पाल्पा १ को नालीबेलीः दलबहादुरको परिवार नै त्यागी तर बामदेवलाई पाल्पालीले स्वीकार्लान् ?
काठमाडौं। पछिल्लो समय नेकपा उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउन नेकपाभित्र ठूलै कसरत भइरहेको छ । उनलाई प्रधानमन्त्री नै बनाउने गरी प्रतिनिधिसभामा ल्याउने तयारी भइरहेको नेकपा स्रोत बताउँछ । यसअघि उनलाई राष्ट्रिय सभामा मनोनित गर्ने, राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधन गर्ने र उनलाई प्रधानमन्त्री बनाउने चर्चा चलेको थियो । तर, जनमत नपाएको व्यक्ति प्रधानमन्त्री बन्दा ठूलो विवाद हुने भन्दै आफ्ना विश्वसपात्रले नै बामदेवलाई त्यसो नगर्न सल्लाह दिएपछि बामदेव जनमत पाउन हौसिएको बताइन्छ ।
बामदेवको प्रधानमन्त्री बन्ने चाहना निकै ठूलो छ । यद्यपि यसअघि उनी प्रधानमन्त्री नै नपाए पनि सांसद मात्र बन्न तयार थिए । उनलाई ठाउँ दिनका लागि नेकपाका सांसदलाई राजीनामा गराउने कसरत यसअघि पनि भएको हो । यसबाहेक तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएपछि उनको स्थानमा कास्कीबाट चुनाव जिताएर बामदेवलाई प्रतिनिधिसभा ल्याउने पहल पनि भएको हो । यद्यपि केही ठाउँमा तीव्र विरोधले पार्टी पछि हट्यो भने केही स्थानमा बामदेव आफैं पछि हटे ।
पछिल्लो समय बामदेवलाई पाल्पा वा कास्कीबाट चुनाव जिताएर ल्याउने चर्चा चलिरहँदा अहिले त्यो सबै चर्चा पाल्पा क्षेत्र नम्बर १ मा गएर रोकिएको छ । अहिले बामदेवलाई पाल्पा क्षेत्र नम्बर १ बाटै चुनाव जिताएर प्रतिनिधिसभामा ल्याउने नेकपाको तयारी रहेको दावी बलियो रुपमा गर्न थालिएको छ । यदि बामदेवले त्यहाँबाट चुनाव जितेर आउने हो भने त्यहाँका निर्वाचित सांसदले राजीनामा दिनुपर्छ । त्यहाँका निर्वाचित सांद नेकपाका दलबहादुर राना हुन् ।
हुन त दलबहादुर बामदेवका विश्वासपात्र हुन् । राना बामदेवका मान्छे हुन् भन्ने बुझ्न २ दशक अगाडि फर्किए पुग्छ । त्यतिबेला (एमाले) पार्टी विभाजन गरी बामदेव गौतमले आफ्नो नेतृत्वमा नेकपा (माले) गठन गरेका थिए । त्यतिबेला दलबहादुर बामदेवसँगै मालेमा गएका थिए । २०५६ को संदीय निर्वाचनमा रानाले पाल्पा क्षेत्र नम्बर १ बाटै चुनाव लडेका थिए तर उनले चुनाव हारे । २०५६ मा त्यहाँ एमालेका भद्रबहादुर थापाले चुनाव जितेका थिए ।
दलबहादुर राना २०४८ सालदेखि नै संसदीय चुनाव लड्दै आएका हुन् र उनको निर्वाचन क्षेत्र फेरिएको छैन । २०४८ को संसदीय निर्वाचनमा दलबहादुर कांग्रेसका कालुराम रानासँग चुनाव हारेका थिए । त्यो निर्वाचनमा पाल्पाका तीनवटै क्षेत्रमा कांग्रेसले जितेको थियो र प्रतिनिधिसभामा कांग्रेसको स्पष्ट बहुमत पुगेको थियो । तर, २०५१ मा भएको मध्यावधि संसदीय निर्वाचनमा भने नतिजा उल्टियो । त्यो निर्वाचनमा देशभरीमा एमाले ठूलो पार्टी बनेको थियो, बहुमत थिएत । तर, पाल्पाको हकमा भने एमालेले लालकिल्ला नै बनायो, तीनवटै क्षेत्रमा एमालेले जित्यो ।
त्यसयता पाल्पामा कम्युनिष्टकै दबदबा छ । कम्युनिष्टमा पनि एमालेको दबदबा छ । २०५१ देखि २०७४ सम्म आइपुग्दा पाल्पाबाट १४ जना निर्वाचित भए । तीमध्ये १ जना माओवादी र १ जना कांग्रेसका थिए । बाँकी सबै एमालेकै थिए । २०५६ मा पनि पाल्पाका तीनवटै षेत्रमा एमालेले जितेको थियो । मालेबाट चुनाव हारेका दलबहादुरलाई पनि एमालेकै भद्रबहादुर थापाले हराएका थिए । २०६४ को संविधानसभासम्म आइपुग्दा एमाले एकीकरण भइसकेको थियो र त्यो निर्वाचनमा पाल्पा १ मा दलबहादुर रानाले नै जितेका थिए ।
२०७० को निर्वाचनमा आइपुग्दा पार्टीभित्र आकांक्षी धेरै थिए । आकांक्षी व्यवस्थापन गर्न कठिन भएका बेला दलबहादुरले त्याग देखाए, उनले आफ्नो क्षेत्र छोडिदिए । पाल्पा १ बाट तत्कालीन एमाले अध्यक्ष राधाकृष्ण कँडेलले चुनाव लडेर जिते । दलबहादुर समानुपातिक सांसद समेत भएनन् । यद्यपि पार्टीले उनको त्यागको कदर गर्दै सुशील कोइराना नेतृत्वको सरकारमा उनलाई भूमिसुधार तथा व्यवस्था मन्त्रीको जिम्मेवारी दिएर पठायो । २०७४ को निर्वाचनमा दलबहादुर पुनः यही क्षेत्रबाट चुनाव लडे र जिते । यद्यपि २०७४ को निर्वाचनमा आइपुग्दा पाल्पामा निर्वाचन क्षेत्र घटाएर २ बनाइएको छ ।
पाल्पाको हकमा जिल्लाको पूर्वी क्षेत्रमा रहेको क्षेत्र नम्बर १ मात्र यस्तो क्षेत्र हो जहाँ २०५१ देखिको एमालेको किल्ला कसैले भत्काउन सकेको छैन । यहाँ २०५१ देखि लगातार एमालेले मात्रै चुनाव जितिरहेको छ । जिल्लाका अन्य क्षेत्रमा एमालेले लगातार जितिरहन सकेको छैन । २०६४ मा क्षेत्र नं. २ का एमाले उम्मेदवार सोमप्रसाद पाण्डे माओवादीकी लीला सोमैसँग हारे । २०७० मा एमालेका कुलप्रसाद नेपाल कांग्रेसका हरिप्रसाद नेपालसँग हारे ।
२०५१ पछिको ट्रेण्ड हेर्दा पाल्पा क्षेत्र नम्बर १ का मतदाताले जुनसुकै अवस्थामा एमालेलाई नै रोज्ने गरेको देखिन्छ । यसको ज्वलन्त उदाहरण उनै दलबहादुर हुन् जलाई २०५६ मा मालेबाट चुनाव लड्दा तिनै मतदाताले हराए र एमाले उम्मेदवारलाई जिताए । यद्यपि यो पुरानो ट्रेण्ड अहिले कायमै रहला त ? यसमा भने शंका गर्ने ठाउँ छ । यहाँका मतदाताले बामदेवलाई अस्वीकार पनि गर्न सक्छन् । यहाँका मतदाताले बामदेवलाई अस्वीकार गर्ने तीन कारण छन् ।
पहिलो कारण, पाल्पाको क्षेत्र नम्बर १ मगर बाहुल्य क्षेत्र हो । अपवादका रुपमा यहाँ २०७० सालमा एमालेका राधाकृष्ण कँडेल (ब्राह्मण)ले चुनाव जितेका छन् । यसबाहेक यहाँ मगरबाहेकका सांसद भएकै छैनन् । पछिल्लो समय जातीय राजनीति समेत हुने गरेको पृष्ठभूमिमा यदि विपक्षी दलले आफ्नै समुदाय र स्थानीय उम्मेदवार उठाइदिएमा यहाँको समुदायले सामुदायिक भावना नदेखाउलान् भन्न सकिन्न ।
दोस्रो कारण, बामदेव आगन्तुक उम्मेदवार हुन् । उनी तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको स्थानमा समेत चुनाव लड्नबाट पछि हटेका हुन् । यरी पछि हट्नुले उनलाई पार्टीभित्रैबाट अन्तरघातको खतरा कति छ भन्ने पनि देखाउँछ । अहिलेसम्म आगन्तुक उम्मेदवार नभोगेका पाल्पाली जनताले आगन्तुकलाई जिताउलान् ? शंका कायमै छ ।
आफूले जिताएका उम्मेदवारलाई राजीनामा गर्न लगाएर आएका पाहुना उम्मेदवारलाई मतदाताले जिताउँछन् भन्ने छैन । यदि दलबहादुरले स्वेच्छाले पद छाडेर वा अरु कुनै कारणले रिक्त भएको स्थानमा बामदेव आएको भए मतदाताले पार्टी रोज्न सक्थे तर पछिल्लो समय बामदेवको चाहना केही वर्ष अघिदेखि नै व्यक्त हुँदै आएको हो र यसबाट पाल्पाली मतदाता अनभिज्ञ पक्कै छैनन् । यस्तोमा उनीहरुले बामदेव, अर्थात एक व्यक्तिको चाहना पूरा गरिदेलान् ? शंका गर्ने ठाउँ छ ।
सबैभन्दा मुख्य कुरा त बामदेव यहाँबाट चुनाव लड्नको लागि रानाले राजीनामा दिनुपर्ने हुन्छ । रानाले बामदेव प्रधानमन्त्री हुने निश्चित भएमा मात्र राजीनामाबारे सोच्ने बताएका छन् । उनले अहिले नै पाल्पाबाट बामदेवलाई चुनाव लडाउने कुराको समेत खण्डन गरेका छन् । रानाले उपयुक्त समयमा बामदेवलाई प्रतिनिधिसभामा लैजाने निर्णय भएको बताएका छन् । उनले ‘उपयुक्त समय’ भनेको बामदेव प्रधानमन्त्री नै बन्ने अवस्थाको रुपमा अर्थ लगाएका छन् ।
यद्यपि दलबहादुर त्यागी नेता हुन् । २०७० को निर्वाचनका बेला एमालेभित्र आकांक्षी धेरै भएपछि उनले आफ्नो क्षेत्रबाट चुनाव लडेनन् । यतिसम्म कि समानुपातिक सांसद समेत भएनन् । यहाँनिर अर्को उल्लेखनीय कुरा के पनि हो भने दलबहादुर पाइलट सन्तोष रानाका पिता हुन् । सन्तोष राना उनै हुन् जसले २०७२ फागुनमा काष्ठमण्डप एयरको विमान दुर्घटनामा यात्रुको जीवन बचाउँदै गर्दा अर्का पाइलट दिनेश न्यौपानेसँगै ज्यान गुमाएका थिए । छोराको यो त्यागको उदाहरणले पनि उनको परिवारको संस्कार प्रतिबिम्बित गर्छ ।
Facebook Comment