मनाइयो आद्य शङ्कराचार्य जयन्ती

डिसी नेपाल
१६ वैशाख २०७७ २२:१५

काठमाडौं । वैदिक सनातन धर्मको पुनःस्थापनामा महत्वपूर्ण योगदान दिएका आद्य शङ्कराचार्यको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मंगलबार देशभर मनाइएको छ ।

दक्षिण भारत मलाबार अञ्चलस्थित केरला प्रान्तको कालडी नामको गाउँमा शक संवत् ६०७ (सन् ६८६) वैशाख १२ गते वैशाख शुक्ल पञ्चमीका दिन पिता शिवगुरु र माता विशिष्टादेवीको गर्भबाट आद्य शङ्कराचार्यको जन्म भएको हो । बुढेसकालसम्म पनि सन्तान नभएपछि शिवगुरु र विशिष्टादेवीले भगवान् शिवको आराधना गरी पुत्र प्राप्त भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । ‘शङ्कर शङ्कराचार्यम्’ अर्थात् भगवान् शिव नै लुप्तप्राय ः अवस्थामा पुगेको वैदिक सनातन धर्मको पुनरुत्थानका लागि आद्य शङ्कराचार्यका रुपमा जन्म लिएको भन्ने विश्वास छ ।

वेदान्त विषयका प्रा डा दीर्घराज घिमिरे कुमारिल भट्टले शुरु गरेको वैदिक सनातन धर्मको पुनःस्थापनामा आद्य शङ्कराचार्यको महत्वपूर्ण योगदान रहेको बताउँछन् । १६ वर्षको मात्र आयु लिएर जन्मिएका आद्य शङ्कराचार्यले त्यस अवधिमा १० वटा उपनिषद्, ब्रह्मसूत्र, श्रीमद्भगवद्गीतालगायत ग्रन्थको व्यापक विवेचनसहित भाष्य गरेका थिए ।

भगवान् शङ्करले नै अर्को १६ वर्ष आयु थपिदिएपछि भाष्य गरिएका ग्रन्थ लगायत वैदिक सनातन धर्मका बारेमा भारतवर्षका कुना कुनामा व्याख्या गर्दै हिँडेका पनि घिमिरेले बताए । यसै क्रममा उनले वैदिक सनातन धर्म संरक्षणका लागि भारत वर्षको चार ठाउँमा चारवटा मठ स्थापना गरे ।

उनले स्थापना गरेका चारमठमा श्रृङ्गेरी, गोवद्र्धन, शारदा र ज्योतिर्मठ छन् । यी मठले क्रमशः यजुर्वेद, ऋग्वेद, सामवेद र अथर्ववेदको प्रतिनिधित्व गर्छन् । प्राचीन कालमा सबैतिर फैलिएको वैदिक सनातन धर्म सातौँ शताब्दीमा लुप्तप्रायः बनेको थियो । आद्य शङ्कराचार्यको योगदानको चर्चा गरी जन्मजयन्ती मनाइने गरिएको हो । यस अवसरमा प्रत्येक वर्ष पशुपतिस्थित शङ्कराचार्य मठमा गर्ने गरिएको कार्यक्रम यस वर्ष बन्दाबन्दीका कारण गर्न नसकिए पनि स्मरण भने गरिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण सार्वजनिक रुपमा कुनै कार्यक्रम नगरिए पनि विभिन्न मठ, पीठ एवं गुरुकुलमा आद्य शङ्कराचार्यले पु¥याएको योगदानका विषयमा चर्चा गरिएको जनाइएको छ । यसैगरी वैष्णव सम्प्रदायका जगद्गुरु रामानुजाचार्यको जन्मजयन्ती पनि मंगलबार देशभर विविध कार्यक्रम गरी मनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *