१ हजार ६ सय किलोमिटर पैदल हिँडेर घर पुगे, क्वारेन्टाइनमा बसेर कुरा गर्दै थिए अचानक…
काठमाडौं। लकडाउनको क्रममा पैदल लामो दूरी तय गरेर गाउँसम्म पुग्नेहरु धेरै देखिएका छन् । काठमाडौंबाटै पनि पैदल हिँडेर देशका विभिन्न स्थानसम्म मानिसहरु गइरहेका छन् । एक युवकले भने अनुमान गर्न सकिनेभन्दा धेरै दूरी पैदल नै तय गरे । उनले भारतको मुम्बइबाट पैदल हिँडेर नेपालको सीमा नजिकै उत्तर प्रदेशमा रहेको श्रावस्ती जिल्लास्थित आफ्नो घरसम्म आइपुगे । श्रावस्ती नेपाल भारत सीमानजिकै नेपालगञ्जबाट केही दूरीमा पर्छ ।
यस क्रममा ती युवकले १ हजार ६ सय किलोमिटर दूरी पैदल तय गरे । उनी आफ्नो गाउँसम्म पुगे जहाँ प्रशासनले उनलाई १४ दिनको लागि क्वारेन्टाइनमा राखिदियो । उनलाई गाउँकै उक स्कुलमा क्वारेन्टाइनमा राखिएको थियो । तर, क्वारेन्टाइनमा बस्न थालेको ६ घण्टामै ती युवकको रहस्यमय तरिकाले मृत्यु भएको छ । श्रावस्ती जिल्लाको मठखनवा गाउँमा सोमबार ती युवकको ज्यान गएको आज तकले लेखेको छ ।
ती युवक सोमबार बिहान ७ बजे गाउँ आइपुगेका थिए । दिउँसो करिब १ बजे कुरा गर्दागर्दै उनको मृत्यु भयो । क्वारेन्टाइन सेन्टरमा युवकको मृत्यु भएको खबरपछि त्यस क्षेत्रमा त्राको वातावरण बन्यो । स्वास्थ्य विभाग र पुलिस अधिकारी हतारहतार गाउँ पुगे जहाँ प्रोटोकल अनुसार उनको शव लिएर पोस्टमार्टमको लागि पठाइयो । शवको नजिक गएका परिवारका सदस्यलाई त्यही स्कुलमा क्वारेन्टाइनमा राखिएको छ ।
Facebook Comment