लकडाउन: एक चुनौती कि अवसर ?

डिसी नेपाल
१७ वैशाख २०७७ ९:३३

कोरोना भाईरस कोभिड १९ स्वास्थ महामारी पश्चात सिर्जना भएको आपतकालीन लक डाउन हाम्रा लागि एक अबसर अनि चुनौती दुवै हुन् सक्छ । सन् २०१९ को डिसेम्बर महिनामा चीनको बुहान प्रान्तको हुबे सहरबाट फैलन सुरु गरेको नोबेल कोरोना भाइरस (कोभिड-१९) बाट हालसम्म ३० लाखभन्दा धेरै संक्रमित भैसकेका छन् भने २ लाखभन्दा बढीको मृत्यु भैसकेको छ । पहिले चीनमात्र प्रभावित रहेको यस भाइरसलाई अहिले विश्व स्वास्थ्य संगठनले स्वास्थ्य महामारीको संज्ञा दिएको छ जसले इटाली, स्पेन, फ्रान्स, वेलायत, जर्मनी लगायतको युरोपेली शक्तिराष्ट्रहरुका साथै अमेरिकामा बिकराल रुप लिदै गएको छ।

अहिले कोरोना भाइरसको रोकथाम र नियन्त्रण संसारको लागि नै एउटा चुनौती भएको छ। संक्रमण पत्ता लागेको र जोखिममा रहेको करिबकरिब सबै मुलुकहरुले यो संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नबाट रोक्नको लागि अनेकौं उपायहरु अबलम्बन गरिरहेका छन् । जसमध्धे सामाजिक दुरी कायम राख्नका लागि गरिएको आव्हान र लकडाउन मुख्यतया अपनाइएका उपायहरु हुन् । लकडाउनको नकारात्मक पक्ष र सकारात्मक पक्षहरु छन् ।

स्वन्त्रतामाथि बन्देज

मानव स्वभावले नै स्वतन्त्रता प्रेमी प्राणी हो। बसन्त ऋतु को आगमन संगै दैनिक तापक्रम वृद्धि हुँदै गैरहेको छ। गर्मीको मौसममा सामुन्द्रिक तटहरुमा मान्छेहरुको चहलपहल बढछ। तर कोरोनाको कहर र लकडाउनको कारणले समुन्द्र किनारहरू पनि सुनसान छन्। डिस्को जाने, साथीभाईसंग घुमफिर गर्ने, बारमा बसेर गफिंदै बियरको चुस्की लिनेहरुको भिडले आधारातसम्म पनि जिवन्त देखिने पेरिस सहरपनि सुनसान छ आजभोलि। कोरोनाको कहर र सरकारले लगाएको लकडाउनको कारण मानिसहरुले आफुले चाहेको तरिकाले जिउन पाएका छैनन् ।उनीहरुको व्यक्तिगत स्वतन्त्रता खुम्चिएको छ ।

मानसिक तनाब र बैराग्यता

कोरोना संक्रमण रोक्न सरकारले लागु गरेको लकडाउन पालन गर्नु सबै जिम्मेवार नागरिकको कर्तब्य हो तर यसरि दैनिक जीवनभन्दा भिन्न र घरभित्रै बस्दा हामी मानसिक रुपमा भने खतरामा पर्न सक्छौ । घरभित्रै बस्नुपर्ने बाध्यता र दैनिक एउतै कार्यतालिकाको कारण हामीमा नैराश्यता, तनाब, किचकिचाहट जस्तो समस्या आउन सक्ने मनोबिज्ञहरु बताउछन् । यसले गर्दा घरायसी झैझगडा, आपसी बैमनश्यता, केटाकेटीसंग झर्कने जस्ता घटनाहरु घटना सक्छन जसले कोरोनाको कहरपछि पनि हाम्रो व्यक्तिगत, पारिवारिक साथै सामाजिक जीवनमा नकारात्मक प्रभाव पर्दछ।

यसका अलावा दैनिक ज्यालादारी गर्ने मजदुरहरु लकडाउनको कारणले हातमुख जोड्न समेत नसक्ने अवस्थामा पुगेका खबरहरु दिनहुँजस्तो समाचारमाध्यमहरुमा आइरहेका छन्। खानेबस्ने समस्याका कारण राजधानीबाट पैदल घर फर्कनेको भिडले पाएको बेदनाको कथाहरु छुटै छन्। यी र यस्ता अनेकौं व्यथाहरुलाई थाति राख्दै कोरोना र विशेषगरी लकडाउनको समयलाई कसरि रचनात्मक र उपलब्धिमुलक बनाउन सकिन्छ भन्ने कुरामा जोड दिन चाहन्छु।

पारिवारिक सम्बन्ध प्रगाढताको अवसर

यस लकडाउनको समयलाई उचित तरिकाले उपयोग गर्न सकेको खण्डमा यसले हामीलाई अझ सक्रिय, सामाजिक, जिम्मेवार बन्न सहयोग गर्ने कुरामा दुईमत छैन। दैनिक कार्यव्यस्तताका कारण आफ्नो बालबालिकालाई समय दिन नसकेका अभिभावकको लागि यो समय उनीहरुबीचको सम्बन्ध प्रगाढ बनाउने समय हुन सक्दछ। यो समयमा आफ्नो साना बालबालिका संग बस्ने, खेल्ने, उनीहरुको रुचि अनुसारको रचनात्मक कामहरु गर्न हौसला दिने, उनीहरुको कामको प्रशंसा गर्ने गर्दा अभिभावक र बालबालिकाको सम्बन्ध अझ प्रगाढ बन्न सक्दछ।

आफ्ना बालबालिकालाई चित्र बनाउन, फोटो फ्रेमहरु बनाउन कविता लेख्नका साथै अन्य यस्तै रचनात्मक क्रियाकलापमा संलग्न गराउन सके उनीहरुले बौद्धिक बिकासमा सहयोगी सिद्ध हुन सक्छ । त्यस्तै, किसोरवास्थामा प्रवेश गर्दै गरेका सन्तानहरु छन् भने उनीहरुसंग भावनात्मक कुराहरु गर्ने, आफ्ना किशोरावस्थाका अनुभवहरु सुनाएर उनीहरुलाई संयमित हुन अभिप्रेरित गर्दा उनीहरुले गलत बाटो रोज्ने खतरा पनि कम हुन्छ र साथै उनीहरुको आफ्नो अभिभावकप्रतिको व्यवहार पनि परिवर्तन हुन सक्दछ।

आफ्नो अभिरुचिको उत्खनन गर्ने अवसर

व्यस्थ जीवन, पेशागत तनावले गर्दा मानिसको जिवानशैली एक रोबोट झैँ भएको छ। बिद्यार्थी जिवनमा पढाई, कामको बोझ र परिवारको लागि समय दिंदा मान्छेले आफ्नो लागि समय दिन सकेको छैन। हाम्रो यस्तो व्यस्थ जिवनमा यो लक डाउनले हामीलाई आफ्नो अभिरुचिको क्षेत्र पहिचान गर्न एउटा महत्वपुर्ण अवसर दिएको छ। यसरि यो फुर्सदिलो समयमा आफुलाई मनपर्ने विधामा तल्लिन गर्न सके एकोहोरो काम गर्दाको थकान पनि कम हुन्छ र साथै आफुलाई आफ्नो रुचिको क्षेत्रमा नै निपुर्ण बनाउन सके भविष्यमा आफ्नो रुचिलाई नै आफ्नो पेशा बनाउन सकिन्छ। आफ्नो पेशा र अभिरुचिको क्षेत्र उही हुँदा हामोले आफ्नो काममा अझै प्रगति गर्न सक्दछौं।

सरल जीवनको कला सिक्ने अवसर

यो लकडाउनले हामीलाई सरल जीवन बाच्न सिकाएको छ भन्दा अन्युक्ति नहोला । मान्छेले जीवनभरी मेहेनत गरेर किनेको गाडी आज प्रयोगविहीन भएको छ। हरेक हप्ता नयाँनयाँ रेस्टुराँ जाने, चलचित्र हेर्न जाने, बार डिस्को रात्रिक्लब जाने बानि परेको आजको पुस्तालाई घरभित्रै पनि जीवनयापन गर्न सकिन्छ भनेर सिकाएको छ। यसले हामीलाई खाना नफाल्ने, संचय गर्ने, मितव्ययी हुने, घरमा भएको सामानहरुको सकेसम्म प्रयोग गर्ने जस्ता जिवनउपयोगी कला सिक्ने महत्वपुर्ण अवसर दिएको छ।

अध्यात्मिक चिन्तन गर्ने अवसर

बढदो आधुनिकीकरण र परिवर्तनशील समाजमा आफुलाई समायोजन गर्न हामि सबैको जीवन व्यस्थ छ। बिहानको उठेदेखि राति नसुतेसम्म हामी सामाजिक, शैक्षिक, आर्थिक वा कुनै न कुनै कारण व्यस्थ हुन्छौं। यस्तो व्यस्तताका कारण हामीलाई सधैं नै एक किसिमको मानसिक बोझ हुन्छ। हामीले दैनिक ध्यान, योग गर्न सकेमा यस्तो मानसिक बोझ कम हुन्छ र हामी फेरिपनि बौद्धिक रुपमा तन्दरुस्त हुन सक्दछौं। दैनिक रुपमा योग र ध्यान गर्दा जीवन र अध्यात्म लाइ अझ बुझ्ने गर्न सकिन्छ। यो लकडाउनमा हामीसंग पर्याप्त फुर्सदिलो समय भएकाले आफुलाई ध्यान गर्ने बानि बसाल्न र अध्यात्मिक चिन्तन गर्न यो एउटा महत्वपुर्ण अवसर हुन सक्दछ।

पर्यावरणमा सुधार

आज संसारका अधिकांस मान्छे आफ्नो घरभित्र बसेको छ। ठुलाठुला कलकारखाना, जेट बिमानहरु, प्रकाशको बेग झैँ कुद्ने रेलहरु, सडकमा लामबद्ध देखिने गाडीहरु, समुद्रमा यत्रतत्र हुने भिमकाय जहाजहरु आज सबै आराम गरिरहेका छन्। गाडीको आवाज र धुवाँ धुलोले दिक्क बनाउने काठमान्डूको वातावरण पनि मनमोहक भएको छ आज। शहर शान्त अनि सुन्दर देखिएको छ। काठमान्डूबाट सुन्दर हिमालहरु देखिन थालेका छन् जुन त्यहाको प्रदुषणको कारणले छेकिएको थियो। कोरोनाको यो कहरको कारण जल, जमिन, जंगल, वायु समग्रमा वातावरण प्रदुषण कम भएको छ। ओजोन तहमा केहि सुधार आएको र संसारकै बाताबरण राम्रो हुदै गएको बिशेषज्ञहरुले बताउदै आएका छन्।

लकडाउनको समय स्वतन्त्र र स्वच्छिक रुपले बाच्ने बानि परेको मानव जातिको लागि एउटा कठिन समय हो। तर यो समयमा हामीले आफुलाई मन पर्ने वा पढ्न रुचि भएको पुस्तकहरु पढ्ने, करेसामा काम गर्ने, अनलाइन विभिन्न कोर्सहरू गर्ने गरेर आफुलाई व्यस्थ बनाउन सक्दछौं । साथै आफ्ना पुराना साथीहरुसंग सम्पर्क पुनर्स्थापित गर्न पनि यो एउटा अवसर हुन सक्दछ। कथा कविता लेख्ने, चित्र बनाउने, घर वरपर सरसफाई गर्ने, घरको टुटेफुटेका सामानहरु मर्मत गर्ने, उपलब्ध श्रोत र साधन प्रयोग गरेर नयाँ केहि बनाउने प्रयास गर्नको लागि लकडाउन एउटा महत्वपुर्ण अवसर हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *