चीनका वैज्ञानिकको खुलासा – ‘कोरोनाभाइरस कहिल्यै पनि जरैदेखि समाप्त हुँदैन’
काठमाडौं। चीनका वैज्ञानिकहरुले कोरोनाभाइरस कहिल्यै पनि जरैदेखि समाप्त नहुने बताएका छन् । वैज्ञानिकहरुको यो दावीसँगै फ्लु फैलिने मौसममा यो भाइरस फेरि फैलिने दावीलाई बल पुगेको छ । चीनका भाइरल र मेडिकल शोधकर्ताहरुको एक टिमले यो भाइरस १७ वर्ष पहिले आएको सार्सजस्तो समाप्त हुने भाइरस नभएको बताएको द हिलको रिपोर्टमा उल्लेख छ ।
यो टिमले लक्षण नदेखिने संक्रमितहरुले कोरोनाको खतरालाई बढाइरहेको बताएका छन् । यी एसिम्प्टोम्याटिक संक्रमितहरुले अन्जानमै भाइरस फैलाउने भएकोले यसको नियन्त्रणको प्रयासमा यता संक्रमितहरुका कारण बाधा पुग्न सक्ने शोधकर्ताको दावी छ । सार्सको हकमा भने यस्तो थिउन । सार्स संक्रमण भएपछि संक्रमित गम्भीर बिरामी हुन्थे र एकपटक क्वारेन्टाइन भएपछि सार्स फैलिन बन्द हुन्थ्यो ।
कोरोनाको महामारीमाथि नियन्त्रण गरिसक्दा पनि चीनमा हरेक दिन एसिम्प्टोम्याटिक संक्रमितका दर्जनौं केस आइरहेका छन् । चाइनिज एकेडेमी फर मेडिकल साइन्सेजको प्याथोजन बायोलोजीका निर्देशक जिन क्युइले भने ‘यो यस्तो महामारी बन्न सक्छ जो मानवको साथमा लामो समयसम्म रहनेछ । मौसमको हिसाबले बदलिनेछ र शरीरमा कायमै रहनेछ ।’ विश्वभरका शोधकर्ताहरु र सरकारहरुबीच यो कुरामा आम सहमति बनिरहेको छ कि लकडाउन गरेर पनि तत्काल यो भाइरस समाप्त गर्ने कुनै सम्भावना छैन ।
लकडाउनका कारण पूरै विश्वको अर्थव्यवस्था रोकिएको छ । अमेरिकाका नेशनल इन्ष्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजका निर्देशक एन्थोनी फाउसीले पनि गत महिना कोरोना मौसमी महामारी बन्न सक्ने चेतावनी दिएका थिए । उनले दक्षिणी गोलाद्र्धमा अहिले चिसो मौसम सुरु भएको र त्यहाँ कोरोना संक्रमणका केसहरु बढिरहेको बताउँदै यसको सम्भावित जोखिम औंल्याएका थिए । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित केहीले उत्तरी गोलाद्र्धमा तापमान बढेसँगै यसको प्रकोप कम हुने आशा व्यक्त गरेका थिए तर चिनियाँ वैज्ञानिकहरुले भने यसको कुनै सबुत अहिलेसम्म नभेटिएको बताएका छन् ।
पेकिंग युनिभर्सिटीको फर्स्ट हस्पिटलका संक्रामक रोग विभागका प्रमुख वांग गुइकियांगले भने ‘भाइरस गर्मीमा कमजोर हुन सक्छ तर त्यतिबेला मात्र जब यो ३० मिनेटको लागि ५६ डिग्रीमा एक्सपोज हुन्छ । तर मौसम कहिल्यै पनि यति तातो हुनेवाला छैन ।’ गुइकियांगले अगाडि भने ‘विश्वभर गर्मीको मौसममा पनि कोरोनाभाइरसका केसहरुमा कमी आउने सम्भावना अत्यन्तै न्यून छ ।’ यो विश्वव्यापी महामारीबाट ३० लाखभन्दा धेरै संक्रमित भइसकेका छन् । २ लाख १० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।
Facebook Comment