कोरोनाको आर नम्बर के हो ? लकडाउनको निर्णय आर नम्बरको आधारमा किन गरिँदैछ ?
काठमाडौं। कैयौं देशमा लकडाउन गर्ने कि नगर्ने भन्ने निर्णय यो कुरालाई ध्यानमा राखेर गरिन्छ कि त्यहाँ कोरोनाभाइरसको आर नम्बर कति छ ? तर, यो आर नम्बर के हो ? कोरोनाभाइरसको संक्रमण रोक्न यसको आर नम्बरको चर्चा किन गरिँदैछ ? यसबारे धेरैलाई जानकारी छैन । कोरोनाभाइरसको आर नम्बरको अर्थ हो ‘इफेक्टिभ रिप्रोडक्सन नम्बर ।’
औसतमा उक जना संक्रमित व्यक्तिबाट अन्य कति जना मानिसमा संक्रमण फैलिइरहेको छ भन्ने कुराको सूचकांक नै आर नम्बर हो । यदि आर नम्बर २ छ भने यसको अर्थ हो १ जना संक्रमितबाट २ जना नयाँ मानिस संक्रमित हुनेछन् । ती नयाँ संक्रमितले पनि थप २–२ जनालाई संक्रमित गर्नेछन् । ती नयाँ ४ संक्रमितले पनि फेरि २–२ जना नयाँ मानिसलाई संक्रमित गर्नेछन् र यसरी भाइरसले निकै ठूलो रुप लिनेछ ।
त्यसैले यदि कुनै देशमा कोरोनाभाइरसको आर नम्बर १ भन्दा धेरै छ भने त्यहाँ संक्रमण फैलिने खतरा एकदमै उच्च हुन्छ । तर, यदि आर नम्बर १ भन्दा कम भएपछि भने संक्रमण विस्तारै घट्दै जानेछ । कोरोनाभाइरसको सुरुवाती दिनहरुमा आर नम्बर २ देखि ३ को बीचमा थियो । यद्यपि एक देशका हरेक शहरमा आर नम्बर उस्तै हुँदैन । रिप्रोडक्सन नम्बर अर्थात आर नम्बर निश्चित हुँदैन । यो भाइरसको संरचना, मानिसहरुको व्यवहार, सामाजिक दूरी आदिमा निर्भर गर्छ ।
साथमा जनसंख्यामा कति मानिसहरु इम्युन छन् भन्ने कुराले पनि आर नम्बरमा असर पार्छ । द गार्डियनको रिपोर्टका अनुसार महामारीको सुरुवातमा वैज्ञानिकहरु बेसिक रिप्रोडक्सन नम्बर आर जीरो को प्रयोग गर्छन् । आरजीरोको अर्थ हो जनसंख्याको इम्युनिटी शून्य छ । लकडाउनका कारण आर नम्बरमा गिरावट देखिएको छ ।
बेलायतमा लकडाउनपछि आर नम्बर ०.६ देखि ०.९ को बीचमा छ । यसको अर्थ बेलायतमा महामारी घटिरहेको छ । हाललाई अन्तर्राष्ट्रिय स्तरमा यो तय गरिएको छैन कि आर नम्बर कति भएपछि लकडाउन हटाउन सकिन्छ । यस विषयमा पनि अहिलेसम्म ठोस जानकारी छैन कि लकडाउनमा छुट दिएपछि आर नम्बर कति बदलिनेछ ।
Facebook Comment