सगरमाथामा कस्तुरी मारिए, वीना झिकिए जवाफदेही को बन्ने ?
द्वन्द्वले ढुटीमाटी भएको प्राकृतिक सम्पदालाई फर्काउन धौ धौ थियो। द्वन्द्व समाप्त भयो तर निकुञ्ज आरक्षमा झन् ठूलो काल पल्कियो। विस्तृत शान्ति सम्झौता लागू भएपछि समेत दिन–रात चोरी शिकारीले गैंडा मारेर हैरान बनाएका थिए।
द्वन्द्वका कारण एउटामात्र नेपाली सेनालाई बाङ्गो आँखाले हेर्ने धेरै थिए। निकुञ्ज सुरक्षामा खटिएको प्रोटेक्सन युनिटलाई आरोप लगाइयो, गैँडाको चोरी शिकारीमा रक्षकहरुको मिलेमतो छ भनेर। मातृ संगठनले गैंडाको चोरी शिकारी तत्काल रोक्ने अभिभारा पंक्तिकारलाई दियो।
ककनीमा सम्पन्न बोर्डको सेमिनारमा पंक्तिकारले तत्कालीन वनमन्त्री माननीय किरण गुरुङ सहभागी सार्वजनिक मञ्चमा प्रतिवद्धता जाहेर गरेको थिएँ। गैंडाको चोरी शिकारी नियन्त्रणको एकल जिम्मेवारी नेपाली सेनाले लिन्छ भनेर। द्वन्द्वकालको बन्यजन्तु क्षतिको एकल जिम्मेवारी पनि हामी लिन्छौँ। र, आजका मितिबाट हामी एउटा गैंडा मर्न दिने छैनौँ ।
गर नत्र मर (डु अर डाई) सिद्धान्त शिरमा राखेर काम गर्नेछौँ र द्वन्द्वको क्षतिपूर्ति दिन, दिन दुईगुना रात चौगुना काम गरेर देखाउने छौँ। द्वन्द्वको लगत्तै गरेको यो संकल्पलाई प्रधानसेनापतिले स्यावासी दिए। वनमन्त्री, महानिर्देशक, संरक्षण साँझेदार संघ संस्थाले शुभकामना दिए। कार्यक्रममा अनिवार्य उर्दी मानेर आएका सबै निकुञ्ज आरक्षणका गणपति गुल्मपतिले नेपाली सेनाको छवि र इज्जत सम्झेर त्यो दृढ वाचा एवं संकल्पलाई व्यवहारमा उतारेर नतिजा देखाइदिए।
त्यो मितिबाट नेपाली सेनाको जवाफदेहिताको पारो चढेर १ सयमा पुग्यो । नमूना टीम बिल्डिङ र टीमवर्क हुँदा र स्थानीय जनताको जोडदार साथ पाउँदा अर्को वर्ष शून्य शिकार उपलब्धि हाँसिल भयो र त्यसले धेरै वर्ष निरन्तरता पाउँदा हामी सबै नेपाली जनतालगायत मुलुकको शिर ठाडो भयो। जवाफदेहितालाई शत प्रतिशतमा पुर्याएको आज डेढदशक पूरा भएको छ। त्यो पिँढी सायद अवकास भइसकेको छ।
अबोध सुन्दर ती बिचरा सगरमाथाका गहना कस्तुरीहरु लाइनै लागेर मरेका हुन् कि जवाफदेहिता मरेको हो ? अथवा कस्तुरी, जवाफदेहितासँगै केन्द्रको प्रथामिकता पनि मरेको हो त्यसको अध्ययन, अनुसन्धान र छानविन गर्ने काम केन्द्रीय सरकोरवाला निकायको हो । संरक्षणमा शत प्रतिशत जवाफदेहिता (एकाउन्टिबिलिटी) प्रकृतिको बुलन्द माग हो ।
फिल्डमा नयाँ पिँढी कार्यरत छन्। हालै सगरमाथा राष्ट्रिय निकुञ्जमा कसरी कस्तुरी मृगको सामुहिक चोरी शिकार भयो? व्यारेक तथा पोष्टको एक घण्टाको दूरीभित्र। विश्व सम्पदामा सूचिकृत सगरमाथाको त्यो जघन्य र अकल्पनीय क्षतिको पहिलो जानकारी अमेरिकाबाट पाउँदा पत्याउन गाह्रो भयो। सगरमाथालाई मेरो वा हाम्रो भनेर स्वामित्व लिन र संरक्षणका कार्यमा सहयोग एवं सहकार्य गर्न त्यहाँका स्थानीयवासीलाई कसैले भेट्दैन भन्ने पुरानो अमिट छाप छ पंतिकारलाई।
काटमार शिकार केही नगर्ने बौद्ध धर्मालम्बी शेर्पा जाति प्रकृतिका सक्कली पहरेदार हुन्। अब प्रश्न उठ्छ कसले गर्यो आधा दर्जन कस्तुरीको चोरी शिकारी र लग्यो बिना? सगरमाथा पदमार्गमा पासो थाप्ने कस्तुरी मार्ने दोष पर्वतारोही र पर्यटकहरुका भरियालाई दिने चलन थियो। लकडाउनमा त्यो अहिले बिल्कुल बन्द छ।
चोरी शिकारीको घटना झन् रहस्यमय भयो । स्थानीयवासीहरुले घटना पत्ता लगाउन प्रशासनलाई चुनौती दिएका छन्। संरक्षणमा स्थानीयवासी ज्यादै सचेत, जागरुक र सक्रिय छन् । १५ वर्ष पुरानो जवाफदेहिताको औचित्य र आवश्यकता झन् धेरै बढेको कुरा मनन् र आत्मसात गर्न जरुरी छ।
गत वर्ष मकालुबरुण राष्ट्रिय निकुञ्जमा बरामद भएको १२५ थान पासो बिछ्याउने काममा भित्रका कर्मचारीको मिलेमोतो देखिएको थियो। त्यो भनेको १२५ वटा कस्तुरी मार्ने चोरी शिकारको प्रयत्न हो। सगरमाथाबाट अरु ५० थान पासो फेला परेको भनेको थप ५० कस्तुरी ढिलो चाँडो मार्ने अवैध र अक्षम्य योजना हो ।
गस्ती नपुगेका र बरामद नभएका सयौँ पासोहरु लड्किरहेको जानकारी यूरोप र अमेरिकामा बस्ने संसक्षणबिद्लाई कसरी प्राप्त भयो? यी तमाम प्रश्न, रहस्य र षड्यन्त्रकाबीच समाधान एउटै छ। संरक्षणको जिम्मेवार अंगले जवाफदेहिता १ सय प्रतिशत बढाउने, चोरी शिकारी बन्द गर्ने, नसके हाम्रो आफ्नै काम हो अथवा मिलोमतो छ भनेर सकार्ने, हामी असक्षम, नालायक र दोषी छौँ भनेर त्याहाँबाट झिटीगुण्टा लिएर बाटो लाग्ने।
त्यहाँ टीमबिल्डिङ र टीमवर्कको साङ्लो चुंडिएको देखिन्छ । ३ खम्बे संरक्षण नीतिका ३ पात्र (निकुञ्ज, प्रशासन, नेपाली सेनाले खटाएको प्रोटेक्सन युनिट र बफर जोन समुदाय) ३ तिर फर्केर संरक्षण मजबुत हुन सक्दैन। सयौँ छिद्र र ठूला भ्वाङहरु पर्न जान्छन्। पछि टाल्न गाह्रो हुन्छ। सगरमाथाको यो एउटा प्रतिनिध घटनामात्र हो। पूरै हिमाली क्षेत्र संरक्षण संकटमा छ।
उच्च सुरक्षा प्रत्याभूतिको प्रतीक्षामा छ। हामीले गैँडा, बाघ, हात्ती लक्षित शून्य शिकारमा गर्व गर्दा हिमालको संरक्षण घरापमा परेको छ। अब हिउँ चितुवाले उच्च प्रथामिकता पाउनुपर्दछ। हिउँ चितुवा बचाउन उसको आहारा प्रजाती बढाउनुपर्दछ।
हिमालमा पनि ‘शून्य शिकार’ गरेर मुलुकलाई ‘शून्य शिकार’ उपलब्धिको मालाले सिँगार्न सकेमात्र सन्तुलित संरक्षण र गर्वयोग्य संरक्षण हुने छ। जवाफदेहिता जगाउने बढाउने धार लगाउने काम चेन अफ कमाण्डको हो। सगरमाथा राष्ट्रिय निकुञ्जको सुन्दर क्वाङ्दे डाँडा व्यक्ति विशेषलाई र होटललाई दर्ता गर्ने गैह्रकानूनी सुविधा दिने अपारदर्शी हाकिम, विभाग, मन्त्रालय सरकारलाई देखेर फिल्डमा फ्रण्टलाइन स्टाफहरुको मनोबल मरेको हुन सक्दछ ।
वर्तमान लकडाउनको अपव्याख्यामा गरेर संरक्षणकर्मीहरु घरभित्र लकडाउनमा बसेका हुन सक्दछन्। केन्द्रको निरीक्षण, अनुगमन र निर्देशन नपुगेर फिल्डमा संरक्षणप्रति उदासिनता र उपेक्षा पलाएको हुनसक्दछ । सरकारको ध्यान, दृष्टि र प्राथमिकतामा प्रकृति संरक्षण परेको छैन भन्ने फिल्डको बुझाइ हुन सक्दछ । अरु धेरै कारणहरु छन् जवाफदेहिता ह्रास हुने, झिनो हुने, दुब्लाउने र मर्ने ।
अबोध सुन्दर ती बिचरा सगरमाथाका गहना कस्तुरीहरु लाइनै लागेर मरेका हुन् कि जवाफदेहिता मरेको हो ? अथवा कस्तुरी, जवाफदेहितासँगै केन्द्रको प्रथामिकता पनि मरेको हो त्यसको अध्ययन, अनुसन्धान र छानविन गर्ने काम केन्द्रीय सरकोरवाला निकायको हो । संरक्षणमा शत प्रतिशत जवाफदेहिता (एकाउन्टिबिलिटी) प्रकृतिको बुलन्द माग हो । प्रकृतिप्रेमी राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायको माग हो। मानव दोहन र बिनासले थिलोथिलो भएको वर्तमान वातावरणको अनुनय विनय हो । समयको माग हो।
(लेखक पूर्व निर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय हुन्)
Facebook Comment