रुसले आफ्नै पेट्रोलियम भण्डारमा आगो लगाउने योजना किन बनाइरहेछ ?
काठमाडौं। पेट्रोलियम पदार्थको भण्डारलाई केही महिना अघिसम्म देशको मजबुती मानिन्थ्यो । तर, कोरोनाभाइरसको संकटले त्यही भण्डार केही देशको लागि कमजोरी बन्न पुगेको छ । विश्व्का अधिकांश देशमा कोरोनाभाइरसको रोकथामको लागि लकडाउन गरिएको छ जसका कारण पेट्रोलियमको खपनमा भारी गिरावट आएको छ । तेलको खपत रेकर्ड स्तरमा घटेपछि अधिकांश पेट्रोल उत्पादक देशका भण्डार भरिएका छन् । यस्तोमा अब तेल उत्पादक देशलाई यो तेल के गर्ने भन्ने समस्या सृजना भएको छ ।
रुस विश्वका अग्रणी तेल उत्पादक देशहरुमध्ये एक हो । समाचार एजेन्सी रोयटर्सले ४ सूत्रहरुको हवाला दिँदै लेखेअनुसार अब भने रुसले एक सम्झौताअनुसार केही दिनभित्र आफ्नो कूल उत्पादनमा २० प्रतिशत कटौती गर्नुपर्नेछ । उत्पादनमा भारी कटौती गर्नुपरेपछि अहिले रुपले तीन विकल्पमा विचार गरिरहेको समाचारमा जनाइएको छ । समाचारअनुसार रुसले अहिले तेलका इनारको मर्मत गर्ने, इनारहरुलाई लामो समयसम्म यत्तिकै छाडिदिने वा तेल उत्पादन गरेर खपन नभएमा त्यो तेल जलाउने विकल्पमा विचार गरिरहेको छ ।
ओपेक (अर्गनाइजेशन अफ पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिज) र गैर–ओपेक देशहरुसँग रुसले सम्झौता गरेको छ । सम्झौताअनुसार विश्वको कूल तेल आपूर्तिको १० प्रतिशत कटौती गरिनेछ ताकि विश्व बजारमा सन्तुलन कायम रहोस् । विश्व बजारको कूल आपूर्तिको १० प्रतिशत भनेको १ करोड ब्यारल प्रतिदिन हुन आउँछ जुन परिमाण पेट्रोल उत्पादक देशहरुले कटौती गर्नुपर्नेछ । यो सम्झौता अनुसार रुसले आफ्नो कूल तेल उत्पादनको २० प्रतिशत कटौती गर्नुपर्नेछ । सम्झौता यही मे १ अर्थात यही शुक्रबारदेखि लागू हुँदैछ ।
गत हप्ता रुसका ऊर्जामन्त्रीले ओपेक प्लस सम्झौताको लक्ष्य पूरा गर्नको लागि देशका तेल कम्पनीहरुलाई आफ्नो उत्पादन २० प्रतिशत घटाउन भनिसकेका छन् । सूत्रले रोयटर्सलाई बताएअनुसार कम्पनहिरु ती क्षेत्रमा ध्यान दिइरहेका छन् जहाँ पहिलेदेखि नै तेल उत्पादन घटिरहेको छ । लुकोइल नामको कम्पनीले प्रतिदिन १६ लाख ५० हजार ब्यारल तेल उत्पादन गर्छ । अब भने लुकोइलले आफ्ना केही तेल फिल्ड बन्द गर्ने योजना बनाइरहेको छ ।
रसनेफ्ट र गेजप्रमको संयुक्त परियोजना स्लाभनेफ्टले पनि पश्चिमी साइबेरियाको मेगानेफेटेज युनिटका केही फिल्ड बन्द गर्ने विचार गरिरहेको छ । तेल उद्योगसँग सम्बन्धित दुई अन्य सूत्रले रोयटर्सलाई बताएअनुसार कम उत्पादन क्षमताका तेल इनारहरु सबैभन्दा पहिले बन्द गरिन सक्छन् । यद्यपि तत्कालका लागि तेल आपूर्तिमा कमी ल्याउनको लागि यी इनारलाई अनिश्चितकालका लागि बन्द राख्नुको सट्टा मर्मतका लागि अस्थायी रुपमा मात्र बन्द गरिनेछ । तत्कालका लागि नयाँ पेट्रोलियम खानीको खोजीको लागि ड्रिलिङमा पनि रोक लगाइनेछ । तेल इनारहरुको मर्मत गर्दा कम्पनहिरुलाई आफ्नो उत्पादन क्षमता कायमै राख्न सहयोग मिल्नेछ ।
कम्पनीहरु लामो समयसम्म आफ्नो मुनाफा गुमाउन चाहँदैनन् । एक सूत्रले रोयटर्ससँग भन्यो ‘यो सत्य हो कि मागमा कमी आएको छ । तर यो तेल फिल्डमा ताला लगाउने कारण बन्न सक्दैन । कैयौं पटक यो राम्रो हुन्छ कि तपाइँ तेल उत्पादन जारी राख्नु् । यहाँसम्म कि त्यो तेल जलाउनु परे पनि जलाउनुस् । एक पटक तेल उत्पादन क्षमता रोकिएपछि फेरि त्यही अवस्थामा फर्किन कैयौं वर्ष लाग्छ । तपाइँलाई याद छ सोभियत संघमा एक पटक तेल उत्पादन क्षमता आधा घटाइएको थियो । त्यसपछि तेल उत्पादन क्षमता पुरानो अवस्थामा फर्किन पूरै एक दशक लागेको थियो ।’
विश्व्का कैयौं देशमा तेल भण्डारणको लागि ठाउँ बाँकी छैन । यस्तोमा तेलको आपूर्ति बढिरहेको छ तर माग नगण्य छ । यसको सीधा असर अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा परिरहेको छ । यही महिना अमेरिकामा तेलको मूल्य जीरोभन्दा तल पुगेको थियो । चीनमा कोरोनाभाइरस संक्रमणको बीच जनवरीमा सबै रिफाइनरीहरु बन्द भएपछि अहिलेसम्म विश्वभरका तेल भण्डार औसत रुपमा तीन चौथाइ भरिइसकेका छन् ।
Facebook Comment