नेपालगन्जमा उच्च सुरक्षा सर्तकता, पूरै बजार सिलबन्दी

डिसी नेपाल
२१ वैशाख २०७७ २२:०१

काठमाडौं । बाँकेको नेपालगन्जमा एकै दिन १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ पुरै सिलबन्दी गरिएको छ । यसअघि नेपालगन्जको डिएसपी रोड निवासी ६० वर्षिय एक पुरुषमा कोरोना संक्रमण देखा परेको थियो । ६० वर्षिय पुरुषको घर रहेको डिएसपी रोड र उनी ‘अजान’ गर्न पुग्ने महेन्द्र पार्कस्थित मस्जिद तथा मदरसा वरिपरीका स्थानीय बासिन्दाको स्वाब परीक्षण गर्दा एकै दिन १५ जनामा पुष्टी भएपछि नेपालगन्ज पूरै सिलबन्दी गरिएको बाँकेका एसपी वीरबहादुर वलीले जानकारी दिए ।

एसपी वलीका अनुसार अन्य ब्यक्तिमा पनि संक्रमण फैलाएको आशंकामा शनिबार दिउँसो डिएसपी रोड क्षेत्रका ७ जना र महेन्द्र पार्क आसपासका ८३ गरी कुल ९० जनाको स्वाब संकलन गरिएको थियो । ती मध्येबाट नै १५ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । सुरुमा ९ जना र त्यसपछि थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । नेपालगन्ज ८ निवासी १६, २१ र ३४ वर्षका पुरुषहरु ४०, ५५ र ६० वर्षका महिलाहरुलाई संक्रमण देखिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काका अनुसार अझै केही रिपोर्ट आउन बाँकी नै छ । उनका अनुसार ६० वर्षिय पुुरुषबाट नै टोलभरी संक्रमण फैलिएको आशंका गरिएको छ ।

६० वर्षिय संक्रमितले दुई महिनाअघि भारत पुगेर आएको बयान दिएका छन् । उनी भारतबाट आएपछि पनि मस्जिद तथा मदरसामा नियमित रुपमा जाने गरेका थिए । महेन्द्रपार्क आसपास मुस्लिम समुदायको बाहुल्यता रहेको ठाउँ हो । नेपालगन्जका ६० बर्षिय पहिलो संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्थापना गरिएको आइसोलेसन कक्षमा राखिएको छ ।

एसपी वलिका अनुसार पछिल्लो पटक देखा परेका १५ जना संक्रमित मध्ये ७ वर्षदेखी ६० वर्षसम्मका छन् । नयाँ संक्रमितलाई पहिचान गरी खजुरास्थित आइसोलेसन कक्षमा राखिएको छ । ‘पछिल्लो पटक देखा परेका संक्रमितको पहिचान गरेर उनीहरुलाई आइसोलेसन राखेका छौ’, एसपी वलीले भने ।

यसअघि शनिबार नै स्वाब परिक्षण गर्ने क्रममा उनीहरुलाई क्वारेन्टाइन बस्न आग्रह गर्दा पनि अटेरी गरेका थिए । एकै पटक धेरै ब्यक्तिमा कोरोना संक्रमण देखिएपछि नेपालगन्जमा सुरक्षामा विशेष सर्तकता अपनाइएको र महेन्द्रपार्क पछाडिबाट पूरै बजार सिलबन्दी गरिएको पनि प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *