कोरोना भ्याक्सिन बनाएको इजरायलका रक्षामन्त्रीको घोषणा, पेटेन्ट र उत्पादन प्रक्रिया सुरु

डिसी नेपाल
२३ वैशाख २०७७ १४:०७

काठमाडौं। आफ्नो प्रविधिको लागि प्रसिद्ध देश इजरायलले कोरोनाभाइरसको भ्याक्सिन बनाएको दावी गरेको छ । यो दावी इजरायलका रक्षामन्त्री नेफ्ताली बेन्नेटले गरेका हुन् । बेन्नेटका अनुसार इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च (आइआइबीआर)ले कोरोनाभाइरसको एन्टिबडी विकसित गर्ने काममा सफलता हासिल गरेको हो ।

इजरायलका रक्षामन्त्री नेफ्ताली बेन्नेटले सोमबार इजरायलको आइआइबीआर संस्थानले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विकसित गरेको दावी गरेका हुन् । यो संस्थानले एन्टिबडी विकसित गरेको हो । रक्षामन्त्री बेन्नेटका अनुसार भ्याक्सिन विकासको चरण पूरा भइसकेको छ । अब यसको पेटेन्ट र ठूलो परिमाणमा उत्पादनको तयारी सुरु भइसकेको छ ।

आइआइबीआर इजरायलको निकै गुप्त संस्थान हो । यहाँ हुने प्रयोगहरुको बारेमा बाहिरी संसारले धेरै जानकारी पाउँदैन । तर, नेस जियोना इलाकामा रहेको यो प्रयोगशालाको निरीक्षण गरेर फर्केपछि रक्षामन्त्री नेफ्ताली बेन्नेटले भ्याक्सिन बनेको खुसीको खबर विश्वभरका मानिसहरुलाई दिएका हुन् । यो समाचार टाइम्स अफ इजरायल, जेरुसेलम पोस्ट, एरियाना न्यूज लगायतका कैयौं मिडिया संस्थानहरुले प्रकाशित गरेका छन् ।

रक्षामन्त्री बेन्नेटका अनुसार यो एन्टिबडीले मोनोक्लोनल तरिकाले कोरोनाभाइरसमाथि आक्रमण गर्छ । यसले बिरामी व्यक्तिको शरीरभित्र नै भाइरसलाई नष्ट गरिदिन्छ । त्यसपछि भाइरस शरीरको अन्य भाग वा अर्को मानिसमा फैलिन पाउँदैन ।

इजरायलको इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च देशको रक्षा मन्त्रालयको मातहत हुन्छ । यो प्रयोगशालाले अब भ्याक्सिनको पेटेन्ट गराउने प्रक्रिया सुरु गरेको छ । त्यसपछि यसको ठूलो परिमाणमा उत्पादन सुरु गरिनेछ । बेन्नेटले भने ‘अन्तर्राष्ट्रिय स्तरमा यसको उत्पादनको लागि हामी विश्वभरका कम्पनीहरुसँग कुरा गर्नेछौं । मलाई इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्चको पूरै टिममाथि धेरै गर्व छ ।’

यद्यपि बेन्नेटले आफ्नो बयानमा यो बताएनन् कि यो भ्याक्सिनको क्लिनिकल ट्रायल वा ह्युमन ट्रायल भएको हो वा होइन । रक्षामन्त्री बेन्नेटले भने ‘इजरायल आफ्ना नागरिकको स्वास्थ्य र अर्थतन्त्रलाई सन्तुलनमा राख्ने प्रयास गरिरहेको छ ।’ यो दावी यदि सत्य भएमा कोरोनाभाइरसका कारण छटपटाइरहेको विश्वको लागि धेरै ठूलो राहत हुनेछ ।

विश्वभरमा अहिलेसम्म कोरोनाभाइरसका कारण २ लाख ५२ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । ३६ लाखभन्दा धेरै कोरोनाभाइरसबाट संक्रमित भएका छन् । विश्वभरी १०० भन्दा धेरै वैज्ञानिक टिमहरु भ्याक्सिन विकसित गर्नको लागि काम गरिरहेका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले सबैभन्दा ठूलो ह्युमन ट्रायल गरिरहेको छ । चीन, अमेरिकामा पनि यसको ट्रायल चलिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *