‘कोरोनाभाइरस चीनको वुहान प्रयोगशालामा बनेको प्रमाण छ’

डिसी नेपाल
१९ वैशाख २०७७ १०:४३

वाशिङटन (एजेन्सी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार फेरि चीनमाथि विश्वभर कोरोनाभाइरस फैलाएको आरोप लगाए । उनले यो भाइरसको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीसँग सम्बन्ध भएको बताए । ट्रम्पले आफूहरुसँग कोरोनाभाइरस यही ल्याबमा तयार गरिएको प्र्रमाण समेत भएको दावी गरे । यद्यपि उनले यसबारे विस्तृतमा बताउन अस्वीकार गरे । कोरोनाभाइरसबाट विश्वभर २ लाख ३० हजारको मृत्यु भइसकेको छ ।

ह्वाइट हाउसमा प्रेस कन्फ्रेन्सका क्रममा ट्रम्पसँग कोरोनाभाइरसको वुहान लिंकबारे प्रश्न सोधिएको थियो । यसको जवाफमा ट्रम्पले आफूसँग यसको प्रमाण भएको तर यसबारेमा बताउन नसक्ने जवाफ दिएका थिए । उनले आफूसँग यसबारे मिडियालाई बताउने अनुमति नभएको उल्लेख गरे । ट्रम्पले चीनमाथि नयाँ ट्यारिफ लगाउने पनि बताए ।

कोरोनाभाइरसबाट अहिले अमेरिका सबैभन्दा धेरै प्रभावित छ । यहाँ १० लाख भन्दा धेरै मानिसहरु संक्रमित भइसकेका छन् र ६३ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । यही कारण अमेरिकामाथि ठूलो दबाब छ । अमेरिकाले पहिले कोरोनाभाइरस वुहानको जंगली जनावरको बजारबाट फैलिएको चीनले दावीलाई अस्वीकार गरेको थियो ।

पछि चीनले अमेरिकी सेनाले वुहानमा भाइरस फैलाएको आरोप लगाएको थियो । केही दिनअघि ट्रम्पले पनि विश्वको अगाडि कोरोनाको वास्तविकता ल्याउने बताएका थिए । अमेरिकाले विश्व स्वास्थ्य संगठनसँग पनि आक्रोश पोखेको थियो । अमेरिकाले विश्व स्वास्थ्य संगठनले चीनको पक्ष लिएको र विश्वलाई यसको जानकारी नदिएको आरोप लगाएको थियो ।

ट्रम्पले विश्व स्वास्थ्य संगठन आफ्नो कामको लागि लज्जित हुनुपर्ने पनि बताए । ट्रम्पले विश्व स्वास्थ्य संगठनले चीनको लागि जनसम्पर्क एजेन्सीले जस्तै काम गरेको पनि आरोप लगाए । ट्रम्प प्रशासनले विश्व स्वास्थ्य संगठनलाई दिइने अनुदान रोकेको छ र संगठनको भूमिकाको विषयमा जाँच सुरु गरेको छ ।

यद्यपि कोरोनाभाइरसका विषयमा अमेरिकामै विरोधाभाष छ । अमेरिकाको इन्टेलिजेन्स कम्युनिटीले बिहीबार कोरोनाभाइरस मानव निर्मित नभएको बताएको छ । उपलब्ध प्रमाण र वैज्ञानिक सहमतिका आधारमा यो भाइरस कुनै ल्याबमा जेनेटिक मेडिफिकेशनबाट नबनाइएको निष्कर्षमा पुगिएको जनाएको छ । यसलाई मानवले बनाएको वा डिजाइन गरेको नपाइएको बताउँदै कम्युनिटीले यसको अझै सुक्ष्म जाँच भइरहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *