्थानीय तहलाई शनिबार स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सहयोग पु¥याउने उद्देश्यले पूर्वमन्त्री भण्डारीले जिल्लाका चार नगरपालिका र छ गाउँपालिकालाई स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

सबै स्थानीय तहलाई गरी करिब रु दुई लाख बराबरको व्यक्तिगत सुरक्षा कवच (पिपिइ), स्यानिटाइजर, मास्क वितरण गरिएको पूर्वमन्त्री भण्डारीले जानकारी दिए।

पूर्वमन्त्री भण्डारीले सबै स्थानीय तहका प्रमुख तथा अध्यक्षलाई उक्त सामग्री वितरण गरेका छन् ।

भण्डारीका अनुसार स्थानीय तह, स्वास्थ्य सहायता कक्ष, निजी अस्पताल, प्रहरीलगायतलाई गरी २० थान पिपिइ, पाँच हजार थान मास्क, पाँच थर्मलगन र स्यानिटाइजर वितरण गरिएको छ।

उनका अनुसार प्रत्येक गाउँपालिकालाई एक–एक थान पिपिइ, २०० थान मास्क र स्यानिटाइजर वितरण गरिएको छ भने आँबुखैरेनीस्थित स्वास्थ्य सहायता कक्ष र मिर्लुङको स्वास्थ्य सहायता कक्षमा पाँच थर्मलगन वितरण गरिएको छ।

व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिकालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

यसअघि व्यास नगरपालिकामा शनिबार आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री भण्डारीले कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सबैको हातेमालो आवश्यक रहेकाले आफूले सकेको सहयोग गर्ने बताए ।

जिल्लाका स्थानीय तहमा स्वास्थ्य सामग्री अभाव भइरहेको जानकारी पाएपछि सहयोग गरेको उनको भनाइ थियो । उनले भने, “जिल्लाका सबै स्थानीय तहलाई आगामी दिनमा पनि सहयोग गर्नेछु ।”

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले प्राप्त भएको स्वास्थ्य सामग्रीले कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सहयोग पुग्ने बताए ।

कोभिड–१९ का सङ्क्रमित वृद्धि हुने क्रम बढेकाले आगामी दिन थप सङ्कटपूर्ण हुने हुँदा सबैले सतर्कता अपनाउनुपर्नेमा न्यौपानेले जोड दिए ।

नगरपालिकाले बन्दाबन्दीबाट प्रभावित विपन्न तथा असहायहरूलाई करिब रु ५० लाख बराबरको राहत वितरण गरिसकेको न्यौपानेले जानकारी दिए ।

यसअघि तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ र क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले पनि जिल्लाका स्थानीय तहहरूलाई स्वास्थ्य सामग्री वितरण गरेका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *