मानव धर्मको मानवीय सेवाः भोको पेटमा भोजन भर्दै
कास्की । पोखरा–११ रानीपौवामा बिहान १० नबज्दै आश्रम अगाडि भोको पेटको लाइन देखिन्छ । नेपाल मानव धर्म सेवा समिति श्री हंस सनातन मन्दिरले विपन्न तथा मजदुरलाई दैनिक भोजन उपलब्ध गराउन थालेपछि खाना खाने समयमा भोको पेटहरु खानाको पर्खाइ हुने गर्दछन् ।
विशेषगरी सेती नदी किनारमा बालुवा गिट्टी चालेर ज्याला मजदुरी गर्दै आएका विपन्न परिवार छन् । बन्दाबन्दीको कारण काम गरेर खान पाउने अवस्था नबन्दा उनीहरुको दैनिकी सहज हुनसकेको छैन । विपन्न परिवारको अवस्थालाई ध्यान दिएर आश्रमले वैशाख १५ गतेदेखि निरन्तर भोजन वितरण गर्न शुरु गरेको आश्रमका गण्डकी प्रदेश प्रभारी महात्मा पिताम्बरा बाइजीले जानकारी दिए ।
उनका अनुसार उक्त कार्यका लागि हाल दैनिक २० जनाले स्वयंसेवकको रुपमा सहयोग गर्दै आएका छन् । आश्रमले पोखराको रानीपौवामा र लेखनाथको सत्यलोक आश्रम पोखरा–२६ बाट दैनिक करिब २०० भन्दा बढीलाई खाना प्रदान गर्दै आएको छ । आश्रमका युथ विङ्स तथा कार्यक्रम संयोजक ओम उपाध्यायले भोजन कार्यक्रम पहिलो चरणमा वैशाख २५ गतेसम्म जारी रहने र त्यसपछि पनि लकडाउनको अवधि हेरेर निरन्तरता दिइने जानकारी दिए । उनका अनुसार भोजन हरेक दिन बिहान १० देखि १२ बजेसम्म उपलब्ध हुनेछ ।
कठिन अवस्थामा रहेका परिवारलाई घरमानै खाना पु¥याउने कार्यसमेत गरिँदै आएको उनले बताए । उपाध्यायले भने, “कठिन अवस्थामा एक मानव अर्को मानवको सेवामा जुट्नु नै सच्चा धर्म हो, विपद्को समयमा एकअर्काप्रति सद्भाव र सहिष्णु भएर सेवाकर्ममा निरन्तरता दिनुपर्छ ।”
पोखराको रामघाटमा बस्दै आएकी सेती विकले बिहानको छाक आश्रमबाट खाना लगेर खाने गरेको बताइन् । उनले भनिन्, “चार जनाको परिवार छौँ, गिट्टी, बालुवा चालेर जीविकोपार्जन गथ्र्यौँ, अहिले लकडाउनले काम गर्न पाएका छैनाँै, दया धर्म हुनेहरुबाट जीवन चलिरहेको छ ।” उनले स्थानीय सरकारले दिएको राहतले बेलुकाको छाक पकाउँदै आएको बताइन् ।रासस
Facebook Comment