बहुद्देश्यीय खेल मैदान बन्दै

बागलुङ । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकामा बहुउद्देश्यीय खेल मैदान निर्माणको काम अघि बढेको छ । गलकोट–६ जोइनीडाँडा र ताराखोला–४ दोगाडीमा स्तरीय खेल मैदान बन्नेछ । जोइनीडाँडामा शुक्रबारदेखि जग्गा सम्याउन थालिएको उपभोक्ता समितिका अध्यक्ष धनबहादुर नेपालीले बताए ।
खेल मैदानका लागि चालू आवमा नगरपालिकाले रु चार लाख बजेट छुट्याएको थियो । अपुग बजेट थप गरी आउँदा वर्षमा खेल मैदानलाई स्तरवृद्धि गर्दै लगिने वडा कार्यालयले जनाएको छ । खेल गतिविधि सञ्चालनसँगै सार्वजनिक समारोहका लागिसमेत मैदान उपयोगी हुने ठानिएको छ ।
मैदान बनेपछि भलिबल, ब्याडमिन्टनलगायत खेल प्रतियोगिता गर्न सहजता हुनेछ । ताराखोलामा पनि स्थानीय तहस्तरको खेल मैदान दोगाडीमा बन्ने भएको हो। बहुद्देश्यीय खेल मैदानका लागि चालू आवमा गाउँपालिको रु ४० लाख बजेट छ ।
“सम्झौता टुङ्ग्याएर आइतरबादेखि नै काम शुरु गर्ने तयारीमा छौँ”, गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भने, “गाउँपालिकाको केन्द्र पर्ने गरी दोगाडीलाई रोज्यौँ ।” उनले सुविधा सम्पन्न र स्तरीय खेल मैदान बनाइने उल्लेख गरे ।
गाउँपालिकाले खेल मैदानका लागि केही निजी जग्गासमेत खरिद गरेको छ । खेल मैदान बन्ने अधिकांश जग्गा भने सार्वजनिक छ । खेल मैदान निर्माण गाउँपालिकाको बहुवर्षीय योजनामा छ । पूर्वाधार अभावमा जिल्लाको खेलकूद पछाडि छ । खेल क्षेत्रको विकासका लागि सरकारले पनि ‘एक स्थानीय तह, एक खेल मैदान’को नीति लिएको छ ।
खेलाडीलाई राहत
कोरोनाका कारण समस्या झेलिरहेका जिल्लाका १६ खेलाडीलाई आज राहत वितरण गरिएको छ । जिल्ला खेलकूद विकास समितिका पूर्वअध्यक्ष धनबहादुर परियार र बागलुङ नगरपालिका–१ को वडा कार्यालयले राहत सामग्री प्रदान गरेको हो ।
बन्दाबन्दीले खेल प्रतियोगिता गुमाएका खेलाडीको जीवनयापनमा सघाउन खाद्यान्न सामग्री सहयोग गरिएको समितिका पूर्वअध्यक्ष परियारले बताए । परियारले १६ बोरा चामाल र वडा कार्यालयले दाल, तेल, नून, साबुनलगायतका सामग्री उपलब्ध गराएको हो ।
वडाध्यक्ष दुर्गाबहादुर बोहोराको उपस्थितिमा राहत सामग्री वितरण गरिएको थियो । तेक्वान्दोका आठ, कराँतेका चार, उसुका दुई, फुटबल र सुटिङका एक/एक गरी १६ खेलाडीले राहत पाएको जनाइएको छ । समस्या भएमा निसङ्कोच राहतका लागि सम्पर्क गर्न सबै खेलाडीमा आग्रह गरिएको वडा सदस्य सूर्य लामिछानेले बताए ।
Facebook Comment