मौसम सफा हुन अझै केही दिन लाग्ने

डिसी नेपाल
१६ वैशाख २०७७ ११:५२

काठमाडौँ । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा पश्चिमी वायु र स्थानीय वायु पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुका साथै बङ्गालको खाडी–अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले मेघगर्जनसहित वर्षा भइरहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए ।

उहाँका अनुसार नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रकृति हेर्दा अझै केही दिन मौसम सफा हुने अवस्था छैन। वायुमण्डलमा जलवाष्पयुक्त हावाको प्रवेश र दिउँसोको समयमा घाम नलागेकाले अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको मौसमविद्को भनाइ छ।

हाल देशको पश्चिमी तथा पूर्वी भूभागका साथै मध्य पहाडी भूभागमा सामान्य बदली भई एक–दुई स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

रातको समयमा देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

भोलि देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार देशभर सामान्य बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले औँल्याएको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम सात दशमलव पाँच डिग्री र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *