खलाँसी
“ड्राइभर दाइ खलाँसी भाइ, हाम्रो धेरै माया तिमीलाई, हाम्रो धेरै आदर तिमीलाई।” यो गीत पन्चायती ब्यवस्थाको समयमा विद्यार्थी रहेका र तत्कालीन व्यवस्था बिरोधी म जस्तै मेरो पुस्ताका लगभग सबैजनाले सुनीराखेको गीत थियो। भलै त्यो गीत तत्कालीन समयमा न त रेडियो नेपालमा बज्थ्यो न नेपाल टेलिभिजनमा नै देखाइन्थ्यो।
किनकी ब्यवस्था बिरोधीहरुले गाउने गीतको ट्याग त्यो गीतलाई लागिसकेको थियो। क्याम्पसका कार्यक्रमहरु, प्रशाशनको आँखा छल्दै गरिने सान्स्कृतिक कार्यक्रमहरु अनि द्यौसी भैलो मै सीमित भएपनि जनजीब्रोले क्याच गर्ने शब्द भएकोले एक प्रकारले त्यो गीत जनमानसमा लोकप्रिय भएरै स्थापित भैसकेको थियो।
मैले त्यो गीतलाई भिन्न भिन्न भूमिकामा अङ्गिकार गर्ने मौका पाएको छु। दर्शक/स्रोताको रुपमा, नाच्ने कलाकारको रुपमा अनि गाउने गायकको रुपमा पनि।
भलै यो गीतको ओरिजिनल गीतकार, सङीतकार को थिए भन्ने कुरो अहिले म भन्न सक्दिन। शायद मन्जुल, रामेश वा राल्फाका कोही कन्फर्म गरेको छैन।
अहिले पनि कहिले काँही सार्वजनिक सवारी चढेको बेला मानसपटलमा अनायासै त्यो गाना गुन्जिन अईपुग्छ। आज म कुरो गर्दैछु मैले बेला बखत सम्झिने गीतको पात्र अर्थात खलासीको। अली अली छुद्र बोली, अली अली पैसो लुकाउने बेइमान, अलिअली दूर्ब्यसनी आम रुपमा चिनिएको स्टेरोटाइप ब्यक्तित्व यही नै हो खलासी। तर मैले तिनीहरु भित्र एकप्रकारको बिचित्र प्रतिभा भेटेको छु। तार्किक प्रतिभा। आफ्नो गल्ती कहिले नदेख्ने, जती पनि हार्डलाइनर वा जती पनि फ्लेक्सिबल भै दिन सक्ने तर बाजी आफैँले मार्नुपर्ने।
मेरो बुझाइलाई पुष्टि गर्ने ३ वटा प्रसङ्गहरु यहाँ उल्लेख गर्नैपर्ने हुन्छ।
प्रसंग १
२०४२/४३ सालतिर मेरो घर धुम्बाराहीबाट मैले पढ्ने सिद्धार्थ बनस्थली क्याम्पस जाँदा मिनिबसको भाडा ३ सुका (अर्थात ७५ पैसा ) पर्थ्यो। एक रुपैयाँको नोट दिँदा फिर्ता पाउनुपर्ने एक सुका (अर्थात २५ पैसा ) को सट्टा एउटा खलाँसी दाइले एउटा चकलेट फिर्ता दिन थालेको थियो। ३ दिन पछी मैले पनि त्यही ३ वटा चकलेट बस भाडाको रुपमा तिर्न खोजेँ तर उसले ज्यान गए लिन मान्दै मानेनन्।
बसका अरु धेरै यात्रुले मेरो समर्थनमा हुटिङ्ग गरी रहँदा ऊ टसको मस भएन बरु सबैलाई पुग्ने गरी ठूलै स्वर निकालेर तर्क पेश गर्योे, ” वान वे भन्ने थाहा छैन?, जान मिल्ने आउन नमिल्ने। फिर्ता पैसाको साटो मात्र चकलेट दिन मिल्छ भाडा नै तिर्न त मिल्दैन नि कस्तो कुरो गर्नुहुन्छ? जैसा खाया वैसा आया फिर खाया गनाया जस्तो भएन? खुरुक्क न भाडाको पैसा दिनूस ” झगडा इन्फिनिटीसम्म तन्काउन मलाइ मन लागेन र अन्तत उसकै तर्क बिजयी भएको घोषणा गर्दै एक रुपैयाँको नोट दिएँ। तर त्यो बेला भने उसले चकलेट नभै एक सुकाको सिक्क नै फिर्ता गर्यो। खासमा त्यो चकलेट खुद्रामै किन्दा पनि एक रुपैयाँको ५/६ वटा आउन्थ्यो।
प्रसंग २
२०५२ सालतिर नयाँ सूट टाईमा ठाँट्टिएर जमल चोकमा भएको एउटा रेस्टुरेन्टमा लन्च गरेर सौफ चपाउँदै दृश्यावलोकन गर्दै आफ्नो अफिसतिर फर्कँदै गर्दा बाटोमा रोकिएको बसको ठीक सामुन्ने फूटपाथमा उभिएर खैनी माड्दै “बालाजु , बालाजु ” भन्दै आवाज दिई रहेको एउटा ठिटोले प्याच्च ठूलै लत्को थुक मेरो पाइन्टको देब्रे तिर ढुक्कले थुकिदियो।
यसरी भूलवस थुक्नेहरु र ठोकिनेहरुले भन्ने जस्तो “सरी” पनि भन्दैन, ऊ त मस्त छ, गल्ती गरेको कुनै भाव पनि छैन, भर्खरै लगाएको २ दिन पनि नभाको प्याइन्टको तिघ्रामाथि कै भागमा खैनीको छोक्रा थूक सहितको देखेपछि दिक्क लागेको मनमा बज्जियाले एक बचन सरी पनि नभनेको देखेर राम्रैगरी रीस पनि उठ्यो र भनें , “ए भाइ यसरी मान्छेको लुगामै थुक्न मिल्छ, अली हेरेर थुक्न पर्दैन?”
“तपाइँ कस्तो मान्छे?” ऊ त झनै मलाइ हकार्न पो थाल्यो। “मैले थुक्ने बेलामा तपाइँ किन मेरो अगाडि आ’को, अली हेरेर हिंड्नुपर्दैन?”
प्रोफेसनल मान्छे लन्च आवरमा सडकमा झगडा गर्ने परिस्थितिमा न भएकोले यो पटक पनि खलाँसीको तर्कको अगाडि हार स्विकार गर्दै लुसुक्क अघी बढ्नुको बिकल्प मसँग थिएन।
प्रसंग ३
२०६१ साल : कोहलपुर नेपालगन्ज चल्ने मिनिबसको मसँगैकाे सिटमा एउटा नेपालगन्जकै तर काठमाडौं बसेर पढ्ने भाइ थिए। अफिस टाइम थियो, लोकल स्कुल कलेज पढ्ने धेरै विद्यार्थी भाइ बहिनीहरु आ-आफूले पढ्ने संस्थाको ID कार्ड देखाउँदै मैले र मजस्तै गैर विद्यार्थी तिर्ने भाडा भन्दा छुट गरिएको दरको सस्तो भाडा बिना कुनै बिवाद तिर्दै थिए।
म छेउको भाइले पनि शंकरदेव क्याम्पसको एमबिएसको म्याद नगुज्रेको सबै हिसाबले सक्कली विद्यार्थी परिचय पत्र देखाए। खलासी भाइले कार्डभन्दा बढी त्यो पेसेन्जर भाइलाई हेर्यो अनि भन्यो, “तपाईंलाई छुट दिन मिल्दैन।”
“किन नमिल्ने? ” यात्रीले प्रश्न गर्यो।
“तपाईंको यो ID कार्ड होइन, यसमा त परिचयपत्र लेख्या छ।” छेउमै बसेको मलाई खसखस भएर आयो अनि बोलेँ, “अङ्रेजीमा ID कार्ड भनेकै नेपालीमा परिचयपत्र हो”
खलाँसी भाइले मलाइ खाउँला जस्तै गरी आँखा तरेर ठूलो आवाजमा तर्क दियो , ” अंग्रेजी जान्ने भए म पनि तपाईं जस्तै हाकिम हुन्थें नि नजानेको भएर पो खलाँसी भको त।” उसले फैसला सुनायो, “यो कार्डमा छुट हुँदैन।”
यस पटक आर्को एउटा पात्र पनि खलाँसीको तर्कको अगाडि पराजित भएको देख्न पाइयो। यसरी मैले अनुभव गर्नुभन्दा अघी बुझेको खलाँसीको श्रमजीवी इमेज र आमरुपमा बुझ्ने गरिएको बेसोमती, बेइमानी वाला इमेज भन्दा फरक इमेज भएका र लुकेका तर्कशाली प्रतिभा भएका खलासी देखे पछि मलाइ उनीहरुको बारेमा अझ उत्सुकता जाग्न थाल्यो।
आम रुपमा पढाइमा कमजोर, पढेका सर्टिफिकेटधारी पनि कि सर्टिफिकेटै नक्कली भएका, कि चिट चोर्न सिद्द हस्त भएका, देखिने इलम केही नभएका पार्टीका कमिटीमा भए पनि नभए पनि सबै नेताको घर देखेका, बिहान बेलुकी नेताकै निवासमा हाजिर लगाउने, मूल काम बिचौलियाको, नेता र व्यापारी, गुण्डा तस्कर आदिको र नेताकाबीचमा सम्पर्क सूत्रको काम गर्ने राजनीतिक खलाँसी हुन्
विभिन्न आर्थिक सामाजिक कारणले त्यस प्रकारको व्यक्तित्त्व निर्माण हुँदो रैछ भन्ने बुझियो। ड्राइभर नै यिनीहरुको पालनहार, रोल मोडेल अनी भविष्यको एकमात्र लक्ष हुनु, सार्है कम ज्यालामा उत्पीडनयुक्त अतिरिक्त श्रम गर्नुपर्दा अलिअली पैसो लुकाउने बानी पर्नु, ड्राइभरले जुन मात्रामा उनीहरुको सार्वजनिक मानमर्दन गर्छ त्यति नै मात्रामा यात्रुहरुसँग भडास निकाल्नु स्वाभाविक नै हुँदो रैछ।
खलाँसीको क्यारियर प्लानिङ भने निकै सरल र स्पष्ट हुँदोरैछ। उमेर नपुगिन्जेल खलाँसी (कन्डक्टर र क्लिनर दुबैको काम गर्ने) हुने, त्यसपछि ड्राइभिङ्ग लाइसेन्स लिने र ड्राइभर बन्ने, त्यसपछि बस किनेर बस मालिक बन्ने अनि सिन्डिकेटको पदाधिकारी हुने। आज मैले कुरो गर्न खोजेको चैं खलासी पात्रको भन्दापनि खलासी प्रवृत्तिकाे हाे, जुन यातायात क्षेत्रमा मात्र नभै अन्य क्षेत्रमा झन ब्यापक छ। ती मध्येका केही यस्ता छन् :-
१. कर्पोरेट खलाँसी: सिधा र सरल क्यारियर प्लान भएका, गुणवेत्तामा जिरो, कार्यसम्पादन औसतभन्दा काम तर बढुवा छिट्टै पड्काउने, लक्ष हासिल गर्न बसको खलासीले जस्तै गुरुजी अर्थात हाकिमको व्यक्तिगत चाकडीमा बल गर्ने, गुरुजीको अगाडि स्वाभिमान बिर्सने, पछि क्यारियर ग्रोथ भएर स्टेयेरिङ हातमा आएपछि दूर्घटना गराउने र साहूको पैसा चुना लगाउने ड्राइभरजस्तै संस्थाको हितलाई नहेर्ने।
आफूलाई मात्र पोस्ने, उपलब्धी भयो भने जस सप्पै आफैं लिने। भएन भने आफूभन्दा मुनीकालाई दोष दिने वा समयलाई दोष दिने। मुनीकाको मानमर्दन गर्न रुची राख्ने, “अनेस्टी इज द बेस्ट पोलिसी” नभै “अनेस्टी वाज द बेस्ट पोलिसी” भन्नेमा विश्वाश गर्ने, आफू जसरी चाकडीबाट माथि उठ्यो त्यस्तै चाकडीबाज आफ्नो ओरिपरी होस् भन्ने चाहना राख्ने, बाहिरी आवरण र औकात ठूलो देखिए पनि आफूभित्र हीन मनोग्रन्थीको शिकार हुने। शक्तिशाली देखिन साँचैका प्रोफेसनलहरुमाथि अत्याचार गरेर आत्मतुष्टी लिने हुन्छन्।
व्यबस्थापकीय बैठकहरुमा आउट अफ द बक्स नयाँ कुरो दिन सक्ने त कुरै भएन। हिन्दीको एउटा उखान “बन्दर जितना भि बडा हो, गुलाटी मारना नहिं भूलता ” भने जस्तै झिना मसिना माइक्रो म्यनेजमेन्टमै रुची राख्छन र त्यही स्तरका अनौठा निर्णय गर्न पुग्छन्।
जस्तै : “कार्यालयको एयर कन्डिसन बिग्रन देउ। मर्मत नगर, यसो गरेर मर्मत सम्भार खर्च मात्र जोगिने होइन, बनेको भए चलाउँदा जुन बिजुली खर्च हुन्थ्यो, त्यो पनि जोगिन्छ।” ” कर्मचारीहरुलाइ दूध हालेको चिया नखुवाउ, कालो चिया खायो भने खर्च पनि बच्ने र स्वास्थ्य पनि राम्रो हुने हुन्छ।” “अहिले कोरोना लकडाउन जती दिन हुन्छ त्यती नै दिन कर्मचारीको बिदा कटाइदिनू ” आदी आदी।
अनी ताली ठोक्ने र हुकुम तामेली गर्न तयार सेकेन्ड लाइन खलासीहरुको बिचमा प्रतिस्पर्धा चल्छ।
२. राजनैतिक खलाँसी : आम रुपमा पढाइमा कमजोर, पढेका सर्टिफिकेटधारी पनि कि सर्टिफिकेटै नक्कली भएका, कि चिट चोर्न सिद्द हस्त भएका, देखिने इलम केही नभएका पार्टीका कमिटीमा भए पनि नभए पनि सबै नेताको घर देखेका, बिहान बेलुकी नेताकै निवासमा हाजिर लगाउने, मूल काम बिचौलियाको, नेता र व्यापारी, गुण्डा तस्कर आदिको र नेताकाबीचमा सम्पर्क सूत्रको काम गर्ने, जागिरे भए कामचोर हुने, ट्रेड यूनियनमा पद लिन मरिमेट्ने तर ट्रेड यूनियनले के गर्नुपर्छ भन्ने आधारभूत ज्ञान नहुने, कर्मचारी भर्ना सरुवा बढुवामा अनावश्यक चासो र च्याँखे थाप्ने, मर्मत सम्भार, मसलन्द आदिको ठेक्क पट्टामा अनावश्यक रुची राख्ने, समग्रमा जुन बर्गको प्रतिनिधि देखिन्छन तिनीहरुको भन्दा अर्कै बर्गको अनि आफ्नाे मात्र हित हेर्ने।
सरकारी स्कुलका शिक्षक जो आफू स्थायी दरबन्दीमा हुन्छन् तर कहिल्यै पढाउन भनेर स्कुलमा जाँदैनन्, खेताला शिक्षक राख्छन, जग्गा दलाली गर्न जिल्ला सदरमुकाम र राजनीति गर्न राजधानी ओहोर दोहोर गर्छन्। प्रत्येक ४ महिनामा चौमासिक तलब बुझ्न मात्र स्कुलमा हाजिर हुन्छन् र थोकमा ४ महिनाको हाजीर एक घण्टा भित्रै अपडेट गरी भ्याउँछन्। आफूले लगानी गरेर बोर्डिङ स्कूल खोल्छन् तर आफ्ना बच्चाहरुलाई न त आफूले तलब खाने स्कूलमा भर्ना गर्छन् न त आफूले खोलेको निजी स्कूलमा, बरु राजधानीको महङ्गा स्कूलमा भर्ना गरेका हुन्छन्।
माथि बखान गरिएका दुबै थरीमा बेजोडको तर्क क्षमता हुन्छ र स्व-प्रशंसामा कसैले जित्न नसक्ने प्रतिभा हुन्छ, गजबको आलोचनात्मक चेत हुन्छ जुन आफूलाई फाईदा नदिनेहरुका बिरुद्ध जुन सुकै बेला जुनसुकै माध्यमबाट चलायमान हुन्छ। आजकाल सामाजिक संजालहरुमा बग्रेल्ती देखिने कुनै न कुनै गुटका डिफेन्डर हनुमानहरु यसका समकालिन नमूनाहरु हुन्।
बाल श्रमको बन्धनमा परेको, न्युन ज्यालामा बाँच्न बाध्य बसको खलाँसीमा रहने केही नकरात्मक गुणहरुले समग्र समाजलाई माइक्रो लेभलमा त्यती ठूलो असर पर्दैन जति यी कर्पोरेट र पोलिटिकल खलासीहरुबाट पर्छ। अत: यी नन खलासी पेसाका खलासीहरुबाट होसियार रहँदै यिनीहरुलाई सुधार्न सुशासनको संस्कार स्थापित गर्न आवश्यक छ। नत्र देश र समाजलाई यिनीहरुले थोत्रो मिनिबस बनाएरै छोड्छन्।
यिनीहरु सुध्रिए फेरि पनि जुग जुगान्तरसम्म गाउन मन लाग्नेछ। “ड्राइभर दाई खलाँसी भाई, हाम्रो धेरै माया तिमीलाई, हाम्रो धेरै आदर तिमीलाई। “
sampadak jyu le ali laparbahi gareko dekhiyo, “macro level” lai “micro level” lekhnu bhayechha, sachyaunu hola