दिल्ली प्रदेशका ११ जिल्ला उच्च जोखिममा
नयाँदिल्ली । भारतको दिल्ली प्रदेशका ११ जिल्लालाई उच्च जोखिमको सूचि (रेड जोन) बाट तत्काल नहटाइने भएको छ । दिल्ली प्रदेशका स्वास्थ्य मन्त्री सत्यन्द्र जैनले यही मे १७ तारिखसम्म ११ जिल्लालाई उच्च जोखिमको सूचिबाट नहटाइने शनिबार जानकारी दिएका छन् ।
“दिल्लीका ११ जिल्लालाई हामीले यही मे १७ सम्म उच्च जोखिमका जिल्लाको सूचिमा राखिने छ,” उनले भने । कुनै पनि जिल्लामा कोरोनाभाइरसबाट संक्रमित विरामीको संख्या दशभन्दा बढी भएमा त्यस जिल्लालाई उच्च जोखिमको जिल्लाका रुपमा सूचिकृत गरिने व्यवस्था रहेको पनि उनले जानकारी दिने ।
केन्द्रीय स्वास्थ्य मन्त्रीले पनि शुक्रबार देशभरका १३० जिल्ला उच्च जोखिमपूर्ण जिल्लाको सूचिमा रहेको बताएका थिए । यही मे ४ तारिखदेखि देशव्यापी लकडाउनको म्याद फेरी थप्ने निर्णय भएकैदिन उहाँले रेड जोनमा रहेका जिल्लाहरुको सूचि बनाइएको जानकारी दिएका छन् ।
उनका अनुसार देशभरका २८४ जिल्लालाई “ओरेन्ज जोन” र ३१९ जिल्लालाई “ग्रिन जोन”का रुपमा सूचिकृत गरिएको छ । मन्त्री जैनले केन्द्रीय राजधानी प्रदेशमा कोरोनाभाइरसबाट संक्रमितको संख्या शनिबारसम्म तीन हजार ७३८ पुगेको जानकारी दिए ।
उनले भने, “अहिलेसम्म दिल्लीमा तीन हजार ७३८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्, ती मध्ये २२३ जना त हिजो मात्रै थपिएका हुन् ।” उनका अनुसार कुल सङ्क्रमित मध्ये झण्डै ३२ प्रतिशत अर्थात एक हजार १६७ जना अहिले ्क्रमणमुक्त भइसकेका छन् ।
देशभरी संक्रमितको संख्या भने ३७ हजार ३३६ पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण भारतभर गएको २४ घन्टायता ७१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २१८ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
गएको २४ घन्टायता भारतमा २ हजार २९३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । भारतभर गएको २४ घन्टायता संक्रमितको संख्या हालसम्मको नै सब भन्दा बढी भएको मन्त्रालयले जनाएको छ ।
दैनिक रुपमा सङ्क्रमित हुने र मुत्यु हुनेको संख्यामा कमी नआएपछि सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय शुक्रबार गरेको हो । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो ।
Facebook Comment