फेरि अर्को अध्यादेश जारी हुन्छ : प्रधानमन्त्री, मन्त्रिपरिषद्को बैठकमा पार्टी महाधिवेशनको कुरा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट अर्को अध्यादेश जारी गरिने बताएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा उनले अर्को अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष पठाइएको बताएका थिए।
खारेज भएका दुई अध्यादेशले थप कानूनी अन्यौल बढाएपछि त्यसलाई हटाउन अर्को अध्यादेश जारी गर्नु परेको उनले बैठकमा बताएका थिए। प्रधानमन्त्रीका अनुसार चाँडै अर्को अध्यादेश जारी हुन्छ ।
दलसम्बन्धी कानून र संबैधानिक परिषद्सम्बन्धी कानूनमा अचानक ल्याइएको अध्यादेशले परिवर्तन गरेपछि फेरि पुरानै अवस्थामा पुग्नलाई नयाँ ल्याइएको व्यबस्था खारेज गरेरमात्र नपुग्ने र पुरानो व्यबस्था नै कायम भएको भन्ने व्यहोराको अर्को अध्यादेश आवश्यक पर्ने भएकोले त्यसका लागि अध्यादेश जारी गर्न लागिएको हो। प्रधानमन्त्री ओलीले आफूले हतारमा अध्यादेश ल्याएको स्वीकार पनि गरेका थिए ।
मन्त्रिपरिषद्मा पार्टी माहाधिवेशनको कुरा
प्रधानमन्त्री ओलीले पार्टीभित्र सहमतिको अवस्था विग्रँदै गएको कुरातर्फ इंगित गर्दै महाधिवेशन अघिसम्म सहमतिअनुसारकै राजनीति अघि बढ्नुपर्ने बताएका थिए। एकमन्त्रीका अनुसार, महाधिवेशन अगाडिसम्म दुई पार्टीबीचको एकता प्रक्रिया जारी रहेको अवस्थाका कारण सहमतिको राजनीतिलाई अघि बढाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै ओलीले सहमतिअनुसार नै आफूले काम गर्ने बताएका थिए।
पार्टीभित्र स्थायी समितिको बैठक तत्काल बोलाउन हस्ताक्षर नै संकलन भइसकेको मात्र होइन बरिष्ठ नेता माधवकुमार नेपाललाई विकल्पका रुपमा प्रचण्डसमेतले अघि सार्ने प्रयास गरिरहेको जानकारी पाएका उनले स्थायी समितिको बैठकलाई छल्न सहमतिको राजनीति गर्न तयार भएको कुरा उठाएका आशंका मन्त्रीहरुले गरेका छन् ।
उनले अव हुने महाधिवेशन एकता महाधिवेशन हुने र त्यसपछि पारित हुने नीति र नेतृत्वले सोही नीतिअनुसार पार्टी अघि बढाउने धारणा मन्त्रिपरिषद्मा राखेर ओलीले महाधिवेशनतिर ध्यान मोड्न सके आफ्नो सत्तामा आएको तत्कालको संकट समाधान गर्न सक्ने सोचाइ राखेको हुनसक्ने बैठकमा सहभागी एक मन्त्रीले डिसी नेपाललाई बताए ।
आइतबारको मन्त्रिपरिषद्को बैठकले लकडाउन १० दिनसम्म थप गर्ने र नेपाली सेनाका केही उच्चपदस्थ अधिकृतहरुको सरुवा गर्ने निर्णय पनि गरेको छ ।
Facebook Comment