सेनाको अडानमा लकडाउनको म्याद थपिँदै

काठमाडौं। नेपाली सेनाको अडानमा सोमबार सकिने लकडाउनको म्याद एक हप्ता थप हुने भएको छ। शनिबार बसेको कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकमा नेपाली सेनाका तर्फबाट सहभागी रथी प्रभुराम शर्माले लकडाउन अहिलेको अवस्थामा खुलाउन नहुने भन्दै अडान राखेका थिए।
बैठकमा सहभागीहरुले स्थान र अवस्था हेरेर लकडाउन खोल्न वा खुकुलो बनाउन सकिने प्रस्ताव गरेपछि सेनाले भने अहिले लकडाउन हटाउने निर्णय आत्मघाती हुने भन्दै लकडाउन जारी राखेर भारतसँगको सीमानाका सिल गर्नुपर्ने अडान राखेको स्रोतले जनाएको छ।
सेनाको उक्त अडानपछि समितिले लकडाउन एक हप्ता थप गर्न सरकारलाई सिफारिस गरेको थियो। यो विषयमा निर्णय गर्न आज मन्त्रिपरिषद बैठक बस्दैछ।
नेपाली सेनाले भारतको क्वारेन्टाइमा बसेर नेपाल भित्रिएका नेपाली नगारिकलाई स्वास्थ्य परीक्षण गरी सीमा क्षेत्रमा बनाइएको क्वारेन्टाइनमा निश्चित समयसम्म राख्नुपर्ने प्रस्ताव गरेको छ।
बैठकमा रथी शर्माले भारतको क्वारेन्टाइनमा बसेर नेपाल भित्रिएका नेपाली नागरिकको स्वास्थ्य परीक्षण गरेर निश्चित समय क्वारेन्टाइनमा राख्ने, उनीहरु घर फर्र्र्किएपछि फेरि अर्को समूहलाई नेपाल ल्याउनु पर्ने र क्वारेन्टाइमा राख्नु पर्ने तथा अन्य मानिसको आवात जावत रोक्न भारतसँगको सीमा सिल गर्नुपर्ने बताएका थिए।बैठकमा रथी शर्माले भारत र चीनबाट ल्याएको स्वास्थ्य सामाग्रीको विवरण प्रस्तुत गरेका थिए।
बैठकमा प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले राहत वितरणमा अनियमितता भएको विवरण प्रस्तुत गरेका थिए। लकडाउनका विषयमा नेपाली सेना बाहेक अन्य सुरक्षा निकायले कुनै प्रस्ताव नगरेको स्रोतले जनाएको छ।
महानिरीक्षक ज्ञवालीले राहत वितरणमा अनियमितता भएको विवरण पेश गर्दै एक जना विद्यार्थीको डेरामा २७ बोरा चामल पाइएको बताएका थिए। उनले ती विद्यार्थीको सम्पूर्ण विवरण सार्वजनिक नगरेपनि त्यसलाई अनियमितताको सूचकका रुपमा प्रस्तुत गरेका थिए।
Facebook Comment