करिब ३ हजार जना रहेको पानीजहाजमा कोरोना देखिएपछि जहाज क्वारेन्टाइनमा
जर्मनी । चालक दलका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि जर्मनीको उत्तरी भेग कुक्सहाफेनमा एउटा पानीजहाजलाई क्वारेन्टाइनमा राखिएको छ । टियूआइको माइन शिफ ड्राइ नामक सो पानीजहाजमा रहेका २ हजार ८ सय ९९ जना मध्ये १ लाई नयाँ प्रकारको कोरोना संक्रमण देखिएपछि सो पानीजहाजलाई बन्दरगाहमा नै क्वारेन्टाइनमा राखिएको हो ।
सिपिंग कम्पनी टियूआईको जहाजमा रहेका १५ जनामा कोरोनाको सामान्य लक्षण देखापरेपछि स्टुवेनह्योफ्ट वन्दरगाहस्थित सामुद्रिक अस्पतालमा उनीहरुको परिक्षण गर्दा शुक्रबार एक जनामा पुष्टि भएको हो । अन्य बाँकीलाई पनि अहिले औषधी चलाएर अस्पतालमा नै राखिएको छ ।
जहाजमा कोही पनि अतिथि यात्रु नभएको तर त्यहाँ रहेका २ हजार ८ सय ९९ जना कामदारहरु आफ्नो घर फर्कन लागेका थिए । जहाजबाट केही सदस्यहरु विहिबार आफ्नो घरको लागि हिडिँसकेका हुनाले उनीहरुलाई पनि सम्पर्क गरेर क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको अधिकारीहरुले जनाएका छन् । यद्यपी अधिकारीहरुले शहर र जिल्लाको जनसंख्यालाई कुनै खतरा नभएको दावी गरेका छन् ।
सुरक्षित रुपमा नियन्त्रणमा लिन सकिने र जहाजमा रहेकाहरुको पनि छुट्टै क्याविनमा राखे हेरविचार गरिरहेको हुँदा फैलन सक्ने खतरालाई नियन्त्रणमा लिन सकिने सरकारी दावी छ । टियूआई जहाजका अनुसार ‘माइन शिफ’ मा पहिले कुनै कोरोना संक्रमणको प्रमाणित घटना थिएन । सबै जहाजहरूका सम्पूर्ण टोलीहरू चार हप्ता भन्दा बढीदेखि अलग्गै रहेका थिए । ‘माइन शिफ’ को जमिनमा अन्तिम सम्पर्क बाहिरी विश्वसँग मार्च २३ मा भएको थियो । सोही दिन अन्तिम पाहुनाहरूले जहाजको यात्रा गरेका थिए । विश्वको यात्रा गर्ने यस पानीजहाज पनि कोरोना महामारीले संकटमा परेपछि सरकारले १ दशमलब ८ विलियन युरोको सहायता ऋण उपलव्ध गराएको छ ।
यसैबीच कुक्सहाफेन जिल्लामै एक बृद्धाश्रममा कोरोना सल्किएपछि सो आश्रम सिल गरिएको छ । जेष्ठ नागरिक र कामदार गरेर सात जनामा कोरोना संक्रमणको पुष्टि भएको स्थानीय पत्रिका कुक्सहाफनर नाख्रिख्टेनले जनाएको छ ।
Facebook Comment