अमेरिकासँग सैन्य टकरावको खतरा रहेको चीनको आन्तरिक रिपोर्टमा चेतावनी

डिसी नेपाल
२३ वैशाख २०७७ ११:२३

काठमाडौं। चीनको एक आन्तरिक रिपोर्टमा चीन सरकारलाई कोरोनाभाइरसका कारण उसको अमेरिकासँगको सम्बन्ध अत्यन्तै खराब हुन सक्ने चेतावनी दिइएको छ । यतिमात्र होइन रिपोर्टमा अमेरिकासँग सैन्य टकरावको स्थिति समेत आउन सक्ने चेतावनी दिइएको छ । कोरोनाभाइरसका कारण विश्वभरीबाट चीनमाथि प्रश्न उठाइएको छ । चीनमाथि समयमै कोरोनाभाइरससँग सम्बन्धित जानकारी विश्वलाई नदिएको आरोप लगाइएको छ ।

समाचार एजेन्सी रोयटर्सको एक रिपोर्ट अनुसार अप्रिलमा चीनको आन्तरिक रिपोर्टलाई राष्ट्रपति शी जिनपिंगसहित अन्य शीर्ष नेताहरुको अगाडि पेश गरिएको थियो । रिपोर्टमा १९८९ मा तियानमेन स्क्वायरको घटनापछि अहिले चीनले सबैभन्दा ठूलो विश्वव्यापी विरोधको सामना गरिरहेको उल्लेख गरिएको छ । विश्वमा बढ्दो चीनविरोधी भावनाका बीच चीन सरकारलाई सबैभन्दा खराब स्थितिको लागि तयार रहनुपर्ने चेतावनी दिइएको छ । खराब स्थितिमा अमेरिकासँग सैन्य टकरावको स्थिति आउन सक्ने पनि चेतावनी दिइएको छ ।

यो रिपोर्ट चीनको थिंक ट्यांक मानिने चाइना इन्स्टिच्युट अफ कन्टेम्पररी इन्टरनेशनल रिलेसन्स (सीआइसीआइआर)ले तयार गरेको हो । सीआइसीआइआर चीनको राष्ट्रिय सुरक्षा मन्त्रालयसँग आबद्ध छ । चीन सरकारलाई चेतावनी दिइएको यो रिपोर्टलाई सार्वजनिक गरिएको छैन तर रिपोर्ट पढेका अधिकारीहरुले नाम नछाप्ने शर्तमा रोयटर्सलाई यो जानकारी दिएका हुन् । यद्यपि चीनको विदेश मन्त्रालयले भने यो रिपोर्टबारे केही बताउन अस्वीकार गरेको छ । विदेश मन्त्रालयका प्रवक्ताले यस रिपोर्टबारे भने ‘हामीसँग जरुरी जानकारी छैन ।’

यो रिपोर्टपछि चीनले आफूविरुद्ध भइरहेको विरोधलाई कति गम्भीरतासँग लिइरहेको छ भन्ने प्रस्ट भएको छ । अहिले चीन र अमेरिकाको सम्बन्ध विगत केही दशककै सबैभन्दा खराब स्थितिमा छ । अमेरिकामा राष्ट्रपति निर्वाचन यही वर्ष हुँदैछ जबकि त्यहाँ कोरोनाभाइरसका कारण ६९ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । यतो स्थितिमा राष्ट्रपति डोनाल्ड ट्रम्प चीनमाथि लगातार गम्भीर प्रश्न उठाइरहेका छन् । अमेरिकाले पटक पटक कोरोनाभाइरस चीनको ल्याबबाट फैलिएको आरोप लगाइरहेको छ र चीनले यस्ता आरोपलाई खारेज गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *