सचिवालय बैठक बस्नु अघि प्रधानमन्त्रीले किन भेटे राष्ट्रपतिलाई?

डिसी नेपाल
२० वैशाख २०७७ १८:१५

काठमाडौं। सचिवालय बैठक बस्नु अघि प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन्।

शनिबार अपरान्ह साँढे चार बजे शितल निवास प्रवेश गरेका प्रधानमन्त्री ओली सवा पाँच बजे बाहिरिएका थिए। प्रधानमन्त्रीज्यु आउनु भएको थियो,’ राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले डिसी नेपालसँग भने, ‘सरकारका कामकारवाहीलगायतका विषयमा छलफल भयो।’

स्रोतका अनुसार राष्ट्रपति भण्डारीले पार्टीभित्रको विवादका विषयमा चासो राखेकी थिइन्। अहिले नेकपाभित्र प्रधानमन्त्री ओलीलाई हटाउनु पर्ने भन्दै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह लागिपरेको छ। यही विषयमा छलफल गर्न सचिवालय बैठक बस्नु अगाडि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग झण्डै ४५ मिनेट छलफल गरेका हुन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने तयारी गरेको र सोको जानकारी दिन प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन्।

शितल निवास जानु अघि प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमसँग बालुवाटारमा छलफल गरेका थिए। बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिनुपरे गौमतलाई प्रधानमन्त्री बनाउनु पर्ने प्रस्ताव गरेका थिए। प्रधानमन्त्रीको प्रस्तावको सर्वत्र विरोध भएपछि गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने गरी प्रधानमन्त्रीले कन्भिन्स गराएको स्रोतको दाबी छ।

गौतमलाई राष्ट्रियसभा सदस्य बनाएर उनलाई उपप्रधानमन्त्री बनाउने गरी सहमति भएको बताइएको छ। उच्च स्रोतका अनुसार गौतम राष्ट्रियसभा सदस्य बन्न राजी भएको र त्यसपछि उनलाई उपप्रधानमन्त्री बनाउने प्रधानमन्त्रीले तयारी गरेका छन्। सोही विषयको जानकारी दिन प्रधानमन्त्री ओलीले शनिबार राष्ट्रपतिलाई भेटेको स्रोतको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *