‘लकडाउन अवधिभर उपत्यका आउने/जाने नगरौँ’
काठमाडाैं। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पछिल्लो समय काठमाडौँ उपत्यका आउने र जाने नागरिकको सङ्ख्या बढिरहेकाले त्यसो नगरी जहाँ छौँ त्यही बसी लकडाउनको पालना गर्न आग्रह गरेका छन्।
विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण पछिल्लो समय नेपालमा पनि बढ्दै गइरहेकाले प्रमुख शाक्यले सबैसँग यस किसिमको आग्रह गरेका हुन्। शाक्यले लकडाउन जारी र सङ्क्रमण फैलिरहेकै समयमा काठमाडौँ उपत्यकाका मजदुर–विद्यार्थीलगायतलाई धमाधम गाउँ फर्काउन थालेको र बाहिरबाट पनि काठमाडौँ पठाउने गरेकोप्रति सङ्केत गर्दै प्रमुख शाक्यले यस्तो आग्रह गरेका हुन्।
प्रमुख शाक्यले सबै जिल्ला र स्थानीय तहले उपत्यकाबाट आफ्ना नागरिक लैजाने र जिल्लाका नागरिकलाई पनि धमाधम पठाउने होडबाजी गर्ने हो भने लकडाउनको पालना नहुने र त्यसले थप समस्या सिर्जना हुने भन्दै त्यसो नगर्न आग्रह गरे।
“पछिल्लो समय दर्जनौँ गाडीमा धमाधम गाउँ फर्काउन थालेको र बाहिरबाट पनि धमाधम काठमाडौँभित्र नागरिक पठाएका समाचार सञ्चारमाध्ययमबाट निरन्तर आउन थालेका छन् ।” उनले भने, “विश्वमै महामारीका रुपमा फैलिएको कोरोनाको सङ्क्रमणलाई रोकथाम र नियन्त्रणका लागि हामी सबै नेपाली एकजुट हुनुपर्छ। यसका लागि पनि लकडाउनको सबैले पूर्ण पालना गर्नुको अर्को विकल्प छैन।”
लकडाउन शुरु भएपछि कामपाले अतिविपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई अहिलेसम्म ७४ हजारलाई राहत वितरण गरिएको र यस अवधिमा महानगरबाट ४९ हजारभन्दा बढी प्लेट खाना खुवाएको जानकारी दिएको छ। कोही भोकै परेको जानकारी सञ्चारमाध्ययमका साथी र अन्यले पनि थाहा पाएमा उपत्यकाका जनप्रतिनिधि वा टोल फ्री नं ११८० र ११३१ मा जानकारी दिन पनि कामपाले आग्रह गरेको छ। रासस
Facebook Comment