सरकारविरुद्ध संघर्ष गर्ने विपक्षी दलहरुको चेतावनी
काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी सहित विपक्षी दलले सरकारकाविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा सोमबार भएको नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुको बैठकले सरकारले लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई कुल्चिदै सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्षमा पुग्दै, स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्ति विरुद्ध संघर्ष गर्ने बताएका छन् ।
बैठेकपछि संयुक्त जारी विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई कुल्चिदै यो सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको स्पष्ट छ । हामी यो प्रवृत्तिको घोर भत्र्सना गर्दछौं र यस किसिमको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्ति विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति ऐकतावद्ध भई संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं।’
सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई तहसनसह गरेको आरोप उनिहरुले लगाएका छन् । उनिहरुले भनेका छन, ‘सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई तहसनहस गरी अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सरकारको समेत संलग्नतामा सांसद डा. सुरेन्द्र यादव अपहरण काण्डले नेपाली जनता आक्रोशित भएका छन् । यस्ता अपराधिक कार्यको यो बैठक घोर भत्र्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कार्वाही अगाडि बढाउन माग गर्दछ।’
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विश्वप्रकाश शर्मा र राधेश्याम अधिकारी सहभागि रहेका थिए । यस्तै जनता समाजवादी पार्टी, नेपालबाट महन्थ ठाकुर, डा. वावुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, शरदसिंह भण्डारी, अशोक राई र राजेन्द्र श्रेष्ठ बैठकमा उपस्थित थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डा. प्रकाशचन्द्र लोहनीको सहभागिता रहेको थियो ।
Facebook Comment