कोरोनाले पढाएको पाठ र कांग्रेसको भावी नेतृत्व

डिसी नेपाल
१९ वैशाख २०७७ ६:४०

चीनको वुहान शहरबाट सुरु भएको कोरोनाभाइरस (कोभिड–१९) संक्रमण विश्वव्यापी महामारीको रुपमा २०० भन्दा अधिक देशमा फैलिन पाँच महिना पनि लागेन । कतिपय मुलुक यस महामारीबाट हुनसक्ने प्रभाव पहिले नै आंकलन गरी पूर्व तयारीमा जुटे।

त्यसै कारण पनि उनीहरू न्युनतम क्षतिमा जनतालाई करिब–करिब सामान्य जीवनमा फर्काउने तयारीमा रहेका छन्, यसबेला। न्युजिल्याण्ड, नर्वे, आयरल्यान्ड, चेक गणतन्त्र, दक्षिण कोरियाजस्ता देशहरू यस वर्गमा पर्दछन्।

यी देशका सरकार प्रमुखहरू, विशेष गरी न्युजिल्याण्डकी ३९ वर्षीया प्रधानमन्त्री जेसिन्डा आर्डनको योबखत विश्वभर प्रशंसा भइरहेको छ। उनको सुझबुझ र आमजनतालाई कोरोना विरुद्धको अभियानका योजना उनी यति सहज तरिकाले सञ्चार गर्छिन् कि जनसमूदायले यसलाई प्रचारप्रसारको रुपमा नलिई आफ्नो मर्कामा सगँै हातेमालो गर्न आएको प्रयत्नशील नेता सम्झिन्छ्न्। यो लेख कोभिड–१९ सँग सम्बन्धित नभई यो विषम परिस्थितिमा नेताहरूले देखाउनु पर्ने तत्परता र सुझबुझबारे नेपालसँग जोडेर लेख्ने प्रयास हो।

नेपालको सन्दर्भमा पहिलो पटक २०७६ माघ १० गते कोरोनाभारस (कोभिड–१९) पुष्टि भएको हो। त्योभन्दा पहिले रोकथामको लागि तत्काल ठोस् कदम चाल्नुपर्छ भन्ने सचेतना न आम जनतामा थियो न त सरकारले नै केही गरिरहेको थियो। त्यसबेला पूर्व स्वास्थ्यमन्त्री गगन थापा भने एउटा जिम्मेवार नेताको हैसियतले प्रस्तुत हुँदै ‘हामीसँग समय र सुविधा छ।

कोरोनो विरुद्धको अभियानमा ठोस् कदम चालिहाल्नु पर्छ’, भनेर अलमस्त बसिरहेको सरकारलाई निरन्तर घच्घच्याई रहेका थिए। युवा नेता गगन थापाले विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल र विभिन्न फोरममार्फत आफ्नो धारणा प्रस्तुत गर्दै सरकार एवम् आम नागरिकलाईसमेत सचेत गराई रहेका थिए।

नेपाली कांग्रेसका पुराना नेताहरूले आफूले डोरयाउँदै ल्याएको पार्टीको गरिमामय इतिहास पुनः सुरक्षित गर्न र आजीवन गर्व गर्नसक्ने प्रभावकारी पार्टीको रुपमा अवतरण गराउन गगनजस्ता आम जनमानसमा लोकप्रिय युवा नेतालाई नेतृत्व तह र देशको कार्यकारी पदसम्म पुर्याउने वातावरण तयार पार्न अथक प्रयास एवम् समन्वयकारी भुमिका निभाउन अपरिहार्य देखिन्छ।

फलतः पहिलो केस पुष्टि भएको १ महिना ६ दिन पछि बल्ल फागुन १६ गते उप–प्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा सम्पूर्ण सरोकारवाला मन्त्रालयका मन्त्रीहरू र मुख्यसचिव सहितको ‘कोरोना रोकथाम उच्च–स्तरीय समन्वय समिति’ गठन गरियो।

न्युजिल्याण्डकी प्रधानमन्त्री ‘पाँच दिन कोरोना टेस्ट नहुनु भनेको गुणात्मकरुपमा संक्रमण फैलिनु हो’ भन्दै आफूलगायत आफ्नो संयन्त्रलाई रातदिन खटाई रहेकी थिइन् भने हाम्रो देशमा पहिलो केस पुष्टि भएको १ महिना १६ दिन पछि उच्चस्तरीय रोकथाम समिति गठन गरिएको थियो।

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणलाई स्वास्थ्य संकटकाल घोषणा गरी उच्च जोखिम रहेको पाँंच देश मध्ये नेपाल पनि एउटा रहेको बताएपछि गगन थापाले २०७६ फागुण १८ गते सदनमा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ नै पेश गरे।

आफूले सुसूचित गराउँदै आएका विषयहरू, जस्तै विद्यालय तथा हवाई यातायात बन्द गर्ने, खुला सीमामा निगरानी बढाई स्वास्थ्य परीक्षण गर्नेलगायतका कार्य तत्काल अवलम्बन गर्नुपर्ने, तिनका उपायसमेत समेटिएको धारणा उक्त प्रस्तावमा नेता थापाले समेटेका थिए।

जनताले आफ्नो जीवनस्तर नउठेको र स्तरीय शिक्षा तथा स्वास्थ्यजस्तो आधारभूत कुराहरू पनि पहुँचभन्दा टाढा भएको महसुस गरिरहेका छन्। यस्तो अवस्थामा नेपाली कांग्रेसले प्रजातन्त्रका लागि लडेको, गणतन्त्र स्थापना गरेको, माओवादीलाई मूलधारको राजनीतिमा ल्याएको भन्ने पुराना कुराका आधारमा मात्रै जनताले काँग्रेस पार्टीलाई विश्वास गर्ने छैनन्।

अब नेपालमै सहज र खुशहाल जिन्दगी बाँंच्न सकिन्छ भन्ने विश्वास प्रत्याभूत गराउन सक्ने, कुनै पनि कलङ्क नलागेको भरपर्दो व्यक्तिलाई भावि प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्न सकेमात्र कुनै पनि पार्टीले आम सर्वसाधारणलाई आकर्षित गर्न सक्नेछ ।

नत्र नयाँं पुस्तालाई राम्रैसँग विश्वासमा लिन सफल साझा पार्टीले आफ्ना इमान्दार र स्वार्थरहित कार्यकर्ताको बलमा कल्पना गर्न नसकिने मत लाने निश्चित छ। यदि विदेशमा रहेका नेपालीले पनि भोट दिन पाउने सर्वोच्च अदालतको आदेश पालना भए मतको परिमाण अझै आश्चर्यजनकरुपले साझा पार्टीले प्राप्त गर्नेछ। तसर्थ यसपटक कांग्रेसले हचुवाको भरमा नभई बुद्धिमत्तापूर्ण तरिकाले निर्णय लिनु आवश्यक देखिन्छ।

यदि आउँदो महाधिवेशनमा नेपाल कांग्रेसको नेतृत्वमा व्यापक सुधार नआउने हो भने, देश बनाउने हुट्हुटी बोकेका कांग्रेसको विभिन्न तहमा रहेका इमान्दार नेता तथा कार्यकर्ताहरूले नचाहँदा–नचाहँदै पार्टी त्यागेर साझा पार्टीसँग मिल्न जानु पर्ने हुन्छ । किनभने, देश सधैँ अस्थिर लोकतन्त्र र अविकासको बन्दी बन्न सक्दैन।

यस गम्भीर परिस्थितिमा गगन थापाले जनताप्रतिको आफ्नो उत्तरदायित्व स्वतःस्फूर्तरुपमा निःस्वार्थ रही अति क्रियाशीलताकासाथ वहन गरिरहेका छन्। कोरोनाविरुद्धको उच्चस्तरीय आयोगको फितलो कार्यान्वयन पक्ष चित्त नबुझेर विषयगत् विद्वानहरूसँग परामर्श गरी आयोगलाई सुझाव पनि दिए, स्वास्थ्यमन्त्रीलाई पटकपटक भेटेर विभिन्न उपाय अवलम्बन गर्न सुझावसहित अनुरोध पनि गरे। त्यस्तै कृषिमन्त्रीलाई भेटेरै अब कृषि क्षेत्रमा अंगिकार गर्नुपर्ने कार्यहरूका बारेमा अनुरोध गरे। आपूर्तिमन्त्री आफैंले सहज आपूर्ति गराउन सल्लाह मागे।

यति गर्दा पनि सरोकारवाला मन्त्रालय आफ्नै ढंङ्गले काम गरिरहेकोले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गर्न पत्रैसमेत लेखे। राजनीतिक स्वार्थबाट माथि उठेर आफूले व्यवस्थापन गरेको राहत सामाग्रीहरू पनि नेकपाले प्रतिनिधित्व गरेको स्थानीय सरकारसँग समन्वय गर्दै वितरण गरे।

यस्तो विषम परिस्थितिमा पनि गगनले आफ्नो लगनशीलता, क्रियाशीलता र दुरदर्शिता प्रदर्शन गर्दै एउटा सक्षम नेताको रुपमा आम जनताको विश्वास जित्न सफल भएका छन्। हुन त उनले स्वास्थ्यमन्त्री हँंदा नै आफ्नो क्षमता प्रमाणित गरिसकेका हुन्।

तसर्थ नेपाली कांग्रेसका पुराना नेताहरूले आफूले डोरयाउँदै ल्याएको पार्टीको गरिमामय इतिहास पुनः सुरक्षित गर्न र आजीवन गर्व गर्नसक्ने प्रभावकारी पार्टीको रुपमा अवतरण गराउन गगनजस्ता आम जनमानसमा लोकप्रिय युवा नेतालाई नेतृत्व तह र देशको कार्यकारी पदसम्म पुर्याउने वातावरण तयार पार्न अथक प्रयास एवम् समन्वयकारी भुमिका निभाउन अपरिहार्य देखिन्छ।

हुन त गगन थापा आफैंले आँट गरी नेताहरूसँग तत्काल पहलकदमी नगरी कुरा अगाडि बढ्ने छैन। त्यसैले उनको दृढता नै नयाँ यात्राको पहिलो कदम हुनेछ।
मैल यी पङ्ती भावनामा बगेर नभई, उनले यस अप्ठ्यारो परिस्थितिमा पनि प्रभावकारी ढंगले देखाएको सक्रियता, उनि माथी आम नागरिकले गरेको आशा, पार्टी संगठनमा भएको उनको पकड, नयाँ पुस्तालाई पनि प्रभावित पार्न सक्ने व्यक्तित्व र उनको उमेरलाई आधार मानेर लेखेको हुँ।

पार्टी अधिवेशन, स्थानीय र आमनिर्वाचनको समय आउन अझै समय बाँकी छ। त्यतिन्जेलसम्म के कस्ता अवस्था सृजना हुन्छन्, के कस्ता समीकरण बन्छन्, त्यसले पनि धेरै कुराहरू निर्धारण गर्ने नै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *