सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीको पक्षमा बहुमत

डिसी नेपाल
२० वैशाख २०७७ १७:१४

काठमाडौं। प्रधानमन्त्री र अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने तहसम्म पुगेको नेकपाभित्रको विवादले नयाँ मोड लिएको छ। नेकपाको शक्तिशाली निकाय मानिने सचिवालय बैठकमा अल्पमतमा रहेका प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाटै हटाउने गरी अर्का अध्यक्ष प्रचण्ड र माधव नेपाल समूहले तयारी गरिहेका बेला प्रधानमन्त्रीले आफ्नो पक्षमा बहुमत सदस्य पुर्याएको बताइएको छ।

शनिबार सचिवालय बैठक बस्नु अघि नौ सदस्यीय सचिवालय सदस्यमध्ये पाँच जनाले केपी ओलीलाई साथ दिने सहमति भएपछि प्रधानमन्त्रीले तत्काल राजीनामा दिने संभावना टरेको स्रोतले जनाएको छ।

यसअघि कतै पनि नखेलेका र दुवै पक्षको भेलामा सहभागी भएका महासचिव विष्णु पौडेलले प्रधानमन्त्रीलाई खुलेर साथ दिएका छन्।  स्रोतका अनुसार उपाध्यक्ष बामदेव गौतम, गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादलले पनि प्रधानमन्त्रीलाई साथ दिने सहमति भएपछि सचिवालय बैठकमा प्रधानमन्त्रीको पल्ला भारी भएको हो।

सचिवालय बैठक बस्नु अगाडि प्रधानमन्त्री केपी ओली, सचिवालय सदस्यहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलको बालुवाटारमा छुट्टै बैठक बसेको थियो। उक्त बैठकले तत्काल प्रधानमन्त्रीले राजीनामा दिन नहुनेल गल्ती कमजोरी सच्याएर अगाडि बढ्ने र कुनै पनि निर्णय गर्दा सहमतिका आधारमा गर्ने गरी सहमति गरेको छ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल, र प्रवक्ता नारायणकाजी श्रेष्ठ ओलीको राजीनामा माग्ने पक्षमा उभिएका छन्। गत बुधबारको सचिवालय बैठकमै दाहाल र नेता नेपालले ओलीको राजीनामा मागेका थिए।

तर, ओलीले आफूले राजीनामा दिनुपरे वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावसँगै दाहाल नेपाल गठबन्धन कमजोर भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *