माहाबुका चार स्थानमा सीमानाकाबन्द

दैलेख । जिल्लाकै विकट गाउँपालिका मानिने महाबु गाउँपालिकाले कोरोना सङ्क्रमणबाट जोगिन आफ्नो पालिकाभित्र प्रवेश गर्ने चार स्थानका सीमानाका एक महिनादेखि बन्द गरेको छ । अतिआवश्यक कामबाहेक आवतजावत रोक्नुका साथै जिल्ला बाहिरबाट आएका व्यक्तिको सीमानाका क्षेत्र ताराघाट, घोडामच्चे, जलजले, गीताचौरलगायत स्थानमा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य जाँच गर्दै आएको छ । जनतामा जनचेतना अभियानलाई प्रभावकारी बनाएको छ ।
आवश्यक काममा वडाध्यक्षको सिफारिश अनिवार्य गरिएको छ । त्यसबाहेक कसैले पनि ओहोरदोहोर गर्न पाएका छैनन् । बाहिरबाट आएकाको स्वास्थ्य जाँच गरी होम क्वारेन्टाइनमा पठाउने काम पनि भएको छ । मजदुरी गर्न भारत जानुपर्ने त्यहाँका अधिकांश मानिसलाई बाध्यता छ । भारतबाट आएकालाई १४ दिन क्वारेन्टाइनको बसाइ पूरा गरेर पायक पर्ने ठाउँमा स्वास्थ्यकर्मी निगारानीमा घरमै बस्न भनिएको छ ।
पालिकाको तर्फबाट सुर्खेत जिल्लाको सिमाना गुराँसेमा हेल्प डेस्क स्थापना गरेर जाँच गरिएको स्वास्थ्य शाखा प्रमुख रमेश दशौदीले जानकारी दिए । गाउँपालिकाभित्रका विभिन्न कामले जिल्ला बाहिर अलपत्र परेका नागरिकको उद्धार गर्ने कामलाई पनि गाउँपालिकाले तीव्रता दिएको छ । लकडाउन अवधिभर महावुले करिब ४ सय ५० भन्दा बढी नागरिकलाई घर ल्याइएको छ । बाँकी अलपत्र नागरिकको उद्धारमा गाउँपालिका लागि परिरहेको छ । गाउँपालिकाले विपद् कोषका लागि ५० लाख रकम विनियोजन गरी कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक अभियानसमेत सञ्चालन गरेको छ ।
महावु गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाहीले विनियोजित रकममध्ये क्वारेन्टाइन निर्माण, औषधि खरिद, स्वास्थ्यकर्मीलाई आवश्यक सामग्रीलगायतमा खर्च गरेको जानकारी दिए । उनले दुई हजार ७ सय घरपरिवार गरिब, असाहायको तथ्याङ्क सङ्कलन गरेर आर्थिक अवस्था कमजोर भएका गाउँपालिकाका एक हजार ५ सय परिवारलाई राहत वितरण गरिसकिएको बताए ।
कोरोना सङ्क्रमणबाट जोगिनका लागि पालिकाभरि ६० कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवकसँगै निर्वाचित जनप्रतिनिधि पनि निरन्तर काममा खटिएको गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी बुढाले बताइन्। सामाजिक सेवा केन्द्र सोसेकले १५ घरधुरीलाई राहत दिएको अरू सबै गाउँपालिकाकै रकमबाट राहत वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले बताए । औषधि र स्वास्थ्य सामग्री गरेर १० लाख रकम खर्च भएको मल्लको भनार्इछ।
“गाउँपालिकाका नौ सामुदायिक स्वास्थ्य संस्थाबाट जनतालाई स्वास्थ्य सेवा प्रदान गरेका छौँ । सुरक्षा निकायको भूमिका पनि महत्वपूर्ण रहेको छ”, गाउँपालिकाका अधिकृत भक्तबहादुर मल्लले भने, “सबै स्थानमा स्वास्थ्य सामग्रीको व्यवस्थापन गरेका छौँ, एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ । गाउँपालिकाले ९० श्ययाको क्वारेन्टाइन र ११ श्ययाको आइसोलेसनकक्ष तयार गरेको सूचना प्रविधि अधिकृत टीका रोकायले जानकारी दिए। गाउँपालिकाका जनताको व्यक्तिगत सरसफाइका लागि एक व्यक्ति एक मास्क, एक घर एक साबुन अभियान थालिएको छ । भारत वा तेस्रो मुलुकबाट आएकामध्ये ४४ जनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ ।
Facebook Comment