पार्टीभित्रको विवाद समाधान उन्मुख : नविना लामा
काठमाडौं। सरकारले गत सोमबार दुई वटा अध्यादेश जारी गरेपछि उत्पन्न भएको नेकपाभित्रको विवाद समाधान उन्मुख भएको नेकपा नेतृ एवं सांसद नविना लामाले बताएकी छन्। पार्टीभित्रका शीर्ष नेताबीच नियमित भएको छलफल र भेटवार्तापछि पार्टी भित्र देखिएको विवाद समाधान उन्मुख भएको नेतृ लामाले बताइन्।
‘शीर्ष नेताहरु पनि नियमित वार्ता र छलफलमा हुनुहुन्छ, अहिले देखिएको विवादलाई समाधान गर्दै आगामी दिनमा सरकार र पार्टीबीच समन्वय गरेर जाने विषयमा शीर्ष नेताहरुबीच सहमति भएको छ,’ सांसद लामाले डिसी नेपालसँग भनिन्, ‘बाहिर हल्ला फैलिएजस्तो पार्टी अप्ठेरो अवस्थामा पुगेको सत्य होइन।’
उनले केही दिनभित्रै स्थायी कमिटी बैठक बस्ने र सबै विषयमा छलफल हुने बताइन्। शीर्ष नेताहरुले कार्यकर्तासँग पनि नियमित छलफलमा रहेको उल्लेख गर्दै उनले नेता कार्यकर्ताको भावनाको कदर गर्दै पार्टी एकढिक्का बनाएर लैजान नेताहरुबीच सहमति भएको उनले दाबी गरिन्।
मंगलबार प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच विगतमा भएका गलती कमजोरीलाई स्थायी कमिटी बैठकमा आत्मालोचना गर्ने र आगामी दिनमा पार्टी र सरकारबीच समन्वय गरेर जाने सहमति भएको छ। ‘तत्काल आत्मलोचना गर्ने र पछि सबैको जित हुने गरी नयाँ सहमति गरेर जाने विषयमा शीर्ष नेताबीच सहमति भएको बताइएको छ।
Facebook Comment