किम जोंग उनको बारेमा दुई परस्पर विरोधी दावी, दुवै दावी एक अर्कासँग ठिक विपरित

डिसी नेपाल
१४ वैशाख २०७७ १४:०५

काठमाडौं। उत्तर कोरियाली शासक किम जोंग उनका बारेमा दुई परस्पर विरोधी दावीहरु अन्तर्राष्ट्रिय मिडियामा देखिएका छन् । युरोप र अमेरिकाका मिडियाहरुमा यी दुवै दावीहरुलाई उद्धृत गर्दै समाचार बनेका छन्, यद्यपि दुवै दावीको कुनै पुष्टि गर्ने आधार भने छैन । शनिबार अबेर राती हङकङका एक टेलिभिजनले किमको मृत्यु भएको दावी गर्यो । अर्कोतर्फ दक्षिण कोरियाको एक मिडियाले भने किम स्वस्थ भएको र रिसोर्टमा घुमिरहेको रिपोर्ट सार्वजनिक गर्यो ।

हिजो मात्र चीनले डाक्टरको एक टिम उत्तर कोरिया पठाएको समाचार एजेन्सी रोयटर्सले बताएको छ । यही मेडिकल टिमका एक सदस्य डाक्टरलाई उद्धृत गर्दै जापानको एक म्यागजिनले किम केही महिनादेखि मुटुसम्बन्धी समस्यासँग जुधिरहेको र केही दिनअघि रिंगटा लागेर ढलेको दावी गरेको छ । त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको र उनको उक शल्यक्रिया समेत भइसकेको जापानी म्यागजिनको रिपोर्टमा जनाइएको छ । रिपोर्टमा किमको मुटुमा स्टेंट राख्नुपर्ने अवस्था आउन सक्ने बताइएको छ ।

उता दक्षिण कोरिया र चीनका मिडियाले भने किमको स्वास्थ्य सुधार हुँदै गएको समाचारलाई खण्डन गरेका छन् । रिपोर्टमा सर्जरीपछि किमको स्वास्थ्य नाजुक भएको र उनको ज्यान खतरामा रहेको बताइएको थियो । केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत किम अस्वस्थ रहेको रिपोर्टलाई गलत भनेका थिए ।

बेइजिङबाट संचालित हङकङको एचकेएस टिभी च्यानलको रिपोर्ट अनुसार किम जोंगको मृत्यु भइसकेको दावी गरिएको छ । इन्टरनेशनल बिजनेस टाइम्सको रिपोर्टमा बताइएअनुसार चिनियाँ सामाजिक संजाल विबोमा किमको मृत्युको पोस्ट भाइरल भइरहेको छ । एक अन्य रिपोर्टमा बेइजिङका सूत्रको हवाला दिँदै एक सर्जनको हात काँपिरहेका कारण किमको मुटुमा स्टेंट राख्ने अपरेशन गलत भएको दावी गरिएको छ ।

दक्षिण कोरियाको अर्को एक मिडिया रिपोर्टमा भने फरक दावी गरिएको छ । अस्ट्रेलियाको च्यानल सेभेनले पनि यसलाई प्रकाशित गरेको छ । यो रिपोर्टका अनुसार किम आफ्नो सुविधासम्पन्न समुद्र किनारको रिसोर्टमा छन् । उनी आफ्नो निजी ट्रेन र खास स्टाफको साथमा रिसोर्ट पुगेको रिपोर्टमा दावी गरिएको छ । वाशिङटनस्थित नर्थ कोरिया मनिटरिङ प्रोजेक्टले पनि स्याटेलाइट तस्वीर जारी गर्दै किम रिसोर्टमा भएको जनाएको छ ।

मनिटरिङ प्रोजेक्ट ३८ नर्थले आफ्नो रिपोर्टमा २१ र २३ अप्रिलमा वोन्सानको लिडरशिप स्टेशनमा किम जोंगको ट्रेन देखिएको बताएको छ । यो ट्रेनको प्रयोग किम र उनको परिवारका सदस्यले मात्र गर्छन् । ३८ नर्थको रिपोर्टमा ट्रेनबाट किमको स्वासथ्य अवस्था अहिले कस्तो छ भन्ने थाहा नभए पनि उनी सुविधासम्पन्न समुद्र किनारको रिसोर्टमा भएको कुरा भने पुष्टि हुने दावी गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *