नयाँ प्रतिरक्षा विश्वविद्यालयको अध्यक्षमा पूर्वरथी शर्मा नियुक्त
काठमाडौं। नेपालमा स्थापनाको चरणमा रहेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेशनल डिफेन्स युनिभर्सिटी) को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरिएको छ।
नेपाली सेनाको नियन्त्रण र निर्देशनमा अवधारणा तयार पारिएको यो विश्वविद्यालयमो सम्पूर्ण व्यबस्थापकीय शैक्षिक उन्नयनको काम पूर्वरथी शर्माले गर्ने गरी जिम्मेवारी तोकिएको छ। शर्माको नियुक्ति अन्य नेपाली विश्वविद्यालयको उपकुलपति सरहको हो।
मन्त्रिपरिषद्को बैशाख १२ गतेको बैठकले पूर्वरथी शर्मालाई सो विश्वविद्यालयको पूर्वाधार निर्माण विकास समिति गठन गरी त्यसको अध्यक्ष पदको जिम्मेवारी दिने निर्णय गरेको छ।
नवनियुक्त अध्यक्ष शर्माले विश्वविद्यालयको पूर्वाधार निर्माणदेखि अध्यापनका लागि पाठ्यक्रम निर्माण, पाठ्यसामग्रीको चयन, विषय समिति र विषयहरुको चयनलगायत एउटा विश्वविद्यालयको नेतृत्वले गर्ने सम्पूर्ण काम गर्ने जानकारी दिए। उनले डिसी नेपालसँग भने,“ अध्यक्षमा चयन भएको मन्त्रिपरिषद्को पत्र प्राप्त भएको छ, अव यसको कामलाई अघि बढाइने छ।”
संसारका कतिपय विकसित देशहरुमा प्रतिरक्षा विषयमा उच्चस्तरको पढाइ गराइने गरेकोमा नेपालले पनि त्यस्तो पढाइ आफ्नै मुलुकमा गराउने उद्देश्यका साथमा यो विश्वविद्यालयको अवधारणा नेपाली सेनाले अघि सारेको थियो। दक्षिण एशियामा प्रतिरक्षासम्बन्धी विश्वविद्यालय पाकिस्तानमा बाहेक अरु देशहरुमा छैन। नेपाल सरकारले प्रतिरक्षा विश्वविद्यालयका लागि काभ्रेको सांगामा पांचसय रोपनी जग्गा दिने निर्णय गरिसकेको छ।
यो विश्वविद्यालयले नेपाली सेना र अन्य सुरक्षा निकायका अधिकृतहरुका अलावा विदेशी मुलुकका प्रतिरक्षाका विद्यार्थीहरुलाई पनि आकर्षित गरी अध्यापन गराउने नीति लिएको छ। नेपालको पहिलो प्रतिरक्षा विश्वविद्यालयमा प्रमुखमा नियुक्त भएका शर्मा पनि प्रतिरक्षा विषयमा दक्षिण एशियाकै विज्ञहरुमध्ये एक मानिन्छन्।
उनले संयुक्त राष्ट्रसंघका विभिन्न मिसनहरुमा कमाण्डरदेखि फोर्स कमाण्डरसम्मको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन्। उनले विश्वमा विद्रोही लडाकू फौजलाई देशको आधिकारिक सेनामा समायोजन गर्ने अत्यन्त थोरैमात्र सफल उदाहरणमध्येको एक नेपालका माओवादी लडाकूको नेपाली सेनामा समायोजन गर्ने कार्यमा सफल नेतृत्वसमेत दिइसकेका छन्।
एशियाका विभिन्न विश्वविद्यालयमा शान्ति प्रक्रिया र लडाकू समायोजनका विषयमा अतिथि प्राध्यापकका रुपमा प्राध्यापनरत शर्माले प्रतिरक्षासम्बन्धी थुप्रै मुलुकबाट अल्पकालीन तथा दीर्धकालीन अध्ययन र तालिमसमेत गरेका छन्।
Facebook Comment