जलविद्युत आयोजनाका निर्माण अवधि थप्न माग
काठमाडौं । जलविद्युत आयोजनाका संचालकहरुले आयोजना निर्माण अवधि थप्न माग गरेका छन् । कोरोनाको कारण सबै जलविद्युत आयोजनाको काम ठप्प हुँदा आयोजनाहरुमा समस्या परेको भन्दै निर्माण हुन लागेका आयोजनाहरुको हकमा वित्तिय व्यवस्थापनको लागि दुई बर्ष र निर्माण सम्पन्न हुन लागेका आयोजनाहरुलाई विना सर्त उत्पादन मिति थप्न माग गरेका हुन् ।
स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) ले विहिबार उर्जामन्त्री बर्षमान पुनलाई भेटेर सहूलियत मागेका हुन् । उनीहरुले बैंकबाट लिएको ऋणमा २ वर्षसम्म छ प्रतिशत स्थिर ब्याज कायम गरिदिने, जलविद्युत आयोजनाका लागि थप कर्जायोग्य रकमको व्यवस्था गर्ने, वन क्षेत्र तथा सरकारी जमीन प्रयोगमा लाग्ने राजस्व मिनाहा गरिदिन, उच्च क्षमताका प्रसारणलाइन आयोजना छिटो निर्माण गरिदिने, सोलार विद्युत आयोजनाको विकास गर्ने, १५ हजार मेगावाट विद्युत उत्पादन नहुन्जेल लगानीको स्रोत नखोज्न माग गरेका हुन् ।
यसैगरी, आयोजनालाई रिफाइनान्सको सुविधाका साथै लकडाउनका क्षतिपूर्तिका लागि दातृ निकायको सहयोगमा कोष स्थापना गर्नुपर्ने, अध्ययनको चरणमा रहेका आयोजनाहरुको हकमा सर्वेक्षण अनुमतिपत्र, वातावरण अध्ययन, विद्युत खरिद–बिक्री सम्झौता, वित्तीय व्यवस्थापन र विद्युत उत्पादन अनुमतिपत्रको आवेदन दिने समय बिना शुल्क थप गर्न पनि आग्रह गरिएको छ ।
यसैगरी, मुल्य अभिबृद्धि करवापतको सहुलियतको व्यवस्था गर्ने, विद्युत खरिद दर पुनरावलोकन गर्ने, विद्युत ऐन २०४९ ले दिएको आयकर छुटको अवधि वृद्धि गर्ने, जलविद्युत आयोजनालाई शून्य दरको भ्याट लाग्ने व्यवस्था गर्ने र विद्युत निर्यातमा अनुदान दिने व्यवस्था गर्न इपानले माग गरेको छ ।
Facebook Comment