हवाई क्षेत्रमा कर्पोरेट बण्ड जारी गर्न चेम्वरको सुझाव
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले हवाई क्षेत्रमा कर्पोरेट बण्ड जारी गर्न सरकारलाई सुझाव दिएको छ। बैंक तथा वित्तीय संस्थाहरुले हवाई क्षेत्रमा ऋण दिन आनाकानी गर्ने भएकोले सरकारले वा नेपाल राष्ट्र बैंंकले कर्पोरेट बन्ड जारी गरी हवाई क्षेत्रमा टेवा दिनुपर्ने माग राखेका छन्।
सोमबार चेम्वर प्रतिनिधिले पर्यटनमन्त्री योगेश भट्टराईलाई भेटी विश्वभर महामारीको रुपमा फैलीएको कोरोनाको कारण पर्यटन व्यवासाय धरापमा परेको भन्दै विषेशगरी सरकारले हवाई क्षेत्रतर्फ सहुलियन दिनुपर्ने सुझाव दिएका हुन्।
त्यस्तै चेम्वरले सरकारले हवाई क्षेत्रको लागि प्लेन किन्दा ट्याक्स छुट दिनुपर्ने, प्लेनको सम्पूर्ण पार्टपुर्जा किन्दा राजस्व छुट दिनुपर्ने, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेकोले हवाइ भाडा दर पनि घटाइनु पर्ने, हवाई क्षेत्रको पुनर्विमा लगाउँदै आईएको मू.अ.क. र अग्रिम कर छुट हुनुपर्ने, ग्राउन्डेड जहाजको विमाको संपूर्ण व्यवस्था नेपाल पुनर्विमा कम्पनीबाट सहुलियत दरमा हुनुपर्ने लगायतका सुझाव दिएको छ।
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको टोलीले पर्यटन मन्त्रीसँग आयल निगमले हाल लिदै आएको नगद धरौटीको सट्टा बैंक ग्यारेन्टीको व्यवस्थापन गर्न र लिएको नगद धरौटी फिर्ता गर्न समेत सुझाव गरेका छन्।
त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले लिने लेन्डिङ पार्किङ,नेभिगेसन,काउन्टर चार्ज, रिन्युवल शुल्क र ग्राउन्डेड जहाजको ग्राउन्डेड अवधिभरको शुन्य र अन्य आन्तरीक हवाई सेवा स्थगित रहेको अवधिभरलाई मिनाहा गर्नुपर्ने सुझाव पनि राखेका छन्।
पर्यटन प्रबद्र्धन तर्फ चेम्वर चीनियाँ पर्यटकहरुलाई सेप्टेम्वरदेखि ल्याउन प्रयत्न गर्नुपर्ने त्यसका लागि सरकारले राहतका प्याकेज घोषणा गर्नुपर्ने, आन्तरिक पर्यटन प्रबद्र्धनको लागि सरकारी निकाय र निजी क्षेत्रको मानिसहरुलाई प्रोत्साहन प्याकेज ल्याउनुपर्ने सुभाव चेम्वरले राखेको छ।
त्यस्तै नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स र चाइनिज एयरलाइन्सहरुले चीनको बिभिन्न शहरबाट प्रतिस्पर्धी प्याकेजमा पर्यटकहरु भित्राउने तर्फ सरकारले पहल गर्नुपर्ने, पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रले पनि कष्ट टु कष्ट बेसिसमा होटल लगायत अन्य पर्यटकीय सुबिधा प्रदान गर्न सुनिश्चितता प्रदान गर्नुपर्ने लगायतका सुझावहरु पनि रहेका छन्।
त्यस्तै कोभिड १९ का कारण सबैभन्दा बढी प्रभावित होटल तथा एयरलाइन्सहरु भएकोले उनीहरुलाई वित्तीय प्याकेज मार्फत उद्धार गरिनु पर्ने, पूर्वीय संस्कृति योगाको विश्वव्यापी रुपमा प्रचारप्रसार गरिनुपर्ने लगायतका सुझावहरु पनि पर्यटन मन्त्री भट्टराईलाई दिएका छन्।
चेम्वरले पर्यटन प्रबद्र्धनतर्फ ८ बुँदे र हवाई क्षेत्रतर्फ ८ बुदेगरी १६ बुदे माग मन्त्री समक्ष राखेका थिए। जवाफमा मन्त्री भट्टराईले सम्पूर्ण मागहरुको विस्तृत अध्ययन गरी सरकारले सक्नेजति काम गर्ने बताए।
Facebook Comment