एक शताब्दी, दुई डाक्टरः जसको कुरा नसुन्दा अमेरिकामा दोहोरियो १०२ वर्ष पुरानो गल्ती

डिसी नेपाल
२२ वैशाख २०७७ १२:०२

काठमाडौं। १०२ वर्ष अनि २ ठूला डाक्टर । यी डाक्टरले महामारीबाट बच्नको लागि सामाजिक दूरी, मास्क र क्वारेन्टाइनको फर्मुला अपनाउन भनेका थिए । तर, अमेरिका रकार प्रशासनले यी डाक्टरहरुको कुरा सुनेन । पहिलो डाक्टर थिए सन् १९१८ मा जतिबेला अमेरिकामा स्पेनिश फ्लु फैलिएको थियो । दोस्रो कहानी ती डाक्टरको हो जसले आज कोरोनाभाइरससँग संघर्ष गरिरहेका छन् । दुवै डाक्टरको कुरा सुरुवातमा सुनिएन जसका कारण अमेरिकाले त्यसको ठूलो मूल्य चुकाउनुपर्यो ।

फोर्ब्सको रिपोर्ट अनुसार कुरा सन् १९१९ को थियो जतिबेला वाशिङटनका हेल्थ कमिश्नरले सरकारसँग पूरै देशमा स्पेनिश फ्लु तेस्रो पटक फैलिएको र अघिल्ला २ पटक यसले ठूलो क्षति पुर्याएकोले अमेरिकीहरुले मास्क लगाउनुपर्ने र सामाजिक दूरीको फर्मुला अपनाउनुपर्ने बताएका थिए । उनले देशमा सभाहरु गर्न नहुने र मानिसहरुलाई टाढा–टाढा बस्न सुझाव दिएका थिए । तर उनको यो कुरा मानिएन बरु उनलाई जागिरबाटै निकालियो । त्यो बेला सामाजिक दूरीको कुरा गर्नु अपराध मानियो । त्यतिबेला अमेरिकामा उड्रो विल्सन राष्ट्रपति थिए ।

तर, अमेरिकाको हालत खराब हुँदै गयो । हालत अत्यन्तै बिग्रिएपछि ती डाक्टरलाई अर्को एक मौका दिइयो । १९१९ को अन्त्य हुन लागेको थियो । क्यान्सस राज्यमा स्पेनिश फ्लु सुरुवाती चरणमा थियो । त्यही बेला त्यहाँ सामाजिक दूरीको फर्मुला अपनाइयो । यसको फाइदा पनि भयो । कम मानिसहरु बिरामी भए र मर्नेहरुको संख्या पनि कम भयो । अमेरिकालाई एक शताब्दीअघि यो फर्मुला दिने डाक्टर थिए थोमस डायर टटल ।

त्यसको ठिक १०२ वर्षपछि अमेरिकामा कोरोनाभाइरसका केसहरु जनवरी २०२० मा देखिए । त्यसपछि डा. एन्थोनी फउसीले सामाजिक दूरी, मास्क र क्वारेन्टाइनको फर्मुला अपनाउन सल्लाह दिए । तर, अमेरिकी सरकारले उनको यो प्रस्ताव मानेन । नतिजा आज अमेरिका कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित भएको छ । डा. एन्थोनी फाउसीको कुरा अमेरिका सरकारले बेलैमा मानेको भए अमेरिकाको हालत यति दयनीय हुँदैनथ्यो, जुन कुरा विश्वका अन्य देशहरुलाई हेरेर अनुमान गर्न सकिन्छ ।

अहिलेसम्म अमेरिकामा ११ लाख ८८ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् । ६८ हजार ६ सयले ज्यान गुमाइसकेका छन् । तर, जब डा. फाउसीले सामाजिक दूरीको कुरा गरेका थिए त्यतिबेला अमेरिका सरकारले उनको कुरालाई पन्छाएको थियो । फेब्रुअरी अन्त्यसम्म अमेरिकाले आफ्नो देशलाई केही नहुने मानेर अगाडि बढिरहेको थियो । तर, अमेरिका सरकारको यो लापरवाहीको फाइदा उठाउँदै कोरोनाभाइरसले उनलाई नराम्रोसँग प्रभावित पारेको छ ।

डा. थोमस डायर टटल र डा. एन्थोनी फाउसीको अनुहार र कदकाठी मिल्दोजुल्दो छ । उनीहरुको रुपरंग मात्र मिल्दोजुल्दो होइन उनीहरुको मेडिकल ज्ञान र कुनै पनि कुरा स्पष्ट रुपमा बताउने शैली पनि मिल्दोजुल्दो छ । दुवै डाक्टरले आइभी लिग मेडिकल स्कुलमा पढेका हुन् । डा. टटल अमेरिकाको पब्लिक हेल्थ सर्भिसमा कमिशण्ड अधिकारी थिए र डा. एन्थोनी फाउसी पनि । दुवै डाक्टरसँग विश्वभर फैलिएका महामारीसँग लड्ने र उसलाई हराएको अनुभव थियो । डा. टटलले स्पेनिश फ्लु, इन्फ्लुएन्जा र स्मल पक्ससँग संघर्ष गरेका थिए । डा. एन्थोनी फाउसीले एचआइभी एड्स, सार्स र मर्ससँग लडाइँ लडेका थिए र अब कोरोनाभाइरससँग लडिरहेका छन् ।

सन् २००९ मा अनुसन्धानकर्ताहरुको एक समूहले स्पेनिश फ्लुमाथि अध्ययन गरेपछि महामारीलाई नियन्त्रण गर्नको लागि एक शोधपत्र लेखेका थिए । यो शोधपत्रमा डा. थोमस टटलको सामाजिक दूरीको फर्मुलालाई सही ठहर्याइएको थियो । यही फर्मुलालाई अहिले कोरोनाभाइरस संक्रमणसँग लड्नको लागि उपयोग गरिएको छ । अनुसन्धानकर्ताहरुको यो समूहमा डा. एन्थोनी फाउसी पनि थिए ।

यदि २ महामारीको तुलना गर्ने हो भने एक शताब्दीअघि स्पेनिश फ्लु सिएटल, स्पोकेन, वाशिङटनमा धेरै फैलिएको थियो । जसरी आज कोरोनाभाइरस पूरै देशमा फैलिएको छ । उतिबेला न्यूयोर्क, सेन्ट लुइस र लस एन्जल्समा स्पेनिश फ्लुबाट धेरै मृत्यु भएको थियो । अहिले कोरोनाभाइरसबाट पनि यिनै राज्यमा धेरै मृत्यु भएको छ ।

कोरोनाभाइरसको कारण डा. एन्थोनी फाउसीको जागिर त गएन तर राष्ट्रपति ट्रम्पले ट्वीट गरेर उनलाई बर्खास्त गर्न कैयौं पटक माग गरेका थिए । हिजोमात्र ह्वाइट हाउसले अमेरिकाको संसदमा हुने कोरोनाभाइरस सम्बन्धि सुनुवाइमा डा. फाउसीलाई उपस्थित हुन प्रतिबन्ध लगाएको छ ।
डा. फाउसीले भनेका थिए कि मैले ट्रम्पसँग फेब्रुअरीको सुरुवातमै शटडाउनको कुरा भनेको थिएँ तर मेरो सल्लाहलाई बेवास्ता गरियो ।

डा. फाउसीले अमेरिकालाई एड्स, एन्थ्रेक्स, स्वाइन फ्लु, इबोला प्रकोपबाट बचाएका छन् । अमेरिका र विश्वभरका जनता जरी १०२ वर्ष पहिले डा. थोमस डायर टटलतिर आशापूर्ण नजरले हेरिरहेका थिए, आज कोरोना कालमा मानिसहरु त्यस्तै गरी डा. एन्थोनी फाउसीतर्फ हेरिरहेका छन् । दुवै डाक्टर २४ घण्टामा २० घण्टासम्म काम गर्थे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *